close

जिमेलमा ईमेल खोज्न झन्झट भयो ? गुगलले ल्याउँदैछ यस्तो नयाँ सर्चिङ फिचर

टेकपाना टेकपाना

जेठ २०, २०८० १४:१९

जिमेलमा ईमेल खोज्न झन्झट भयो ? गुगलले ल्याउँदैछ यस्तो नयाँ सर्चिङ फिचर

काठमाडौं । जिमेलमा दैनिक आउने विभिन्न ईमेलबाट आफूले चाहिने ईमेल भेट्टाउनु समस्या हुने गर्छ । यही समस्यालाई ध्यानमा राख्दै गुगलले जिमेलको सर्च फिचरमा एआईमा आधारित नयाँ फिचर थप गरेको छ । यो फिचरले प्रयोगकर्तालाई आफूले खोजेकै ईमेल भेटाउन धेरै मद्दत पुग्ने कम्पनीको भनाइ छ ।

कम्पनीले गुगल वर्कस्पेस अपडेट्समा एक ब्लग सार्वजनिक गर्दै यो फिचरको विषयमा जानकारी दिएको हो । कम्पनीका अनुसार अब प्रयोगकर्ताले आफ्नो जिमेलमा गएर आफूले खोजेको ईमेलसँग सम्बन्धित कुनै शब्द टाइप गरेपछि सबैभन्दा नयाँ ईमेलबाट सुरु हुँदै उक्त शब्दसँग सम्बन्धित ईमेलहरू स्क्रिनमा देखापर्नेछ । 

यसले प्रयोगकर्तालाई आफूले चाहेको ईमेल खोज्न थप मद्दत पुग्नेक कम्पनीको दाबी छ । कम्पनीले यो फिचरलाई 'टप रिजल्ट्स' फिचर भनेर नाम दिएको छ । यो फिचर विशेषगरी मोबाइल प्रयोगकर्तालाई लक्षित गरि ल्याइएको फिचर हो । 

मोबाइलमा जिमेलमा भएका ईमेलहरू सर्च गर्दा यो फिचरले काम गर्नेछ । मेसिन लर्निङको भरपूर उपयोग गर्दै गुगलले यो फिचर सार्वजनिक गरेको हो । प्रयोगकर्ताहरूको उच्च माग भएकाले यो सुविधा ल्याइएको कम्पनीको भनाइ छ । 

अबको दुईहप्ताभित्र यो फिचर जिमेल एपमा उपलब्ध हुने कम्पनीले जनाएको  छ । 

 

पछिल्लो अध्यावधिक: जेठ २०, २०८० १४:१९