close

नेप्स बन्यो भुक्तानी कार्ड सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय काउन्सिलको सल्लाहकार सदस्य

टेकपाना टेकपाना

जेठ २१, २०८० १६:४६

नेप्स बन्यो भुक्तानी कार्ड सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय काउन्सिलको सल्लाहकार सदस्य

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स), पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्ड काउन्सिलको सल्लाहकार समितिमा चयन भएको छ । 

काउन्सिल कार्ड मार्फत हुने कारोबारमा डेटा सुरक्षा सम्बन्धी मापदण्डहरुको क्रम विकासलाई व्यवस्थित गर्नको निमित्त स्थापना भएको अन्तराष्ट्रिय रुपमा मान्यता प्राप्त संस्था हो । भिसा, मास्टरकार्ड जस्ता अन्तराष्ट्रिय कार्ड नेटवर्कले काउन्सिलको प्रमाणीकरण अनिवार्य रुपमा प्राप्त गरेको हुनुपर्छ । 

कार्ड मार्फत हुने कारोबारको सुरक्षा र त्यस सम्बन्धी विकास भइरहने विविध साइबर सुरक्षाका विषयलाई समेटी सुरक्षित कारोबारको वातावरण सिर्जना गर्ने तथा विश्वव्यापी रुपमा नै विभिन्न सरोकारवालाहरुलाई समेटी पर्याप्त डेटा सुरक्षा सम्बन्धी मापदण्डको विकास गरि यो संस्था स्थापना गरिएको हो । सो संस्थाको सल्लाहकार समितिको सदस्यका रुपमा नेप्स पनि चयन भएको छ । 

सल्लाहकार समितिमा भएका सदस्य सँस्थाहरुले कार्ड मार्फत हुने कारोबारमा डेटा सुरक्षा सम्बन्धी मापदण्डहरुको विकासमा भूमिका निर्वाह गर्नुका साथै, आ-आफ्नो बजार,भूगोल र प्राविधिक अनुभवहरु मापदण्डको विकासक्रममा प्रस्तुत गरि मापदण्डहरुलाई समय सापेक्ष बनाउन नेतृत्व पनि गर्छन ।

मनोनीत भएसँगै, नेप्सले अब अमेजन, एप्पल, बैंक अफ अमेरिका, युरोपियन पेमेन्ट काउन्सिल, एचडीएफसी बैंक, आईबीएम, जेपी मोर्गन, एनपीसीआई, एस बैंक, पेपाल, माइक्रोसफ्ट जस्ता कम्पनीहरूसँग मापदण्ड निर्धारण तथा कार्ड मार्फत हुने कारोबारमा डेटा सुरक्षा सम्बन्धी अन्य विषयहरूमा छलफल तथा ज्ञान आदान-प्रदान गर्ने कम्पनीले जनाएको छ ।

नेप्सका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले भने, "हामीले यो अवसरलाई कार्ड मार्फत हुने कारोबारको सुरक्षालाई अझै चुस्त र समय सापेक्ष बनाउन अनि भुक्तानी क्षेत्रमा नवीनता र सुरक्षित डिजिटल परिदृश्यको कल्पना साकार पर्ने चुनौतीको रुपमा पनि लिएका छौँ ।” 

यसअघि नै नेप्स नेपालबाट उक्त काउन्सिलको सदस्यता प्राप्त गर्ने नेपालको पहिलो संस्था बनेको थियो । 

पछिल्लो अध्यावधिक: जेठ २१, २०८० १६:४६