close

‘सेक्स पार्टनर खोज्न नेपाली भर्जिन गर्ल एपीके इन्स्टल गर्नुहोस्’ भन्दै मेसेज आयो ? रित्तिएला बैंक खाता !

टेकपाना टेकपाना

जेठ २६, २०८० १६:३

‘सेक्स पार्टनर खोज्न नेपाली भर्जिन गर्ल एपीके इन्स्टल गर्नुहोस्’ भन्दै मेसेज आयो ? रित्तिएला बैंक खाता !

काठमाडौं । ‘नेपाली गर्ल एपीके’ नाममा नेपालमा तहल्का मच्चाएको मालवेयर नयाँ स्वरुपमा पुनः सक्रिय भएको पाइएको छ । 'नेपाली भर्जिन गर्ल' को नयाँ नाम दिइएको यो एपीके 'सेक्स पार्टनर खोज्न' भन्दै ह्वाट्सएपमा फैलिन थालेको हो ।

विशेषगरी ह्वाट्सएपमा आइरहेको यो मेसेजमा ‘के तपाईँ पनि सेक्स पार्टनर खोजिरहनु भएको छ, अब ढुक्क बस्नुहोस्’ भन्दै प्रयोगकर्तालाई लोभ्याउन खोजिएको छ । जसमा ‘नेपाली गर्ल एपीके’ इन्स्टल गरी सेक्स पार्टनर खोज्न सकिने, त्यसका लागि फोटो सहित सम्पर्क नम्बर तथा रेट समेत राखिएको र यो सेवा नेपालभरका लागि उपलब्ध रहेको उल्लेख गरिएको छ ।

यो मेसेज नेपाल टेलिकमको ९८५१०४२३२५ नम्बरबाट खोलिएको ह्वाट्सएप आईडीबाट शेयर भइरहेको छ । खासगरी बैंकिङ तथा डिजिटल भुक्तानी सेवाका ग्राहकहरूलाई लक्षित गर्दै यो एपीके ह्वाट्सएपमा शेयर हुन थालेको हो ।

यदि तपाईंको ह्वाट्सएपमा पनि यस्तै खाले एपीके सहितको मेसेज आएको छ भने त्यसमा झुक्किएर पनि क्लिक नगर्नुहोला । किनभने यसले तपाईंको मोबाइल तथा ल्यापटपमा हटाउनै नमिल्ने गरी प्रवेश पाउनेछ र तपाईंको डिभाइसलाई नै नियन्त्रणमा लिएर बैंक खाता रित्याइदिन सक्छ ।

यसअघि कयौं नेपाली मोबाइल बैंकिङ तथा डिजिटल वालेट प्रयोगकर्ताको मोबाइलमा प्रवेश गरेको ‘नेपाली गर्ल’ नामक मालवेयरले लाखौं रुपैयाँ गायब पारिदिएको थियो ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जीव सुब्बाले यस किसिमका मालवेयरबाट जोगिन सचेतना एकदमै महत्त्वपूर्ण भएको बताए ।

"केही महिनाअघि मात्र ‘नेपाली गर्ल’ नामक एपीकेले एकदमै ठूलो नोक्सान पुर्‍याएको थियो," उनले भने, "त्यसैलाई भिन्न अवतारको रूपमा ‘कल्मी’ अथवा पुनः सिर्जना गरिएको जस्तो देखिन्छ ।"

यस किसिमका मालवेयर र साइबर आक्रमणबाट जोगिन एक वा दुई ओटा कम्पनीले मात्र नभई सबैले संयुक्त रूपमा अभियानकै माध्यमबाट सचेतनाका कार्यक्रमहरू अगाडि बढाउनु पर्ने आवश्यकता रहेको सुब्बाको बुझाइ छ ।

यसो त माघ २० गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘नेपाली गर्ल’ एप बनाई अनलाइन ठगी गरेको आरोपमा एक जना भारतीय र सात जना नेपाली नागरिक गरी कूल आठ जना पक्राउ गरेको थियो । त्यसको केही समय शान्त भएको उक्त अनलाइन स्क्याम पछिल्ला केही दिनदेखि नयाँ नामबाट पुनः ब्युँतिएको छ । 

यस घटनालाई लिएर प्रहरी कार्यालयमा उजुरी दिनेहरूको सङ्ख्या पनि बढ्दो छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका साइबर पिल्लर प्रमुख प्रहरी नायब उपरीक्षक लिलाराज डाँगीले एपमा क्लिक गर्नासाथ लाखौं रुपैयाँ गायब भएको भन्दै उजुरी आइरहेको जानाकरी दिए । ''पहिलेको मालवेयर इन्स्टल भइसकेपछि पर्मिसन माग्थ्यो, अहिले  पर्मिसन नै नमागी बैंक अकाउन्ट रित्याएको देखिएको छ,'' उनले भने, ''अहिले हामी यसमा आन्तरिक अनुसन्धान गरिरहेका छौं ।''

पछिल्लो अध्यावधिक: जेठ २६, २०८० १६:३