close

अब युट्युब भिडिओ एआईले नै अन्य भाषामा डबिङ गरिदिने

टेकपाना टेकपाना

असार ८, २०८० १७:४४

अब युट्युब भिडिओ एआईले नै अन्य भाषामा डबिङ गरिदिने

काठमाडौं । गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी युट्युबका भिडिओ अन्य भाषामा डबिङ गर्न सकिने फिचर ल्याउने भएको छ । 

बिहीबार आयोजित एक कार्यक्रम (भिडकन‍) मा कम्पनीले एआईद्वारा सञ्चालित डबिङ सेवा अलाउड परीक्षण गरिरहेको र छिट्टै नै सार्वजनिक गर्ने घोषणा गरेको हो । 

कम्पनीका अनुसार यो टुलले सबैभन्दा पहिले भिडिओ ट्रान्सक्राइब (बोलिएका कुरालाई शब्दमा उतार्ने काम) गर्छ । त्यसपछि गुगलले उक्त टेक्स्ट क्रियटरलाई पठाउँछ । 

टेक्स्टलाई क्रियटरले दोहोर्‍याएर हेर्छ र शुद्ध बनाउनु पर्ने अवस्था आए शुद्ध बनाउँछ । त्यसपछि उक्त टुलले उतारिएको शब्दलाई विभिन्न भाषामा अनुवाद गर्छ ।

अनुवाद भइसकेपछि कस्तो स्वरमा अडियो प्रस्तुत गर्ने भन्ने कुरा क्रियटरले छान्न पाउँछन् । क्रियटरले यो फिचर निःशुल्क  प्रयोग पाउने कम्पनीले जनाएको छ । 

युट्युबले यो फिचर आफ्ना सयौं क्रियटरमाझ परीक्षण गरिरहेको छ । केही चर्चित क्रियटर जस्तै मिस्टर बिस्टलाई पनि कम्पनीले यो फिचर उपलब्ध गराएको छ ।

उनका प्रायः भिडिओ हिन्दी, थाई, जापानी, इन्डोनेसियाली, अरेबिक, फ्रेन्च, रुसी भाषासहित १४ भाषामा सुन्न सकिन्छ । 

यो फिचर सबै प्रयोगकर्तामाझ उपलब्ध भएपछि क्रियटरले क्षणभरमै गुणस्तरीय डबिङ गर्न सक्नेछन् । यो फिचर कस्तो होला भन्ने लागेको छ भने यहाँ क्लिक गरी अडियो डबिङ सुविधा भएको भिडिओ हेर्न सक्नुहुन्छ । 

लिङ्कमा क्लिक गरी भिडिओमा गइसकेपछि सेटिङको अप्सनमा जानुहोस् । अनि,  त्यहाँ भएको अडियो ट्रयाकको अप्सनमा जानुहोस् । र, त्यहाँ देखाइएका मध्ये आफूलाई उपयुक्त हुने भाषा छान्नुहोस् । 

सुरुवाती अवस्थामा कम्पनीले परीक्षणकालिक भिडिओमा सबै किसिमका भाषा उपलब्ध गराएको छैन । यो फिचर सबै क्रियटरले कहिले प्रयोग गर्न पाउनेछन् भन्नेबारे गुगलले कुनै जानकारी दिएको छैन । 

 

पछिल्लो अध्यावधिक: असार ८, २०८० १७:४४