close

यस्तो छ ४०० कर्मचारी भएको चर्चित नेपाली आउटसोर्सिङ कम्पनी ‘लिपफ्रग टेक्नोलोजी’

टेकपाना टेकपाना

असार १८, २०८० २१:४७

यस्तो छ ४०० कर्मचारी भएको चर्चित नेपाली आउटसोर्सिङ कम्पनी ‘लिपफ्रग टेक्नोलोजी’

काठमाडौं । आउटसोर्सिङको काम गर्ने कम्पनीका रुपमा लिपफ्रग सन् २०१० मा जन्मियो । अमेरिकामा आधारित लिपफ्रगको इन्जिनियरिङ समूह भने नेपालमा छ । कम्पनीले अमेरिकामा ‘सेल्स एन्ड मार्केटिङ’को काम गर्छ । विशेषत: त्यहाँ क्लाइन्ट खोज्ने, उनीहरूलाई कन्भिन्स गर्ने र कामको सम्झौता गरेपछि त्यो प्रोजेक्ट नेपालमा ह्यान्डओभर गर्ने काम हुन्छ ।

त्यसपछि नेपालमा रहेका इन्जिनियरहरूले ती प्रोजेक्टमा काम गर्छन् । यसरी नेपाली जनशक्तिले पनि विश्वस्तरमा काम गर्न सक्छन् भन्ने कुरा कम्पनीले प्रमाणित गरेको छ । यस आलेख तयार पारिरहँदा कम्पनीले एकैचोटी ३५ ओटा प्रोजेक्ट सञ्चालन गर्दै छ । जसका लागि करिब ४०० कर्मचारीहरू कम्पनीमा कार्यरत छन् ।

कम्पनी ठूलै क्षेत्रफलमा फैलिएको छ । कम्पाउन्डभित्र बगैंचा छ । जहाँ कर्मचारीहरू टहलिन सक्छन् । त्यहीँ बसेर काम गर्न सक्छन् । कार्यालय छिर्नासाथ आगन्तुकलाई ‘भिजिटर पास’ दिइन्छ । आगन्तुकले त्यो साथमा लिएर कार्यालय भ्रमण गर्न सक्छन् ।

कम्पनीको कार्यालय निकै खुला छ । कर्मचारी बस्नलाई छुट्टै कोठा छुट्याइएको छैन । यहाँ काम गर्न निश्चित डेस्क समेत छैन । फरक फरक डेस्कमा काम गर्नुपर्ने हुन्छ, जुन प्रोजेक्ट (काम) अनुसार तलमाथि पर्न सक्छ । एउटा डेस्कमा कर्मचारी बढीमा केही महिनामात्र लगातर बस्ने गर्छन् । त्यो प्रोजेक्ट सकिएपछि अरु नै डेस्कमा जानुपर्ने हुन सक्छ । तर ‘यो मेरो कोठा, यो मेरो टेबल’ भन्ने छैन ।

कम्पनीले नेपालका विभिन्न ठाउँहरूको नाम अनुसार कोठा वर्गीकरण गरेको छ । तलेजु, बबरमहल, बौद्ध, स्वयम्भु, जुम्ला, मुक्तिनाथ आदिलाई कोठाको नाम दिइएको छ । बैठक कोठाको नामाकरण मुक्तिनाथ  गरिएको छ । यसमा जो कोही छिर्न पाउँदैनन् । यसमा छिर्न अनुमति र पहिल्यै जानकारी गराउनुपर्ने हुन्छ ।

कार्यालयभित्रै क्याफ्टेरिया छ । जहाँ कर्मचारीका लागि बिहान साढे ११ बजे खाना, दिउँसो साढे ३ बजे खाजा र साँझ खाना पाक्ने गर्छ । नेपालमा कम्पनीका लागि कैलाश विजयानन्दले मुख्य जिम्मेवारी सम्हालेका छन् । उनी कम्पनीको इन्जिनियरिङ एन्ड अपरेसनका सिनियर भाइस प्रेसिडेन्ट हुन् । 

कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट विजयानन्द

कम्पनीमा सामान्यतः एसोसिएट इन्जिनियरबाट करियर सुरु हुन्छ । त्यसपछि क्रमश: सफ्टवेयर इन्जिनियर, सिनियर सफ्टवेयर इन्जिनियर, लिड इन्जिनियर, प्रिन्सिपल इन्जिनियर र सोलुसन्स आर्किटेक्टमा बढुवा हुन्छ । सोलुसन्स आर्किटेक्टले क्लाइन्टहरूलाई प्राविधिकमा मात्र नभई व्यापारिक रुपमा  पनि समाधान दिने गर्छन् । यो काम गर्ने इन्जिनियरले प्रविधि र व्यापार दुवै बुझेको हुनुपर्छ । 

कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट विजयानन्द पार्ट टाइम ट्युटर (प्रशिक्षक) का रुपमा लिपफ्रगसँग सन् २०१३ मा जोडिएका थिए । उनले त्यसबेला यहाँ कार्यरत इन्जिनियरहरू जाभा लगायतका अन्य प्रोग्रामिङ ल्याङ्ग्वेज पढाउँथे । त्यो काम उनले दुई महिनासम्म गरे । पछि सन् २०१४ अप्रिलदेखि भने सोलुसन्स आर्किटेक्टका रुपमा उनी पूर्णकालीन रुपमा लिपफ्रगमा जोडिए ।

'इम्प्लोई रिटेन्सन'को चुनौती

धेरै नेपाली कम्पनीमा देखिएको साझा चुनौती 'इम्प्लोई रिटेन्सन' अर्थात लामो समयसम्म कर्मचारी राख्नु हो । लिपफ्रग पनि यो चुनौतीदेखि टाढा हुने कुरा भएन । कम्पनीमा काम गर्नेहरूको औसत उमेर २७ छ । तुलनात्मक रुपमा यो निकै कम उमेर हो । आईटी उद्योग ‘योङ’ भएकाले ‘योङ’ मान्छेहरू नै लिगफ्रगमा कामका लागि बढी आउने  कम्पनीका भीसी विजयानन्द बताउँछन् ।

तर पैसा कमाउन विदेश जानु पर्छ भन्ने सामाजिक दबाब, विदेश जाने रहर हुनु, एक्सपोजर कम पाउनु, नेपालमा नै करियर राम्रो बनाउन सकिन्छ भन्ने थाहा नपाउनु 'इम्प्लोई रिटेन्सन'का लागि चुनौती भएको उनको बुझाइ छ । 

कार्यालयमा काम गर्दै लिपफ्रगका कर्मचारी

त्यस्तै लिपफ्रगमा काम गर्नेहरूको स्तर अमेरिकामा काम गरिरहेका इन्जिनियरहरूको जस्तै हुने उनी सुनाउँछन् । “हाम्रो क्लाइन्टहरू सिलिकन भ्याली कै छन् । त्यसो हुँदा यहाँ काम गर्ने इन्जिनियरले त्यहाँका सीटीओ तथा भीपी इन्जिनियर सँग काम गर्ने अवसर पाउँछन् । त्यो बाहेक एचआर फाइदाहरू पनि छन् । यसकारण हाम्रोमा उति धेरै समस्या भने छैन ।” उनी भन्छन् । 

हप्तामा दुई दिन मात्र जानुपर्ने अफिस 

कोभिड महामारीले कार्यालयमा हुने कामको संस्कारमा धेरै परिवर्तन ल्यायो । ‘वर्क फर्म होम’ भन्ने संस्कारलाई महामारीले बढाउन निकै भूमिका खेल्यो । तर कोभिड आउन अगाडि नै लिपफ्रगले यो संस्कार अपनाइरहेको थियो । त्यसबेला कोही कर्मचारीले म्यानेजरलाई खबर गरेर घरबाट नै आफ्नो काम गर्न सक्थे ।

कसैलाई अफिसमा आएर काम गर्न अप्ठ्यारो हुने बुझेर अहिले लिपफ्रगले आफ्नो छुट्टै नियम बनाएको छ । यहाँ दुई दिन अफिस आउने र तीन दिन घरबाट काम गर्ने नियम छ । त्यस्तै कम्पनीमा लुगा सम्बन्धी पनि त्यस्तो कडा नियम छैन । कम्पनी कर्मचारीको लुगामा भन्दा पनि प्रोडक्टिभिटीसँग बढी सम्बन्धित हुने उनी धारणा राख्छन् ।

लिपफ्रगमा जोडिने यात्रा

लिपफ्रगका ट्यालेन्ट एक्विजेसन म्यानेजर हुन् शैलेश नेपाल । कम्पनीमा नयाँ कर्मचारी नियक्ति गर्दा उनको भूमिका उल्लेखनीय हुन्छ । लिपफ्रगले क्षमतासँगै सञ्चार सीप पनि हेर्ने गर्छ । किनकी कम्पनीले प्राय: विदेशी क्लाइन्टका लागि काम गर्ने गर्छ । 

कम्पनीले कर्मचारी नियुक्तिका लागि दुई ओटा चरण राखेको छ । जसमध्ये सबैभन्दा पहिले टेक्निकल एसेसमेन्ट हुन्छ । यसमा इच्छुक उम्मेदवारले कोडिङ, डेटाबेस, एल्गोरिदम, सामान्य ज्ञान आदि विषयमा एक घण्टाको अनलाइन टेस्ट दिनुपर्छ । यदि उसले यसमा सफलता प्राप्त गरे प्रत्यक्ष (फेस टु फेस) अन्तर्वार्ता दिनु पर्छ । यो दुई चरण जुन उम्मेदवारले पार गर्छ उ लिपफ्रगमा आबद्ध हुन्छ ।

कम्पनीले कर्मचारी आवश्यकताको सूचना आफ्नो वेबसाइटको करियर पेज तथा विभिन्न सामाजिक सञ्जालमा भएका आफ्नो आधिकारिक पेज मार्फत जारी गर्ने गर्छ । त्यस्तै विभिन्न रिक्रुमेन्ट एजेन्सीसँग सहकार्य गरेर, कम्पनीको आफ्नै ट्यालेन्ट एक्विजेसन समूह फरक-फरक ठाउँ पुगेर, थुप्रै कलेज तथा विश्वविद्यालयसँग जनशक्तिबारे सम्झौता गरेर समेत लिपफ्रगले आफूलाई चाहिने जनशक्ति पूर्ति गर्ने गर्छ ।

लिपफ्रगमा कर्मचारी

सौगात गौतम कम्पनीका प्रिन्सिपल इन्जिनियरिङ म्यानेजर हुन् । उनले यहाँ भएका इन्जिनियरहरूलाई व्यवस्थापन गर्ने, उनीहरूलाई कुन प्रोजेक्ट लाने बारे निर्णय गर्ने, कामको चाप हेरेर इन्जिनियर नियुक्तिमा सहयोग गर्ने लगायतका काम गर्छन् । सीप तथा खुबी भए आईटी क्षेत्रमा पैसा कमाउन सजिलो छ । यो कुरामा कम्पनीका प्रिन्सिपल इन्जिनियरिङ म्यानेजर गौतम सहमत छन् । मान्छेले पत्ता लगाएको सबैभन्दा ठूलो कुरा आईटी क्षेत्र भएको उनको धारणा छ । 

कम्पनी आफैँले सबै कर्मचारीलाई ल्यापटप दिने योजनामा छ । यसको कारण सुरक्षा कारण हो । तर अहिले धरै कर्मचारीले आफ्नै ल्यापटप ल्याउने गरेका छन् । कतिले भने कम्पनीको ल्यापटप नै प्रयोग गरिरहेका छन् । तर आफ्नै ल्यापटप ल्याउने कर्मचारीलाई कम्पनीले ‘इन्टेन्सिभ’ पनि दिने गरेको छ । 

कम्पनीमा कुनै कर्मचारी आए कम्तिमा पाँच वर्ष बसोस् भन्ने लिपफ्रगको चाहना रहेको उनको भनाइ छ । त्यसो गर्दा कम्पनी र कर्मचारी दुवैलाई फाइदा हुने उनी तर्क गर्छन् । त्यसपछि उक्त कर्मचारीले जहाँ पनि काम गर्न सक्छ । उनी त्यस्तै विश्वास गर्छन् । “सुरुको दुई वर्ष उसलाई काम सिकाउँदै बित्छ । त्यो अवधिमा उनको धेरै ग्रोथ भइसकेको हुन्छ । बाँकी तीन वर्ष उनीहरूले लिपफ्रगलाई अझ बढाउन भूमिका खेल्छन् । यसरी दुवैलाई फाइदा हुन्छ ।” उनी भन्छन् । 

त्यस्तै एसोसिएट इन्जिनियरिङ म्यानेजरले डेभलपरको अपस्केलिङ सही तरिकाले भइरहेको छ/छैन निश्चित गर्ने, उनीहरू सही प्रोजेक्टमा छन् कि छैनन् भनेर जाँच गर्ने, उनीहरू केही समस्यामा छन् भने त्यसलाई समाधान गर्ने आदि काम गर्नुपर्छ । 

 

क्याफ्टेरियामा टहलिँदै कर्मचारी

कामका लागि नियुक्त गरेका मान्छेहरूलाई कम्पनीले आफ्नो सम्पत्ति ठान्छ । त्यसकारण कम्पनीले उनीहरूको विकासमा निकै ध्यान दिने गरेको छ । यही कारण  लिपफ्रगले ‘रिसोर्स’लाई भन्दा ‘पिपल’लाई ध्यान दिइरहेको कम्पनीका पिपल्स म्यानेजर दीक्षा श्रेष्ठ बताउँछिन् । एचआरको परम्परागत विचार भन्दा भिन्न तरिकाले उनले काम गर्नु पर्छ । 

कम्पनीको आफ्नै ‘भ्यागुता’ भन्ने सफ्टवेयर छ । जसमा सबै कर्मचारीको सम्पूर्ण डेटा राखिएको छ । त्यस्तै अनबोर्डिङ र अफबोर्डिङका डेटा पनि एउटा सिस्टममा राखिएको छ । त्यसो हुँदा केही क्लिकमा नै खोजेको रिपोर्ट तयार हुन्छ । यसको कारण कर्मचारीको डेटा अटोमेटेड गर्न खोजिरहेको पनि उनी सुनाउँछिन् ।

नियुक्ति भएर आएका कोही नयाँ कर्मचारीको तबल भने उनले खुलाइनन् । कम्पनीको नीतिले गर्दा त्यो कुरा भने भन्न नमिल्ने उनले कारण दिइन् । तर त्यसरी आउने नयाँ कर्मचारीलाई ‘कम्पिटिटिभ स्यालरी’ भएको उनको भनाइ छ । “यदि त्यति नभए त ४०० मान्छे कसरी बस्छन्?” उनी उल्टै प्रतिप्रश्न गर्छन् । 

तलब बाहेक नयाँ कर्मचारीलाई सिकाइको वातावरण दिने उनी सुनाउँछन् । कम्पनीको मूल्य र मान्यता देशमा दक्ष जनशक्ति उपलब्ध गराउनु र त्यो प्राप्त गर्नु रहेकाले आफूहरूले त्यसो गरिरहेको उनको भनाइ छ । त्यस्तै काममा हाइब्रिड नेचर, फ्लेक्जिबिलिटी आदि हुनु पनि राम्रो पक्ष भएको उनी सुनाउँछिन् । साथै कम्पनीले कर्मचारीको उच्च शिक्षा, स्वास्थ्य लगायत अन्य कुरामा पनि सहयोग गर्ने गरेको छ ।

भविष्यको लिपफ्रग

नेपालको सन्दर्भमा ठूलो आईटी कम्पनी भएपनि आफ्नो प्रतिस्पर्धीहरूको तुलनामा लिपफ्रग आफूलाई निकै सानो मान्छ । तर भारत, युरोप लगायत अन्य क्षेत्रमा कम्पनी विस्तार हुन खोजिरहेको छ । घाम कहिल्यै नडुबे जस्तै भविष्यमा लिपफ्रग पनि चाैबिसैं घण्टा/सातै दिन चल्ने बनाउने योजना रहेको कम्पनीका भीसी विजयानन्द बताउँछन् ।

तर टाइमजोनका कारण यो योजना निकै चुनौतीपूर्ण देखिएको छ । त्यस्तै लिपफ्रगको अर्को योजना एक हजार कर्मचारी भएको कम्पनी बन्नु छ । त्यसैका लागि सिस्टम बसालिरहेको उनी सुनाउँछन् । “पहिला ५० जना हुँदा र अहिले ४०० हुँदा काम गर्ने तरिकामा आकाश जमिन फरक छ,” उनी भन्छन्, “अब कर्मचारी संख्या बढ्दै जाँदा काम गर्ने शैली झन् फरक हुन्छ त्यसैको लेआउट बनाउने प्रयासमा छौं ।”

 

पछिल्लो अध्यावधिक: असार १९, २०८० ९:१०