काठमाडौं । दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेर विसं. २०४५ देखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सञ्चालनमा छ । हाल सीटीईभीटीले कृषि, हस्पिटालिटी, स्वास्थ्य र इन्जिनियरिङ गरी चार विधामा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकाे छ । यसबाहेक छोटो अवधिको विभिन्न काेर्ष पनि सञ्चालन भइरहेकाे छ । ।
विशेषत: सीटीईभीटीले प्रि-डिप्लाेमा तथा डिप्लाेमा आईटी कोर्ष, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ लगायतका विभिन्न प्राविधिक विषय अध्यापन गराउँछ । डिप्लोमा तहमा सीटीईभीटीले कृषिका तीन, इन्जिनियरिङका १३, स्वास्थ्यका पाँच र हस्पिटालिटीका चार ओटा कोर्ष सञ्चालन गरिरहेको छ ।
सीटीईभीटीका दुवै तहमा पढाइ हुने सबै कोर्षहरू हेर्न यहाँ क्लिक गर्नुहोस् ।
सीटीईभीटीबाट सम्बन्धन तथा स्वीकृतिप्राप्त ४२२, आङ्गिक ६५, प्राविधिक शिक्षा (टीईसीएस) मोडालिटी अन्तर्गत ६४०, साझेदारी (गाउँ/नगर) मोडालिटी अन्तर्गत ५२ शैक्षिक संस्थामा कोर्षहरू सञ्चालनमा छन् । त्यस्तै एक केन्द्रीय र सात प्रादेशिक शिक्षालयमा समेत पढाइ भइरहेकाे छ ।
ती शैक्षिक संस्था कहाँ-कहाँ छन् भनेर अनलाइनबाट हेर्न सकिन्छ ।
-सबैभन्दा सुरुमा सीटीईभीटीको आधिकारिक वेबसाइटमा जानुहोस् वा यहाँ क्लिक गर्नुहोस् ।
-अलि तल स्कोल गर्दै जानुहोस् । त्यहाँ इन्स्टिच्युसनल म्यापिङ (Institutional Mapping) भन्ने सेक्सन देखिन्छ । त्यसमा क्लिक गर्नुहोस् ।
-अर्को पेज खुल्ने छ । त्यहाँ सीटीईभीटी अन्तर्गतका शैक्षिक संस्थाहरूको तथ्याङ्क देखिन्छ । त्यस्तै प्रदेश अनुसार पनि सो तथ्याङ्क देखिन्छ ।
-उक्त तथ्याङ्कलाई सर्ट (sort) गर्न अङ्ग्रेजी अक्षरको ‘एम’ (m) प्रेस गर्नुहोस् । तपाईं नयाँ पेजमा पुग्नुहुन्छ । त्यहाँ तलको जस्तो इन्टरफेस देखिन्छ ।
-यसको सबैभन्दा माथि ‘सर्ट’का लागि प्रदेश, जिल्ला, स्थानिय पालिका, कोर्ष, तह, शैक्षिक संस्थाका प्रकार आदि दिइएको छ ।
तपाईंले आफू अनुकूल ती चयन गर्न सक्नुहुन्छ । जस्तो: प्रदेश- बाग्मती, जिल्ला- काठमाडौं, स्थानीय पालिका- काठमाडौं महानगरपालिका, तह- डिप्लोमा, कोर्ष- कम्प्युटर साइन्स आदि । यति गरेपछि तिनको आधारमा नेपालको नक्सा र छेउमा भएको तालिकामा नतिजा देखिन्छ ।
-देखिएको उक्त नतिजा तपाईंले डाउनलोड पनि गर्न सक्नुहुन्छ । यसका लागि तलको तालिकामा हुने ‘लिस्ट’मा क्लिक गर्नुपर्छ ।
यसरी सीटीईभीटीको कोर्ष सञ्चालन गरिरहेका शैक्षिक संस्था तपाईंले आफैं खोज्न सक्नुहुन्छ । त्यसमा तपाईंले विद्यालयमा भएको विद्यार्थी कोटा, फोन नम्बर, स्थान आदि पाउनुहुन्छ ।