close

बैंकको कर्मचारी हुँ भन्दै ओटीपी मागेर बैंक खाताबाट ११ लाख रुपैयाँ झिक्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

असार २६, २०८० १९:१२

बैंकको कर्मचारी हुँ भन्दै ओटीपी मागेर बैंक खाताबाट ११ लाख रुपैयाँ झिक्ने व्यक्ति पक्राउ

 

काठमाडौं । बैंकको कर्मचारी हुँ भन्दै ओटीपी कोड मागी बैंक अकाउन्टमा पहुँच पाएर रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङका २१ वर्षीय महमद मोजाहीद मिया रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले मियालाई सोमबार विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याएको हो । आरोपित मियामाथि प्रारम्भिक अनुसन्धान गर्दा उनले पीडितलाई विभिन्न नम्बरबाट फोन गर्थे ।

प्रहरीका अनुसार पीडितलाई फोन गरेर मिया आफूलाई विभिन्न बैंकको आधिकारिक कर्मचारी हुँ भन्थे । फोनमा कुरा भएका व्यक्तिहरू आफ्नो कुराबाट प्रभावित भएपछि बैंक खाता वालेटमा लिङ्क गर्ने, खाता नवीकरण गर्ने, केवाईसी फर्म अपडेट गर्ने, स्टेटमेन्ट भेरिफाइ गर्ने, सेक्युअर ट्रान्सफर चार्ज नलाग्ने र राम्रो बोनस प्राप्त गराइदिने आश्वासन दिन्थे ।

त्यसपछि उनीहरूको मेसेज बक्समा आएको ओटीपी लिएर बैंक अकाउन्टमा एक्सेस बनाउँथे । र रकम विभिन्न अन्य बैंक तथा वालेट अकाउन्टमा ट्रान्सफर गर्थे । यसरी पाँच जनाबाट आएका उजुरी विश्लेषण गर्ने क्रममा फरक फरक तीन ओटा नम्बर मियाको नाममा रहेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रबीन्द्र रेग्मीले बताए ।

पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्ने क्रममा उनलाई पाँच जनाबाट ११ लाख १२ हजार ८४० रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । मियाविरुद्ध ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असार २६, २०८० १९:१२