close

५ हजार बढी विद्यार्थीलाई छात्रवृत्ति दिँदै सीटीईभीटी, यसरी दिनुहोस् अनलाइन आवदेन

टेकपाना टेकपाना

साउन ७, २०८० १३:१८

५ हजार बढी विद्यार्थीलाई छात्रवृत्ति दिँदै सीटीईभीटी, यसरी दिनुहोस् अनलाइन आवदेन

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहमा दिने छात्रवृत्तिका लागि आवेदन फाराम खुला गरेको छ । 

सीटीईभीटी अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले एक सूचना प्रकाशित गर्दै शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको हो । 

यसअन्तर्गत इच्छुक विद्यार्थीले आगामी साउन १२ गतेसम्म सीटीईभीटीको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । 

यस शैक्षिक वर्षमा सीटीईभीटीले ‘प्रि डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०८०’ अनुसार प्री डिप्लोमा तहमा १,८३६ र डिप्लोमा तहमा ३,६७४ गरी कुल ५,५१० विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । 

सीटीईभीटीले सम्बन्धन प्राप्त आङ्गिक, साझेदारी, टेक्स (सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा) तथा निजी शिक्षालयहरूमा अध्ययन गर्नका लागि यस्तो छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । 

यसका लागि साउन १२ को राति १२ बजे भित्र अनलाइनबाटै प्रवेश शुल्क भुक्तानी गरी अनलाइन आवेदन दिनुपर्ने सीटीईभीटीले जनाएको छ । 

सीटीईभीटीले दिने उक्त छात्रवृत्तिका लागि अनलाइन आवेदन फाराम भर्दा डिप्लोमा तथा प्रमाणपत्र तहको एक हजार रुपैयाँ र प्रि-डिप्लोमा तहको पाँच सय रुपैयाँ प्रवेश परीक्षा शुल्क तोकिएको छ । 

सो शुल्क कनेक्ट आईपीएसको डाइरेक्ट अनलाइनबाट भुक्तानी गर्न सकिन्छ । परीक्षा केन्द्र भने प्रदेश कार्यालयले सिफारिस गरी पठाएको स्थानमा हुने बताइएको छ । परीक्षा केन्द्रको विषयमा साउन १५ गते सूचना प्रकाशित गरिने जनाएको छ । 

छात्रवृत्तिको परीक्षाका लागि यसरी भर्नुहोस् अनलाइन फारम ?

  • सुरुमा सीटीईभीटीको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्) अथवा सीटीईभीटी परीक्षाको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्) मा जानुहोस् ।
  • त्यसपछि त्यहाँ रहेको ‘क्लासिफाइड अनलाइन फर्म’ (Classified Online From) मा क्लिक गर्नुहोस् ।
  • अब आफूले अध्ययन गर्न चाहेको एउटा स्तर डिप्लोमा तथा पीसीएल वा प्रि डिप्लोमा मध्ये आफूले आवेदन दिन चाहेको तह छनोट गरी ‘न्यु युजर’ (New User) मा क्लिक गर्नुहोस् ।
  • आफ्नो नाम, थर र मोबाइल नम्बर राख्नुहोस् र ‘प्रोसिड’ (Proceed) मा क्लिक गर्नुहोस् ।
  • त्यसपछि शुल्क जम्मा गर्न ‘पे नाउ’ (Pay Now) छनोट गर्नुहोस् र त्यसका लागि सम्बन्धित कम्पनी रोजेर पुनः ‘प्रोसिड’ (Proceed) मा क्लिक गर्नुहोस् ।
  • शुल्क जम्मा भएको प्रमाणीकरण पश्चात् आफ्नो पासवर्ड तयार गर्नुहोस् र त्यसपछि ‘क्लासिफाइड स्कलरशिप अनलाइन एप्लिकेसन फर्म’ (Classified Scholarship Online Application Form) खुल्छ ।
  • उक्त फर्ममा उल्लेखित आवश्यक विवरण भर्दै जानुहोस् ।

आवश्यक कागजात अपलोड गर्दा जेपीजी फाइल फर्म्याट रहेकोमा ध्यान दिनुहोस् । जसमा पासपोर्ट साइजको रङ्गिन फोटो ८ केबीदेखि ५० केबीसम्मको फाइल साइज भएको ३५ बाई ४५ एमएम कायम राख्नुहोस् । 

हस्ताक्षरको फोटो साइज ३ केबीदेखि २० केबी भित्र सीमित गर्नुहोस् । त्यस्तै अन्य आवश्यक कागजातको साइज ८० केबीदेखि ३०० केबी बीचमा सीमित गर्नुपर्ने हुन्छ । 

विद्यार्थी स्वयम्‌ले प्रक्रिया पूरा गरी छात्रवृत्तिका लागि भरेको अनलाइन आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयबाट स्वीकृत भएपछि तत्कालै प्रिन्ट गर्न सकिने बताइएको छ । 

सो प्रिन्ट गरिएको प्रवेश पत्र प्रवेश परीक्षा र शिक्षालयमा भर्ना हुनका लागि आवश्यक पर्ने भएकाले सुरक्षित राख्नुपर्ने हुन्छ

पछिल्लो अध्यावधिक: साउन ७, २०८० १३:१८