close

श्रेया काफ्लेबारे बीबीसी र न्युयोर्क टाइम्समा समाचार छापिएको खबर नक्कली

टेकपाना टेकपाना

साउन २१, २०८० १४:२१

श्रेया काफ्लेबारे बीबीसी र न्युयोर्क टाइम्समा समाचार छापिएको खबर नक्कली

 

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा केही दिन यता श्रेया काफ्ले नाम भएकी विद्यार्थीले विभिन्न प्रतिष्ठित विश्वविद्यालयबाट साइबर सुरक्षामा दिएको योगदानका कारण सम्मान पाएको भन्ने समाचार फैलिएको थियो ।

'एनईबी रिजल्ट एन्ड न्युज' नामक अनाधिकारिक फेसबुक पेजले बीबीसीमा काफ्ले फिचर भएको भन्दै ई-पेपर जस्तो देखिने पोस्टको स्क्रिनशट समेत शेयर गरेको थियो । 

शेयर गरिएको पोस्टमा काफ्ले न्युयोर्क युनिभर्सिटीमा साइबर सेक्युरिटी विषय अध्ययन गरिरहेको र उनी इलामकी रहेको उल्लेख गरिएको थियो । तर, साइबर सेक्युरिटी नेपालले गरेको अध्ययनमा उक्त समाचार नक्कली रहेको पुष्टि भएको छ ।

यसरी देखियो नक्कली 

- एनईबी रिजल्ट एन्ड अपडेट नामक फेसबुक पेजले राखेको जस्तो बीबीसी म्यागजिनको लेआउट फोटोमा देखाइए जस्तो छैन ।

- बीबीसी जस्तो अन्तर्राष्ट्रिय सञ्चार माध्यमले म्यागेजिनमा राख्ने फोटो फेसबुक प्रोफाइलबाट कपी कसरी गर्न सक्छ, त्यो पनि स्न्यापच्याट स्टाइलमा खिचिएको ? म्यागेजिनको नक्कली फोटोमा युवतीको फोटोको स्रोत रोयटर्स दिइएको छ ।

- त्यस्तै न्युयोर्क टाइम्सले पनि उनको सोही फोटो राखेर बधाई दिइएको ‘ट्वीट’ पनि भाइरल छ । उक्त ट्वीट २९ जुलाइ २०२३ मा राखिएको स्क्रिनशटमा देखाइएको छ । जबकी ट्वीटरमा अहिले न्युयोर्क टाइम्सको ह्यान्डलमा त्यो ट्वीट छँदै छैन ।

त्यसबाहेक पनि न्युयोर्ट टाइम्सको नाम पछाडि सेतो चेकमार्क राखिएको छ । जबकी अहिले पनि न्युयोर्क टाइम्सको ह्यान्डलमा कुनै चेकमार्क छैन । ट्वीट त्यसैको छेउमा 'ट्वीट फर आईफोन'को मार्क छ ।

जबकी एलन मस्कले उक्त मार्क करिब पाँच महिनाअघि हटाएका थिए । त्यसबाहेक पनि २७ जुलाईमा एक्स ब्रान्ड भएको ट्वीटरमा बुकमार्क्स, ट्वीट भ्युज जस्ता फिचरहरू थपिएको छ । यसबाट सरासर फोटो एडिट गरी राखिएको पुष्टि हुन्छ ।

- त्यस्तै श्रेया काफ्लेकै ट्वीटर ह्यान्डलबाट पोस्ट भएको अर्को ट्वीटको स्क्रिनशट पनि सामाजिक सञ्जालमा आएको छ । उक्त ट्वीटमार्फत युवतीले युरोप र उत्तर अमेरिकाका मिडियालाई धन्यवाद दिएकी छिन् ।

तर, उक्त ह्यान्डल पनि नक्कली भएको पाइएको छ । युवतीको युजरनेम (@Cee Shreya) छ । जबकी युजरनेमको बीचमा स्पेस राख्न मिल्दैन । सोही ट्वीट पनि न्युयोर्क टाइम्सको जस्तो एडिट गरी राखिएको छ ।

साइबर सेक्युरिटी नेपालका अनुसार युवतीले आफ्नो फेसबुक स्टोरीमा पनि उक्त पोस्ट शेयर गरेकी थिइन् । तर, उनको अकाउन्ट अहिले डिएक्टिभ देखिएको छ । (https://www.facebook.com/shreya.kafle.779)

उक्त पोस्ट नक्कली भएको थाहा पाएपछि एनईबी रिजल्ट एन्ड अपडेट नामक पेजले पोस्ट हटाएर ईमोजी मात्र राखेको छ ।

पछिल्लो अध्यावधिक: साउन २१, २०८० १४:२३