काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साइबर सुरक्षा, डेटा सुरक्षा र एप डेभलपमेन्टलाई सुदृढ गर्दै सम्बन्धित प्रणालीलाई समयानुकूल तवरले अघि बढाउने सरकारको नीति रहेको बताएका छन् । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले उक्त कुरा उल्लेख गरेका हुन् ।
नीति तथा कार्यक्रममा बौद्धिक सम्पत्ति, नवप्रवर्तन र अनुसन्धानलाई परम्परागत ज्ञान, सीप र समुदायसँग जोड्ने नीति लिइने राष्ट्रपति पौडेलले बताए । उनले भने, “बौद्धिक सम्पत्ति, नवप्रवर्तन र अनुसन्धानलाई परम्परागत ज्ञान र सीप र समुदायसँग जोडिनेछ ।”
यस्तै वैज्ञानिक जनशक्ति उत्पादन र अनुसन्धानलाई संस्थागत गर्न संघ, प्रदेश, स्थानीय तह र निजी शैक्षिक संस्थाबीच समन्वय गरिने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । राष्ट्रपति पौडेलले बताए अनुसार यस समन्वयमार्फत वैज्ञानिक जनशक्ति उत्पादन र अनुसन्धानलाई प्रभावकारी बनाइनेछ ।
साथै विकिरण उत्सर्जन गर्ने रेडियोधर्मी स्रोतहरू र सम्बन्धित अभ्यास, क्रियाकलाप तथा संयन्त्रको नियमित अनुगमन गर्ने व्यवस्था मिलाइने पनि राष्ट्रपति पौडेलले आफ्नो सम्बोधनमा उल्लेख गरेका छन् ।