close

नेपालमै बनेको पावर बैंक सार्वजनिक, राउटर, मोबाइल र सीसीटीभीमा प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

साउन २२, २०८० १७:४८

नेपालमै बनेको पावर बैंक सार्वजनिक, राउटर, मोबाइल र सीसीटीभीमा प्रयोग गर्न सकिने

काठमाडौं । गेमिङ तथा सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको यार्सा टेक प्रालिले ‘निजी’ नामक मिनी इन्भर्टर सार्वजनिक गरेको छ । सोमबार एक भर्चुअल कार्यक्रम गर्दै कम्पनीले ‘जुनकिरी’ नामक बल्बसँगै ‘निजी’ पावर बैंक बजारमा ल्याएको हाे । 

निजीले पावर ब्याकअपको समस्या समाधान गर्ने कम्पनीले बताएको छ । टेकपानासँग कुरा गर्दै कम्पनीका प्रबन्ध निर्देशक एनजे सुवेदीले गुणस्तरलाई ध्यानमा राख्दै यो प्रोडक्ट ल्याइएको बताए ।

“हामी गुणस्तरमा केन्द्रित छौं,” सुवेदीले भने, “भरसक बिग्रिँदैन । बिग्रियो भने पनि एक वर्षको रिप्लेसमेन्ट र दुई वर्षको मर्मत वारेन्टी हुन्छ ।”  

८,८०० एमएएच क्षमताको ब्याट्री रहेको निजीमा १२ र पाँच भोल्टका दुई ओटा पोर्ट रहेका छन् । यो डिभाइसले विद्युतीय उपकरण जस्तै स्मार्टफोन, सीसीटीभी, क्यामेरा, राउटर लगायतका डिभाइसमा आवश्यक विद्युत आपूर्ति गर्ने सुवेदीले बताए ।  

यो पावर बैंकले विभिन्न डिभाइसका लागि छदेखि आठ घण्टासम्मको ब्याकअप उपलब्ध गराउने कम्पनीको दाबी छ । त्यस्तै बत्ति जाने वित्तिकै निजीले जडान गरिएका डिभाइसलाई तत्कालै ब्याकअप उपलब्ध गराउन सक्छ । यो डिभाइसलाई नेपालमा उपलब्ध हुने प्रायः सबै जसो राउटरमा परीक्षण गरिसकिएको कम्पनीले जनाएको छ । 

कम्पनीले निजीको मूल्य तीन हजार रुपैयाँ राखेको छ । उक्त डिभाइस यहाँ क्लिक गरेर अथवा नजिकैको बिजुली पसलबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ । 

त्यस्तै कम्पनीले अँध्यारो र उज्यालोमा स्वतः अन अफ हुने लाइट ‘जुनकिरी’ पनि सार्वजनिक गरेको छ । विशेषगरी होर्डिङ बोर्ड, एड्भर्टाइजिङ बोर्डहरूमा राख्न सकिने उक्त बल्ब कम्पनीले होलसेलमा मात्र उपलब्ध गराउने बताएको छ । हाल प्लग उपलब्ध नभएकाले कम्पनीले होलसेलमा मात्र उपलब्ध गराउने नीति लिएको हो । 

 

पछिल्लो अध्यावधिक: साउन २२, २०८० १७:४९