close

सरकारी नीति नबनाउँदा नेपालमा सुरु हुन सकेन मेट्रोभन्दा आधा सस्तो माइक्रो रेलको निर्माण

साउन २९, २०८० १९:३०

सरकारी नीति नबनाउँदा नेपालमा सुरु हुन सकेन मेट्रोभन्दा आधा सस्तो माइक्रो रेलको निर्माण

मेरो औपचारिक पढाइ यातायात सम्बन्धी होइन । मैले नेपाल कमर्स क्याम्पसबाट बीबीएस उत्तीर्ण गरेको हुँ । तर नेपालमा नयाँ र भरपर्दो यातायात भित्र्याउने इच्छा थियो । 

त्यही इच्छाले ‘काठमाडौं पोड वे’ जन्मायाे । यो एक यातायात प्रणाली व्यवस्थापक कम्पनी हो । संसारभरका विभिन्न यातायात प्रणाली हेर्दा पोड वे उत्कृष्ट लाग्यो । यो स्ट्रिङ (तार) प्रविधिमा आधारित कम्प्युटर नियन्त्रित यातायात प्रणाली हो । 

यसमा केही कम्पनीहरूले सैद्धान्तिक रूपमा काम पनि गरिरहेका रहेछन् । तर बेलारुसको युनिटस्काई स्ट्रिङ टेक्नोलोजिज (यूएसटी - Unitsky String Technologies) ले भने व्यवहारिक रूपमा नै विभिन्न स्थानमा पोड जडान गर्न थालेको रहेछ । त्यसपछि हामीले पनि त्यही प्रविधि नेपाल भित्र्याउने विषयमा सोच्यौं । अहिले त्यसैमा लागि परेका छौं । 

नेपालमा सार्वजनिक यातायातमा विभिन्न प्रकारका सवारी साधन प्रयोग भइरहेका छन् । सवारी दुर्घटनाका कारण वार्षिक लाखौंले ज्यान गुमाइरहेका छन् । यी कुराको समाधानका लागि पोड वे एउटा विकल्प बन्न सक्छ । 

झट्ट हेर्दा केवल कार जस्तै देखिने यो एक नवीन प्रविधिमा आधारित सवारी साधन हो । यो केबलकार जस्तै डाेरीमा झुन्डिएर गुड्ने माइक्रो रेल हो । नेपालमा सञ्चालन गर्न कति सम्भव छ भन्ने कुरामा हामीले विभिन्न अध्ययन गरेका छौं । 

तिनको आधारमा यहाँ सञ्चालन गर्न सकिने विश्वास छ । त्यसै अनुसार यसलाई नेपालमा चलाउन विभिन्न स्थानीय तह तथा निकायहरूसँग पनि कुराकानी भइरहेको छ । 

 

के हो पोड वे ? 

सार्वजनिक यातायातको सानो प्रणाली ‍हो, पोड वे । यसलाई पर्सनल र्‍यापिड ट्रान्जिट (पीआरटी) भनेर पनि चिन्ने गरिन्छ । यो सार्वजनिक यातायातको त्यस्तो सानो प्रणाली हो, जहाँ निश्चित नेटवर्क भित्र स्वचालित सवारी साधनहरू सञ्चालन हुने गर्छन् । 

पीआरटीमा सामान्यतया प्रति गाडी तीनदेखि छ जनासम्म यात्रु बस्न मिल्छ । यसलाई ननस्टप, पोइन्ट टू पोइन्ट यात्रा गर्न प्रयोग गरिन्छ । त्यही पीआरटी सवारी साधनहरू मध्ये पोड वे एक हो । 

काठमाडौं उपत्यकामा हुने ट्राफिक जामलाई व्यवस्थापन गर्ने, सार्वजनिक यातायातको भाडा घटाउने, मान्छेलाई यात्रा गर्न सहज हुने जस्ता काममा यो उपयोगी हुन सक्छ । 

पोड वेको ट्र्याक निर्माण कार्य

 

सरल भाषामा बुझ्दा एउटा स्थानबाट अर्को स्थानसम्म सहज तरिकाले पुर्‍याउने उच्च प्रविधि भएको माइक्रो रेल नै पोड वे हो । यसमा मान्छे राख्ने ठाउँलाई ‘पोड’ भनिन्छ । यो विद्युतबाट चल्छ भने स्ट्रिङ (तार) मा झुन्डिएर गुड्छ । 

कम्प्युटरमार्फत नियन्त्रण गरिने यो प्रविधि सडक माथि अथवा जुनसुकै ठाउँमा जडान गर्न सकिन्छ । यूएसटीले यात्रु र कार्गोका लागि विभिन्न मोडलका पोड डिजाइन गरेको छ ।

जसमध्ये पहिलो चरणमा हामीले स्ट्रिङ रेल नेपाल भित्र्याउन खोजेका छौं । त्यस्तै पहिलो पटक काठमाडौं उपत्यकामा राख्ने योजना छ । जुन अहिलेसम्म पूरा भने भएको छैन । 

पोड वेलाई २४ सै घण्टा सञ्चालन गर्न सकिन्छ । यसमा चालक नै हुँदैनन् । यात्रुहरू त्यही पोडमा चढेर यात्रा गर्छन् । ती पोडहरू अपाङ्गमैत्री हुन्छन् । यात्रुको संख्या अनुसार पोडहरू राख्ने गरिन्छ ।

यात्रुको धेरै चाप भएको खण्डमा प्रत्येक पाँच सेकेन्डको अवधि भित्र स्टेसनमा पोड आउनेसम्म गर्न सकिन्छ । बिजुली गए पनि ती पोडहरू १२० किलोमिटरसम्म चल्न सक्छन् ।

पोडमा चार ओटा मोटर हुन्छन् । केही गरी तीन ओटा मोटर बिग्रिए एउटाले स्टेसनसम्म पुर्‍याउने काम गर्छ । सबै बिग्रिए भने ‍अर्को पोड गएर त्यसलाई तान्न सक्छ । 

पोड वे चलाउन रेलको जस्तै निश्चित ट्रयाक चाहिन्छ । जुन जमिनभन्दा माथि हुन्छ । त्यस्तै यात्रुलाई ओराल्न र चढाउन ठाउँ ठाउँमा स्टेसनहरू राखिका हुन्छन् भने जमिन माथि हुने ट्रयाकलाई अड्याउन पोल हुने गर्छन् ।

सामान्य ७ देखि ४०/५० मिटर अग्लो स्थानमा त्यस्ता ट्रयाक राखिएका हुन्छन् । पोड वेको परियोजनाको डीपीआर तयार गर्दा स्टेसन र पोलको पनि डिजाइन गरिन्छ । तिनलाई कति माथि राख्ने, कस्तो स्टेसन बनाउने, पोल कस्तो राख्ने भन्ने कुरा ठाउँ अनुसार फरक हुन सक्छ । तर ती सबैको काम भने एउटै हुन्छ । 

डेढ वर्षमा १५० किलोमिटरसम्म पोड वेको ट्रयाक बनाउन सकिन्छ । संसारमा आजसम्म कुनै पनि यातायात प्रणाली यति चाँडो बन्दैन । तर यसको ट्रयाक कम्तिमा ५० वर्षसम्म टिक्न सक्छ ।

पोड वेको प्रणाली इन्ट्रानेटबाट चल्ने भएकाले बाहिरी दुनियाँसँग यसको सम्बन्ध हुँदैन । यसको प्रणालीमा रहेका विभिन्न तत्त्वहरूलाई केवल (तार) ले जोडिएको हुन्छ । यसो हुँदा ग्लोबल नेटवर्कसँग सम्पर्क हुँदैन । यसमा रेडियो वेभ, जीपीएस तथा आपतकालीन अवस्थाका लागि अटोब्रेकिङ सिस्टम हुन्छ । 

 

नेपालमा यो सञ्चालनमा आएपछि चढ्ने यात्रुले हाम्रो एप प्रयोग गर्नु पर्छ । एपबाटै नजिकको स्टेसनमा आइरहेका तथा गइरहेका पोड बारे थाहा पाउन सकिन्छ । सिट खाली छ/छैन, त्यो पनि त्यहींबाट हेर्न सकिन्छ ।

यात्रुले एपबाटै आफ्नो सिट बुक गर्न वा स्टेसनमै आएर टिकट काट्न सक्छन् । एउटा निश्चित ट्र्याकमा पोडहरू घुमिरहन्छन् । यिनको क्षमता भने मेट्रोरेल सरह हुने गर्छ । 

अहिले हाम्रोमा दैनिक ३९३ मेगावाट विद्युत खेर गइरहेको छ । यता हामी भारतलाई विद्युत बेचेको भन्छौं । तर जतिमा बेच्छौं, त्यो भन्दा बढीमा किनिरहेका हुन्छौं ।

यसकारण यहाँको विद्युतलाई यहीं खपत गर्नुपर्ने हुन्छ । नेपालमा यातायात प्रणालीमा पोड वे आए विद्युत खेर जाने सम्भावना पनि हुँदैन । 

 

पोड र रेलमा के फरक ?

यी दुवै एउटा निश्चित ट्र्याकमा गुड्ने भएपनि प्रयोग हुने प्रविधि फरक छ । एउटा मेट्रोले सामान्यतया दुई हजार यात्रुलाई बोक्ने गर्छ भने ४० ओटा पोडले त्यति यात्रु बोक्ने गर्छ । एउटा ठूलो पोड बस जस्तै हुन्छ ।

त्यसमा ४२ जनासम्म चढ्न मिल्छ । हामीले नेपालमा ल्याउने पोडमा क्रमश: १४, २८ र ४२ जना बस्न मिल्छ । कुनै पनि मेट्रोरेलको परियोजना निर्माणमा लाग्ने कूल खर्चको चार प्रतिशतमा उही क्षमताको पोड वे बनाउन सकिन्छ । 

साधारणतया मेट्रो रेलको अधिकतम गति ८० किलो मिटर प्रति घण्टा हुन्छ भने पोड वेको १५० किलोमिटर प्रतिघण्टा हुन्छ । त्यस्तै मेट्रो रेल म्यानुअल्ली चलाउन पर्छ भने पोड वेको कहाँ कति गति लिनु पर्ने त्यसको निर्धारण प्रणाली आफैंले स्वत: गर्छ ।

पोड वेको क्षमता मेट्रो रेलसँग समान छ । तर मेट्रोको तुलनामा पोड वेले शक्ति निकै कम मात्र खपत गर्छ । यसको निर्माण कार्य अन्य कुनै पनि यातायात प्रणालीको तुलनामा चाँडो सम्पन्न हुन्छ ।

नेपालमा हामीलाई पोड वे बनाउँदा मुआब्जामा समस्या छैन । किनकी सडक वा खोला माथि पनि यसलाई बनाउन सकिन्छ । रेल २०० वर्ष पुरानो प्रविधि हो । यसको ट्रयाकमा दुई ओटा रेल आपसमा ठोक्किने सम्भावना निकै हुन्छ । तर पोड वेमा त्यो समस्या छैन । 

काठमाडौं पोडवेका सहसंस्थापक भट्टराई 

 

रेलको ट्रयाक राष्ट्रिय निकुञ्जहरूमा बनाउन मिल्दैन ।  किनकी त्यसो गर्दा वन्यजन्तुलाई असर पर्छ । तर पोड वे जमिन माथिबाट सञ्चालन हुने भएकाले त्यस्तो समस्या हुँदैन । रेलमा फलामको चक्का हुन्छ ।

यसमा पनि फलामकै चक्का हुन्छ । फरक यति हो कि, रेल जमिनमा गुड्छ, यो जमिन माथि । तर यो रेलभन्दा कयौं गुणा सस्तो हुने गर्छ । नेपालमा पूर्वपश्चिम रेलमार्ग बनाउने कुरा छ ।

यदि त्यसको साटो पोड वे बनाउने हो भने, रेलमार्ग बनाउने कूल लागतको ५० प्रतिशत भन्दा कम लागतमा पोड वे निर्माण सम्पन्न गर्न सकिन्छ । यसको मूल कम्पनीले ५०० किलोमिटर प्रति घण्टासम्मको गतिमा गुड्न सक्ने पोडलाई सैद्धान्तिक रूपमा पुष्टि गरेका छन् ।

यदि त्यस प्रकारको पोड हालियो भने दार्जिलिङ जान दिल्लीबाट भारतीय नागरिकहरू महेन्द्रनगर आउन थाल्नेछन् । यसरी परियोजना बनाए हामीले भारतीय यात्रुलाई पनि सेवा दिन सक्छौं । 

 

समस्या लगानीमा होइन नीतिमा 

यो बेलायत, अमेरिका लगायतका देशमा प्रमाणित यातायात प्रविधि हो । चार दशकको अनुसन्धान पछि यसलाई विकास गरिएको छ । नेपालका लागि मात्रै यो प्रविधि विकास गरिएको होइन । यो विश्व बजारका लागि विकास गरिएको प्रविधि हो ।

त्यसकारण यो प्रविधिमा ढुक्क हुन सकिन्छ । प्रविधिका कारण नै नेपालमा पोड वे सञ्चालन गर्दा लगानीको अभाव वा समस्या हुँदैन । तर नीतिगत समस्या भएका कारण हामीले हालसम्म सुरु गर्न सकेका छैनौं । 

पोड वेमा गरिने लगानीको मुनाफा सुनिश्चित छ । लगानीकर्ताले जहाँ नाफा हुन्छ, त्यहीँ लगानी गर्ने गर्छन् । यसमा थुप्रै विदेशी लगानीकर्ताले समेत लगानी गर्ने इच्छा देखाएका छन् । तर नयाँ प्रविधि भएकाले सरकारसँग यस सम्बन्धी नीति छैन ।

सोही कारण हामीले यसलाई नेपालमा चलाउन सकिन्छ कि सकिँदैन भनेर अनुसन्धान गरिरहेका छौं । त्यस्तै यस बारे नीति ल्याउन पहल गरिरहेका छौं । हामी मात्र नभएर विभिन्न सरकारी निकायले यस बारे कुरा उठाइरहेका छन् । 

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सहरी विकास मन्त्रालयलाई उपत्यकाका नदी करिडोरमा पोड वे प्रयोग गर्न नीतिगत व्यवस्थाका लागि अनुरोध समेत गरेको छ । हामीले सन् २०२० मा नै गोकर्णेश्वर नगरपालिकाको २७.९ किलोमिटर क्षेत्रमा यसको सम्भाव्यता अध्ययन गरेका थियौं ।

अध्ययनले भौगोलिक संरचना लगायतका कुरा यस प्रविधिका लागि उपयुक्त देखाएको थियो । जोगबनी र धरानको ४२ किलोमिटर दुरीमा पोड वे सञ्चालन गर्न कोशी प्रदेशले लगानी गर्ने इच्छा देखाएको छ । यसरी हामीले विभिन्न निकायहरूमा प्रस्तावहरू पेस भने गरिरहेका छौं । 

सडकमाथि गुडिरहेको पोड

देशका मुख्य सहरमा आधुनिक कम्प्युटर नियन्त्रित तीव्र गतिका कारहरू पुर्‍याउनु हाम्रो उद्देश्य हो । यसले हामीलाई संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य प्राप्तिका लागि पनि सहयोग गर्छ ।

किनकी पोड वेले कार्बन उत्सर्जन घटाउने, सडक दुर्घटना न्यूनीकरण  गर्ने, रोजगारी सिर्जना गर्ने र नेपाली नागरिकलाई लगानी गर्ने अवसर दिन्छ । तर नेपालमा यो यातायात प्रणाली भित्र्याउन केन्द्रीय सरकारको भूमिका प्रमुख हुन्छ । किनकी यसलाई रेल अन्तर्गत प्रमाणीकरण गरिएको छ । 

सरकारले यस बारे स्पष्ट नीति बनाएर सार्वजनिक यातायातका लागि सञ्चालन गर्ने व्यवस्था गरिदिएपछि मात्र हामीले यसलाई सञ्चालन गर्न पाउछौं । सरकारले केबल कारलाई पर्यटकीय गन्तव्यमा प्रयोग गर्न सकिने साधनको रूपमा राखेको छ ।

त्यसैगरी यसलाई सार्वजनिक यातायातमा राख्नु पर्छ । यसरी हेर्दा नेपालमा यसलाई भित्र्याउन तीव्र इच्छा शक्तिको जरुरत देखिन्छ । अहिले इन्डोनेसिया, इजरायल, दुबई, मौरिसस, भारत आदिमा त यूएसटीको यही प्रविधि लागू गर्ने काम सुरु भइसकेको छ । 

 

प्रति किलोमिटर १० रुपैयाँमा यात्रा 

नेपालको क्रयशक्ति र ऊर्जा खपत हेर्दा यो प्रविधि जति अरु कुनै उपयुक्त हुनै सक्दैन । आजको दिनमा यो सबैभन्दा सस्तो यातायातको रूपमा रहेको देखिन्छ ।

अहिलेको समयमा मेट्रोरेलको एक किलोमिटरको ट्र्याक बनाउन अर्बौं रुपैयाँ लाग्छ भने ४० अर्बमा पोड वेको १०० किलोमिटरको ट्र्याक बनाउन सकिन्छ । अझ नेपालमा भएका स्थानीय स्रोत साधन प्रयोग गरे त्यो रकम अझ कम हुन सक्छ । यसो हुँदा यात्रुहरूले प्रति किलोमिटर १० रुपैयाँ भन्दा कम शुल्कमा यात्रा गर्न सक्छन् । 

त्यस्तै सामान ढुवानी खर्च पनि कम पर्न जान्छ । हाम्रा विभिन्न योजना मध्ये वीरगन्जदेखि चोभारसम्म पोड वे सञ्चालन गर्नु एक हो । यदि यो योजना पूरा भए वीरगन्जदेखि चोभारसम्म सय टनको सामान करिब एक घण्टामा पुर्‍याउन सकिन्छ ।

यसरी एक पटक सामान ढुवानी गर्दा १३ हजारको बिजुली खपत हुन सक्छ । जुन अहिले चलिरहेका सार्वजनिक यातायात भन्दा तीन गुणा कम ऊर्जा खपत हो ।

अहिले लुम्बिनी गुरु योजना क्षेत्रभित्रको सम्पदा र सांस्कृतिक क्षेत्रको अवलोकन गर्ने पर्यटकलाई सहज बनाउने गरी छ किलोमिटर लामो पोड वे बनाउने पनि प्रस्ताव अगाडि बढेको छ । यस बाहेक कर्णाली लगायतका अन्य विभिन्न ठाउँहरूमा पनि ‍यो योजना अगाडि बढेको छ । 

यदि नेपालमा यो व्यवहारिक रूपमा सञ्चालनमा आउन सक्यो भने हामीले स्वतन्त्र व्यवस्थापनमा ध्यान दिन्छौं । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विदेशी व्यक्ति राख्छौं । उसले पारदर्शी तरिकाले काम गर्छ ।

तर हामीलाई नीति बाधक बनिरहेको छ । पछिल्लो समय हामीले अध्ययनको काम मात्र भए पनि गरिरहेका छौं । म र एक जना दाइ मिलेर यो काठमाडौं पोड वे कम्पनी चलाइरहेका छौं । ‍यसमा दुई जना इन्जिनियर पनि छन् ।

उनीहरूले प्राविधिक पाटो हेरिरहेका छन् । हामीले नेपालमा विदेशी लगानी ल्याएर यस सम्बन्धी परियोजना अगाडि बढाउने योजना पनि बनाएका छौं । त्यससँगै सार्वजनिक यातायात दिगो र स्थिर हुनु पर्छ भन्ने हाम्रो विश्वास छ ।

भौतिक मन्त्रालयले पोड वे सञ्चालनको अनुमति दिए हामी काम गर्न सक्थ्यौं । हामीले देशभर यसलाई निर्माण गर्न कर्णाली पोड वे, कोशी पोड वे कम्पनीहरू दर्ता गरेका छौं । हामी अनुकूल नीति हुना साथ पोड वे निर्माणको काम काम सुरु गर्छौं । 

(काठमाडौं पोडवेका सहसंस्थापक नील भट्टराईसँगको कुराकानीमा आधारित) 

 

पछिल्लो अध्यावधिक: साउन २९, २०८० १९:३२