close

पोखरामा ‘वर्डक्याम्प नेपाल’ हुँदै, देश-विदेशबाट एक हजार बढीले सहभागिता जनाउने

टेकपाना टेकपाना

साउन ३०, २०८० १५:३

पोखरामा ‘वर्डक्याम्प नेपाल’ हुँदै, देश-विदेशबाट एक हजार बढीले सहभागिता जनाउने

पोखरा । वर्डक्याम्प नेपालको छैठौँ संस्करण आगामी जनवरी १२ र १३, २०२४ मा पोखरामा हुने भएकाे छ । वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा आयोजना गर्दै आइरहेको वर्डक्याम्पकाे नयाँ संस्करण पाेखरा बिरौटास्थित होटल पोखरा ग्रान्डमा आयोजना हुने भएको छ ।

पछिल्लो पटक सन् २०२२ मा भरतपुरमा भएको वर्डक्याम्प भएकाे थियाे । सूचना प्रविधिको क्षेत्रमा नेपालमा आयोजित सम्मेलनहरुमध्ये वर्डक्याम्प एक ठूलो सम्मेलन हाे । 

वर्डप्रेस सफ्टवेयरसँग सम्बन्धित विभिन्न विषयबारे जानकारी दिने, प्रशिक्षण गराउने साथै आपसी सहयोग तथा सहकार्यलाई मजबुत बनाउन वर्डक्याम्पले महत्त्वपूर्ण भूमिका खेलेकाे वर्डप्रेस नेपालले जनाएकाे छ ।

वर्डप्रेस एक नि:शुल्क तथा खुला स्रोतको व्यक्तिगत प्रकाशन सफ्टवेयर हो, जसको प्रयोगले आज विश्वभर झन्डै ४० प्रतिशत वेबसाइटको उत्पादन र  सञ्चालनमा प्रत्यक्ष सहयोग पुगेको छ । विश्वमा पहिलो वर्डक्याम्प सन् २००६ मा वर्डप्रेसका सह-संस्थापक म्याट मुलेनवेगको अगुवाईमा अमेरिकाको सान-फ्रान्सिस्कोमा सम्पन्न भएको थियो, र त्यसयता विश्वभरका वर्डप्रेस सम्बद्ध स्थानीय समुदायहरूको सहकार्यमा सयौं अरू वर्डक्याम्पहरु सम्पन्न भएका छन् ।

आजका दिनसम्म ६५ देशका ३९१ सहरहरूले ११७२ वर्डक्याम्पहरू सम्पन्न गरिसकेका छन् । नेपालमा हालसम्म काठमाडौं, पोखरा, भरतपुर, विराटनगर र बुटवल जस्ता सहरमा १५ वटा सहर आधारित तथा देशव्यापी वर्डक्याम्पहरु सफलतापूर्वक सम्पन्न भइसकेकाे वर्डप्रेस नेपालले जानकारी दिएकाे छ । 

''आगामी सेप्टेम्बर ८ र ९ तारिखमा वर्डक्याम्प काठमाडौँ आयोजना हुनेछ र जनवरीमा हुने वर्डक्याम्प नेपाल २०२४, नेपालका लागी एक महत्वपूर्ण कोसेढुङ्गा सावित हुनेछ । किनभने यो वर्डप्रेस उत्साहीहरूबीच ज्ञान आदानप्रदान र सहकार्यलाई बढावा दिने परम्परालाई निरन्तरता दिँदै देशमा आयोजित १७औं वर्डक्याम्प हुनेछ,'' वर्डप्रेस नेपालले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ । 

कार्यक्रममा नेपाल, भारत, अमेरिका, युरोपेली मुलुकहरु, बंगलादेश जस्ता विभिन्न राष्ट्रबाट झन्डै १००० जना भन्दा बढी स्वदेशी तथा विदेशी सहभागीहरुको उपस्थिति रहने अनुमान गरिएको छ ।

सम्मेलनको पहिलो दिन (१२ जनवरी)मा वर्डप्रेस सफ्टवेयरलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्नेबारे जानकारी तथा विशेष योगदान गर्ने दिन रहेको छ । दोस्रो दिन (१३ जनवरी)मा मुख्य सम्मेलन सम्पन्न हुनेछ, जसमा बिहानदेखि बेलुकासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय वक्ताहरुले वर्डप्रेसका साथै सूचना प्रविधि सम्बन्धी विभिन्न विषयमा रहेर जानकारी तथा प्रशिक्षण दिनेछन् ।

यसअन्तर्गत ​प्रेरणादायी वक्ताहरूकाे प्रस्तुति, ​अन्तरक्रियात्मक कार्यशालाहरू, ​नेटवर्किङ अवसरहरू लगायत रहने वर्डप्रेस नेपालले जनाएकाे छ । 

वर्डक्याम्प नेपाल २०२४ का लागि चाँडै नै अनलाइन रजिस्ट्रेसनकाे प्रक्रिया खुला हुने बताइएकाे छ । 

यस पटक, वर्डक्याम्प नेपालको आयोजकका रुपमा पोखरा, भरतपुर, काठमाडौँ, भक्तपुर, बुटवल, विरगंज, विराटनगर तथा भारत र क्यानेडा समेतका गरेर ३८ जनाको आयोजक समिति रहेको छ । कार्यक्रमको ग्लोबल लिडको रुपमा यम बहादुर क्षेत्री र लोकल लिडको रुपमा निशाल गुरुङ रहेका छन् ।

पछिल्लो अध्यावधिक: साउन ३०, २०८० १५:२०