close

आईटी पढाउने त्रिविको विज्ञापन नै झुर, फेसबुक प्रयोगकर्ता भन्छन्- लाज लाग्ने डिजाइन कसले गर्छ ?

टेकपाना टेकपाना

साउन ३२, २०८० १२:४१

आईटी पढाउने त्रिविको विज्ञापन नै झुर, फेसबुक प्रयोगकर्ता भन्छन्- लाज लाग्ने डिजाइन कसले गर्छ ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आफ्नो भर्ना कार्यक्रमका लागि बनाएको डिजाइन नराम्रो भएको भन्दै आलोचना भएको छ ।

आफ्नै आधिकारिक वेबसाइटमा राखेको उक्त डिजाइनलाई बुधबार फेसबुक पेज 'डिन्स अफिस, इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी, टीयू' (Dean's office, Institute of Science and Technology, T.U.) बाट शेयर गरिएको छ । जसमा धेरैले उक्त डिजाइन भद्दा, नराम्रो भएको टिप्पणी गरेका छन् ।

पोस्टमा कमेन्ट गर्ने शशाङ्क श्रेष्ठले ‘लाज लाग्ने डिजाइन कसले गर्छ’ भनेर लेखेका छन् । सीएम भट्टले ‘ग्राफिक्स डिजाइनर पक्कै पनि टीयूबाट ​सीएसआईटी पढेको हुनुपर्छ’ भन्दै व्यङ्ग्य गरेका छन् भने अर्का फेसबुक प्रयोगकर्ता अंकित श्रीवास्तवले ‘डिन आफैंले डिजाइन सिक्दै छन् जस्तो छ’ भनेर कमेन्ट गरेका छन् ।

कोबिन न्यौपानेले भने ‘यत्रो महँगो ल्यापटप किनेको यहीँ देख्नलाई रहेछ’ भन्दै कटाक्ष गरेका छन् । पोस्टमा डिजाइन नराम्रो भएको भन्दै गरिएका टिप्पणी थुप्रै भेटिन्छन् । 

 

यस विषयमा संस्थानका डीन विनिल अर्यालसँग बुझ्दा उक्त डिजाइन संस्थान आफैंले बनाएको बताए । साथै संस्थानसँग कोही पनि ग्राफिक्स डिजाइनर नभएको पनि उनले सुनाए ।

“म लगायत अन्य फ्याकल्टी मेम्बरले हामीलाई चाहिने डिजाइन आफैं तयार पार्छौं । डिजाइन बनाउन कोही पनि ग्राफिक्स डिजाइनरलाई काममा राख्दैनौं । हाम्रै आईटी टिमले डिजाइन तयार गर्छ,” उनले टेकपानासँग भने ।

त्यस्तै संस्थानको कुनै पनि आधिकारिक पेजबुक पेज नभएको भन्दै उनले सो पोस्ट आफूहरूले नगरेको उनले सुनाए । “संस्थानको कुनै पनि आधिकारिक फेसबुक पेज छैन,” उनले भने, “धेरैले ‘फ्यान पेज’ चलाइरहेका छन् । त्यहीँबाट पोस्ट भएको होला ।” 

यो बाहेक संस्थानले बनाएका अन्य ‍डिजाइन पनि भद्दा देखिन्छन् । यस अगाडिदेखि नै प्रविधि पढाउने संस्थानको ग्राफिक्स र वेबसाइट ‘झुर’ भएको भनेर टिप्पणीहरू हुने गरेका थिए ।

संस्थान अन्तर्गतका १२८ शैक्षिक संस्थाहरूले विभिन्न तहमा ४१ शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् । जसमा बीएससी सीएसआईटी, बीआईटी जस्ता आईटी कोर्षसमेत पर्छन् । संस्थान अन्तर्गत स्नातक तहमा मात्रै ३० हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

पछिल्लो अध्यावधिक: साउन ३२, २०८० १७:१२