close

शृङ्खलाबद्ध रुपमा फेसबुक अकाउन्ट ह्याक गरी रकम ठगी गर्ने ५ जना पक्राउ

टेकपाना टेकपाना

साउन ३२, २०८० १८:३९

शृङ्खलाबद्ध रुपमा फेसबुक अकाउन्ट ह्याक गरी रकम ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं । फेसबुक आईडी ह्याक गरी पीडितका नजिकका व्यक्तिहरूसँग रकम ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्लाका सिमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ, रोहन तामाङ र कास्कीकी शुभेच्छा गुरुङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार विभिन्न व्यक्तिले विभिन्न मितिमा कार्यालयमा आई आफ्नो फेसबुक आईडी ह्याक गरी आफन्तसँग रकम मागिरहेको भन्दै निवेदन दिएका थिए ।

त्यसैको आधारमा अनुसन्धान गर्दै जाँदा कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले पाँचै जनालाई काठमाडौं बसपार्कस्थित रेसुंगा बुटवल गेस्ट हाउसको कोठामा बसी रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरूले प्रयोग गरेरको फोन हेर्दा उनीहरूले मेसेन्जरबाट ईसेवा तथा खल्ती जस्ता वालेटबाट रकम माग गरिरहेको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि ठगी तथा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: भदौ ६, २०८० १८:२