close

४ महिना सकिंदा पनि किन आउँदैन मासिक सार्वजनिक हुनुपर्ने प्राधिकरणको एमआईएस रिपोर्ट ?

टेकपाना टेकपाना

भदौ ३, २०८० १४:४३

४ महिना सकिंदा पनि किन आउँदैन मासिक सार्वजनिक हुनुपर्ने प्राधिकरणको एमआईएस रिपोर्ट ?

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकायको रूपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस रिपोर्ट प्रकाशनमा चरम ढिलासुस्ती देखिएको छ । नियामकले प्रत्येक महिना सार्वजनिक गर्ने म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआईएस) रिपोर्ट चार महिना बितिसक्दा समेत सार्वजनिक गर्न नसकेको हो ।

प्राधिकरणको वेबसाइटमा गत २०७९ चैत महिनासम्मको एमआईएस रिपोर्ट मात्र उपलब्ध छ । जुन गत असारमा मात्रै सार्वजनिक गरिएको थियो । रिपोर्टमा टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच, सेवा प्रदायक कम्पनीहरूको बजार हिस्सा जस्ता तथ्याङ्कसँगै प्राधिकरणबाट जारी टाइप एप्रुभल सर्टिफिकेट, विदेशी मुद्रा सिफारिस, दूरसञ्चार उपकरण आयतको सिफारिस, नयाँ जारी भएका, नवीकरण तथा संशोधन भएका लाइसेन्स लगायतका गतिविधि समेट्ने गरिएको छ ।

त्यसो त बेलाबखत प्राधिकरणको एमआईएस रिपोर्टकै तथ्यगत सत्यतामा प्रश्न उठ्दै आएको छ । सेवा प्रदायकले पठाउने आफ्ना ग्राहक विवरणको जानकारी जस्ताको तस्तै उतारे प्रकाशित गरिने प्रतिवेदन सार्वजनिक गर्न किन ढिलाइ हुने गरेको छ ? भन्ने प्रश्नमा प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले विवरण संकलन भइरहेको र चाडै प्रकाशित हुने जवाफ दिए ।

नयाँ एमआईएस रिपोर्ट परिमार्जित स्वरूमा प्रकाशित गर्ने योजनाका कारण यस पटक केही ढिला हुन गएको प्राधिकरणले जनाएको छ । अब ‘टेलिकम सूचक’ समेटिएको प्रतिवेदन मासिक रूपमा र विस्तृत गतिविधि समेटिएको प्रतिवेदन त्रैमासिक रूपमा प्रकाशित गर्ने योजना रहेको छ ।

यद्यपि सूचना तथा तथ्याङ्क सङ्कलन गर्न समय लाग्ने भएकाले मासिक प्रतिवेदनका लागि समेत यस अघि जस्तै तीन महिनासम्मको समय लाग्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ३, २०८० १४:५२