close

युवतीहरूलाई मेसेन्जरमा भिडिओ कल गरी आफ्नो गोप्य अङ्ग देखाउने तुफान केसी पक्राउ

टेकपाना टेकपाना

भदौ ५, २०८० २०:१७

युवतीहरूलाई मेसेन्जरमा भिडिओ कल गरी आफ्नो गोप्य अङ्ग देखाउने तुफान केसी पक्राउ

काठमाडौं । युवतीहरूलाई मेसेन्जरमा भिडिओ कल गरी आफ्नो गोप्य अङ्ग देखाउने एक पुरुषलाई साइबर ब्युरोले पक्राउ गरेको छ । ब्युरोको टोलीले ललितपुर महानगरपालिका वडा नम्बर १९ कुमारिपाटी बस्ने अर्घाखाँची भूमिकास्थान नगरपालिका ४ घर भएका तुफान केसीलाई त्यस किसिमको गतिविधि गरेको आरोपमा पक्राउ गरेको हो ।

सोमवार काठमाडौंबाट पक्राउ परेका उनी विरुद्ध एक युवतीले भिडिओ सहित सप्रमाण साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । ब्युरोका प्रवक्ता पशुपति रायका अनुसार अन्य युवतीले समेत ती व्यक्तिले आफूहरूमाथि त्यस किसिमको अश्लील र अपमानजनक व्यवहार गरेको भन्दै उजुरी दिएका थिए ।

तर प्रमाण अभावमा यसअघि उनलाई पक्राउ गर्न नसकिएको उनले टेकपानालाई बताए । युवतीहरूलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउने र एसेप्ट गर्नेहरूलाई सोझै भिडिओ कल गरी आफ्नो गोप्य अङ्ग प्रदर्शन गर्ने कार्य केसीले गर्ने गरेको उल्लेख छ ।

ब्युरोमा उजुरी दिने युवतीले आफ्नो फेसबुक मेसेन्जरमा अपरिचित व्यक्तिको भिडिओ कल आए पनि चिजानकै व्यक्तिको हो कि भनेर रिसिभ गर्दा अश्लीलता प्रदर्शन गरिरहेको पुरुष व्यक्ति देखेको बताएकी छन् ।

ती युवतीले उक्त प्रदर्शनको भिडिओ अर्को मोबाइलबाट फोनमा रेकर्ड गरेर अब उपरान्त यस्ता गतिविधि नगर्न उक्त व्यक्तिलाई आग्रह गरेकी थिइन् । तर उल्टै मेरो फेसबुकमा पोस्ट गरेका तस्विरहरूमा समेत अश्लील र अपमानजनक शब्दहरू प्रयोग गरी कमेन्ट गरी चरित्र हत्या गरेको पीडितको उजुरीमा उल्लेख छ ।

"उक्त व्यक्ति पत्ता लगाई कानून बमोजिम कारबाहीका लागि पीडित महिलाले यस ब्युरोमा उजुरी दिनु भएको थियो," ब्युरोले भनेको छ । प्राप्त उजुरीमाथिको प्राविधिक अनुसन्धान र विश्लेषणबाट केसी खुल्न आएपछि पक्राउ गरिएको हो । अहिले उनीमाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

यस किसिमका आपराधिक मानसिकता भएका व्यक्तिहरूबाट जोगिन सामाजिक सञ्जालमा अपरचित व्यक्तिसँग साथी नबन्न र त्यस्ता व्यक्तिले गरेका कल रिसभ समेत गर्नु हुँदैन । 

पछिल्लो अध्यावधिक: भदौ ५, २०८० २०:१८