close

फेसबुक ह्याक गरी बुढाबुढीको गोप्य च्याट सार्वजनिक गरिदिने व्यक्ति एयरपोर्टबाट पक्राउ

टेकपाना टेकपाना

साउन २२, २०८१ १३:४

फेसबुक ह्याक गरी बुढाबुढीको गोप्य च्याट सार्वजनिक गरिदिने व्यक्ति एयरपोर्टबाट पक्राउ

काठमाडौं । फेसबुक अकाउन्ट ह्याक गरी च्याटको स्क्रिनशटको आडमा ब्ल्याकमेल गरेको आरोपमा एक जना पक्राउ परेका छन् । साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले तनहुँका ३५ वर्षीय सन्दिप थापा मगरलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । 

ब्युरोका अनुसार कार्यालयमा पीडितले आफूमाथि साइबर अपराध भएको भन्दै निवेदन दिएकी थिइन् । उनका अनुसार आरोपित व्यक्तिले सबैभन्दा पहिले पीडित महिलाको फेसबुक अकाउन्ट ह्याक गरे । त्यसपछि ती व्यक्तिले महिला र उनका श्रीमानबीच मेसेन्जरमा भएको च्याटको स्क्रिनशट लिए ।

यति गरेपछि उनले नक्कली अकाउन्ट खोली उक्त स्क्रिनशट महिलाका आफन्तलाई पठाइदिए । अनि त्यही स्क्रिनशटको आडमा ब्ल्याकमेल गरेर मानसिक तनाव दिनुका साथै बदनाम गरी चरित्रहत्या गरेको पीडित महिलाको आरोप छ ।

पीडित महिलाले निवेदन दिएपछि प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट आरोपित मगरको संलग्नता देखिएको ब्युरोले जनाएको छ । आरोपित मगर वैदेशिक रोजगारीको शिलशिलामा रोमानियमा थिए । 

उनीविरुद्ध विद्युतिय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी प्रहरी अनुसन्धान पश्चात सजायको मागदावी सहित जिल्ला अदालत काठमाडौंमा मिसिल पेश भएको थिए । त्यसपछि वैदेशिक रोजगारीमा रहेका प्रतिवादी मगर स्वदेश (नेपाल) फर्कने क्रममा आइतबार विमानस्थलबाटै पक्राउ परेको ब्युरोले जनाएको छ ।

उनलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको ब्युरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन २२, २०८१ १३:५२