close

के अब पैसा नतिरे फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न नपाइने हो ?

टेकपाना टेकपाना

भदौ १९, २०८० १२:३३

के अब पैसा नतिरे फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न नपाइने हो ?

काठमाडौं । केही दिनअघि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा फेसबुकबारे एउटा समाचार बाहिर आयो । न्यू योर्क टाइम्सले सेप्टेम्बर १ मा प्रकाशित गरेको समाचारमा मेटाले युरोपमा फेसबुक र इन्स्टाग्रामको सशुल्क भर्सन ल्याउने योजना बनाएको विषय उल्लेख थियो ।

न्यू योर्क टाइम्सले मेटासँग नजिक भएका तीन व्यक्तिले उपलब्ध गराएको सूचनाका आधारमा समाचार प्रकाशित गरेको थियो । उक्त मिडियाका अनुसार यदि मेटाले त्यस्तो सेवा ल्याएमा शुल्क तिर्ने प्रयोगकर्ताले फेसबुक र इन्स्टाग्राममा विज्ञापन देख्ने छैनन् । यो निकै संवेदनशील सूचना भएकाले म्यागजिनले स्रोत उल्लेख गरेको भने छैन ।

त्यसबाहेक पनि युरोपियन युनियनको नीति र मेटाको डेटा-संकलन अभ्यास प्रतिबन्ध गर्न अदालतले गरेको निर्णयको प्रतिक्रिया स्वरूप कम्पनीले यस्तो योजना ल्याउन लागेको समाचारमा भनिएको छ । सो समाचारमा विज्ञापन देखिने निःशुल्क भर्सनको एप भने जारी नै रहने विषय समेत उल्लेख छ ।

मेटाले आम्दानी बढाउन, युजर एक्सपेरियन्स सुधार गर्न, युजर इन्गेजमेन्ट बढाउन र डेटा सुरक्षामा थप काम गर्न यस्तो कदम चाल्न लागेको सो समाचारमा भनिएको छ । यसबारे न्यु योर्क टाइम्सले मेटाका प्रवक्तासँग बुझ्न खोजेको थियो । तर, कम्पनीबाट कुनै आधिकारिक सूचना आइनसकेको समाचारमा भनिएको छ ।

यो समाचारलाई टिकटक तथा फेसबुकमा प्रयोगकर्ताले आफ्नै तरिकाले विश्लेषण गर्न थाले । केहीले भने अब फेसबुक र इन्स्टाग्राम शुल्क तिरेर मात्र प्रयोग गर्न सकिने भन्दै टिकटक भिडिओ र फेसबुक पोस्ट राखेका छन् । 

मेटाले यो फिचर ल्याउन लागेको हो वा होइन भन्ने कुरा औपचारिक रूपमा पुष्टि गरेको छैन । त्यसैले पनि सामाजिक सञ्जालमा थुप्रै अफवाह फैलिएका पाइएको छ ।

के हो वास्तविकता ?

न्यू योर्क टाइम्सलाई कम्पनी स्रोतले भने अनुसार यो फिचर मेटाले ल्याउने योजना मात्र बनाएको हो । त्यो पनि अहिलेसम्म युरोपका प्रयोगकर्ताका लागि मात्र ल्याउन लागिएको भनिएको छ । यदि यस्तो सुविधा आयो भने पनि शुल्क तिर्नै पर्ने वाध्यता हुँदैन ।

प्रयोगकर्ताले विज्ञापनरहित फेसबुक र इन्स्टाग्राम फिड हेर्न चाहेमा यो फिचर प्रयोग गर्न पाउनेछन् । तर, शुल्क तिर्दैन भन्ने भयो भने पनि फेसबुक वा इन्स्टाग्राम प्रयोग गर्नै नपाउने भन्ने होइन । जसरी अहिले फेसबुक वा इन्स्टाग्राम प्रयोग गरिरहनु भएको छ त्यसरी नै पछि पनि प्रयोग गर्न सक्नुहुन्छ । त्यसैले प्रयोगकर्तालाई शुल्क तिर्नै पर्ने वाध्यता नरहने समाचारमा उल्लेख छ । 

हाल यस्तो फिचर ट्वीटरका रूपमा परिचित एक्सले ल्याएको छ । विशेषगरी कम्पनी एलन मस्कको नेतृत्वमा पुगेपछि उनले सशुल्क भर्सनको फिचरलाई थप चर्चामा ल्याए । तत्कालीन ट्वीटर ब्लु सब्स्क्रिप्सनलाई कम्पनीले प्रिमियम र भेरिफाइड नाम दिएको छ । शुल्क तिरेर यो फिचर प्रयोग गर्दा प्रयोगकर्ताले अन्यले भन्दा कम विज्ञापन देख्ने कम्पनीको दाबी छ ।

त्यसबाहेक पनि एक्सले शुल्क तिर्ने प्रयोगकर्ताका लागि अन्य प्रिमियम फिचरहरू उपलब्ध गराएको छ । तर, शुल्क नतिर्ने प्रयोगकर्ता भने प्लेटफर्म प्रयोग गर्नबाट बञ्चित भएका छैनन् । त्यसैले मेटाले पनि यही नीति अवलम्बन गर्न लागेको अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १९, २०८० १३:३४