close

५०० जना युवालाई टेलिकम पूर्वाधार र एफटीटीएच मर्मत सम्भारको तालिम दिंदै सरकार

टेकपाना टेकपाना

भदौ २०, २०८० १६:४३

५०० जना युवालाई टेलिकम पूर्वाधार र एफटीटीएच मर्मत सम्भारको तालिम दिंदै सरकार

 

काठमाडौं । सरकारले ५०० जना युवालाई टेलिकम पूर्वधार (प्यासिभ) र एफटीटीएच मर्मत सम्भार तथा ग्राहक सेवा सम्बन्धी तालिम दिने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणमार्फत चालू आर्थिक वर्षमा यस्तो कार्यक्रम अगाडि बढाइने भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै स्वीकृत गरेको प्राधिकरणको चालू आव २०८०/०८१ को वार्षिक कार्यक्रम अन्तर्गत यो कार्यक्रम समावेश छ । यसका साथै डिजिटल साक्षरतासहित दूरसञ्चार क्षेत्र तथा सेवासँग सम्बन्धित विविध विषय, कर्मचारीको क्षमता अभिवृद्धि गर्ने कार्यका लागि कूल २१ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

स्वीकृत वार्षिक कार्यक्रम अनुसार असोज मसान्तसम्म तालिम कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्यविधि तयार पारी स्वीकृत गरिनेछ । त्यसपछि पुससम्ममा तालिम कार्यक्रम सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

आउँदो २०८१ को असार मसान्तसम्म सञ्चालन हुने यस्तो तालिम कार्यक्रमबाट दक्ष जनशक्ति तयार पार्ने कार्यमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

नियामक प्राधिकरणको नियमित तथा नयाँ कार्यक्रमको रूपमा यो परियोजना अगाडि बढाइएको हो । यसका लागि नियामकले सल्लाहकार तथा परामर्श सेवा खरिद गर्नेछ, जुन कार्य प्राधिकरणका विभिन्न शाखा अन्तर्गत हुनेछ ।

यद्यपि यो तालिम देशका कति स्थानमा सञ्चालन हुने, सहभागी छनौट कसरी गर्ने लगायतका विषय निश्चित भइसकेका छैनन् । 

पछिल्लो अध्यावधिक: भदौ २०, २०८० १६:४३