close

एजेन्ट पक्राउ परेपछि फिफियामा रकम जम्मा गर्नेहरू तनावमा

टेकपाना टेकपाना

असोज ६, २०८० १५:५८

एजेन्ट पक्राउ परेपछि फिफियामा रकम जम्मा गर्नेहरू तनावमा

 

काठमाडौं । बिहीवार फिफिया एपमार्फत अनलाइन जुवा खेलाउने बहानामा ११ लाख रुपैयाँ बढी ठगी गरेको आरोपमा एक युवती पक्राउ परेको खबर बाहिर आयो । त्यसपछि सो प्लेटफर्ममा रकम जम्मा गरेर सट्टेबाजी गर्नेहरूले आफ्नो रकम निकाल्न थाले । ठूलो सङ्ख्यामा मानिसहरूले रकम निकाल्न थालेपछि सो प्लेटफर्मले प्रयोगकर्ताको रकम होल्ड गरेको पाइएको छ ।

फिफियाका एजेन्ट र प्रयोगकर्ताले प्रयोग गर्ने ह्वाट्सएप ग्रुपमा अधिकांशले एप बन्द भएको र रकम निकाल्न नमिलेको भन्दै गुनासो गर्न थालेका छन् । “विथड्र गर्न अलाउड छैन भनिरहेको छ,” सुज्जल नाम भएका व्यक्ति फिफियाको ह्वाट्सएप ग्रुपमा सोध्छन्, “यसमा के समस्या आएको हो ?” प्रश्नको जवाफमा नाजिर नाम भएका व्यक्ति लेख्छ्न्, “यदि सबैलाई रकम विथड्र गर्न दियो भने फिफिया क्र्याश हुन्छ । त्यसैले त्यस्तो समस्या आएको हो ।”

सुज्जल मात्र होइन, योगराज नाम भएका युवक अरूलाई सुझाव दिँदै ग्रुपमा लेख्छन, “हेल्लो सारा, म एक गरिब सडक बालक हुँ । कृपया मलाई मेरो पैसा फिर्ता देउ । म यसको बदलामा तिमीलाई पाँच हजार रुपैयाँ नेपाली पठाइदिन्छु । मेरो स्वास्थ्य अवस्था पनि कमजोर छ । मेरा बाबुआमासँग मलाई उपचार गर्ने पैसा छैन । म गाउँको केटा हो । कृपया सारा हरामी मान्छेजस्तो काम नगर । लेखेर आफ्नो आधिकारिक फिफिया युजरनेम, ईमेल र मोबाइल नम्बर राखेर सारालाई पठायो भने तपाईंहरूको रकम फिर्ता आउँछ ।”

 

कतिपयले आफ्नो रकम फिर्ता आएन भने साइबर ब्यूरोमा जाने चेतावनी दिएका छन् । आफूलाई ‘एङ्गस योङ’ नाम दिएका प्रयोगकर्ता लेख्छन, “यो ग्रुपको एड्मिनहरू कता हराए ? तिमीहरू आफू आधिकारिक व्यक्ति हो भन्ने प्रमाणित गर्ने डकुमेन्ट पठाऊ । नभए म साइबर ब्यूरोमा रिपोर्ट गर्छु । बेटिङ होइन भन्दै पैसा ठग्ने तिमीहरू ।”

सोही ग्रुपमा टेकपाना टेक अपडेटको भिडिओ पनि शेयर भएको छ । जसमा २८ वर्षीया महिला पक्राउ परेको खबर समावेश गरिएको छ । सोही भिडिओ देखपछि आफू आत्तिएको भन्दै सन्तोष साउद भन्ने व्यक्ति लेख्छन्, “मैले विथड्र गरेको ६० घण्टा भइसक्यो अहिलेसम्म रकम आइसकेको छैन ।”

 

सो ग्रुपमा कतिले आफ्नो आठ हजार, कतिले १० हजार, कतिले १२ हजार, कतिले ५० हजार, कतिले एक लाख र कतिपयले छ लाख रुपैयाँसम्म होल्ड भएको गुनासो गरेका छन् ।

  

यो ग्रुपमा राहुल भन्ने व्यक्ति सक्रिय भएर नआत्तिन आग्रह गरेका छन् । उनले आफूले १५ लाख ५० हजार रुपैयाँ निकालेको स्क्रिनशट राख्दै विथड्र केही ढिलो भए पनि सबैको हुने आश्वासन दिएका छन् ।

आफ्नो नाम जीजी राखेका एक नेपाली युवक ग्रुपमा अडियो क्लिप राख्दै भन्छन्, “ १० लाखभन्दा बढी मान्छेले एकैचोटी पैसा निकालेपछि पैसा अड्किने भो नि । विचरा कम्पनीलाई पनि त अब पैसा यताको उता खेलाइराको हुन्छ । सबले पैसा विथड्र गरेपछि कहाँ हुन्छ त अनि पागलहरू ।”

 

ह्वाट्सएपमा ‘फिफियाज नेक्स्ट ग्रुप’ नाम भएको ग्रुपमा आफू पीडित भएको गुनासो गर्नेहरूको सङ्ख्या सयौंमा छ । केही एजेन्टले भने रकम छिट्टै फिर्ता आउने आश्वासन दिइरहेका छन् । 

नेपालमा सट्टेबाजी तथा जुवा प्रतिबन्ध छ । सट्टेबाजीको हकमा मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ मा 'कसैले सट्टेबाजी गर्नु वा गराउनु हुँदैन' लेखिएको छ । त्यसो गरेको पाइएमा दफा १२५ “जुवा खेल्न वा सट्टेबाजी गर्नु गराउनु नहुने” भन्ने कसूरमा प्रयोग भएको बिगो जफत गरी कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फिफियाको नामबाट अवैध काम भइरहेकाले यसमा संलग्नमाथि अनुसन्धान तीव्र पारिएको जानकारी दिएको छ ।

वेबसाइटको ट्राफिक विश्लेषण गर्ने प्लेटफर्म सिमिलर वेबका अनुसार नेपालमा मासिक १५ लाखभन्दा बढी पटक वेबसाइट भिजिट हुन्छ । यो पेज भिजिट गर्दा एक पटकमा प्रयोगकर्ताले औसतमा नौ मिनेट समय बिताउँछ ।

पछिल्लो अध्यावधिक: असोज ६, २०८० १५:५८