close

यस्तो छ नेपालका ५ सहरमा यूकेको आईटी कोर्स पढाउने आईएसएमटी कलेज

शिला पौडेल

असोज ११, २०८० १६:१५

यस्तो छ नेपालका ५ सहरमा यूकेको आईटी कोर्स पढाउने आईएसएमटी कलेज

सन् २०१० मा स्थापना भएर सन् २०११ देखि शैक्षिक कार्यक्रम सञ्चालन गरेको इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आईएसएमटी) कलेज बेलायती सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ । यही ब्रान्डलाई लिएर पोखरा, चितवन, विराटनगर र बुटवलमा पनि कलेज खाेलिएकाे छ । 

कलेज स्थापना ताका नेपालबाट पढ्न भनेर धेरै विद्यार्थी विदेश गइरहेका थिए । नेपालमा बेलायती कोर्स पढाउने कुनै संस्था थिएनन् । विद्यार्थीहरूमा नेपालमा नै विदेशी कोर्स पढ्ने रुचि पनि थिएन । तर खासमा विदेश पढ्न जाने त्यही वर्गलाई लक्षित गर्दै आईएसएमटी जन्मेको थियो । स्थापना २०१० मा भएपनि पढाउन भने २०११ देखि थालिएकाे हाे । त्यतिबेला देखि नै कलेजले बेलायती शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेका छ । 

खासमा विदेशी कोर्स नेपालमा पढाउनु पर्ने आवश्यकतालाई नै मध्यनजर गर्दै कलेज खोलिएकाे हाे । अझ पछिल्लो समयमा कलेजले साइबर सेक्युरिटी तथा डिजिटल फरेन्सिक जस्तो आईटीका नवीनतम् विषयहरू पढाउन थालेकाे छ । अहिले काठमाडौंसहित देशका प्रमुख चार सहरमा बेलायती कोर्स सञ्चालन भइरहेकाे छ ।

सबै कलेजमा गरेर आईएसएमटीसँग करिब तीन हजार जति विद्यार्थी छन् । तर सुरुका दिनहरूमा विद्यार्थीहरूको रुचि नेपालमा बेलायती कोर्स पढ्नेमा थिएन । जसै आईएसएमटी लगायतका अन्य कलेजहरूले पढाउन थाले, तब भने विस्तारै उनीहरूको सोचमा परिवर्तन आउँदै गयो ।

त्यसपछि बेलायती कोर्स नेपालमा पनि पढाउन सकिन्छ, त्यहाँ पाइने सुविधा, गुणस्तर यहाँ नै पाइन्छ भन्ने भावना विस्तार हुँदै गयो । त्यहीकारण विदेशमा पढ्न जाने योजना बनाएकाहरू रोकिए । सायद यो पनि समयको आवश्यकता थियो कि !

आईएसएमटी जस्तो कलेजमा पढ्न आउने विद्यार्थीहरू विदेशी डिग्री पढ्न नै आएका हुन्छन् । यदि हामी जस्ता शैक्षिक संस्थाहरू यहाँ हुन्थेनन् भने पक्कै उनीहरू पनि विदेश नै जान्थे । केही हदसम्म भएपनि त्यो संख्यालाई नेपालमा नै रोक्न आईएसएमटी लगायत अन्य कलेजहरूले सहयाेग गरिरहेका छन् । 

अर्काेतर्फ हामीले हामी जस्तै विदेशी कोर्स पढाउने कलेजहरूलाई प्रतिस्पर्धी मानेका छैनाैं । विदेशी कोर्स पढाउने कलेजहरू एक-अर्काका लागि प्रतिस्पर्धी होइनन् । त्यो त सहयोग, प्रवर्द्धन हो । जस्तै: बेलायती कोर्स हामी पढाउँछौ र अन्य कलेजले पनि पढाउँछन् । त्यसो हुँदा कतै न कतै आईएसएमटीको पनि विज्ञापन भइरहेको हुन्छ । कुनै पनि कलेज विदेशी कोर्स पढाउने गरी नेपालमा आउँछन् भने अन्तत्तोगत्वा: एकअर्कालाई नै सहयोग हुन्छ । त्यसलाई आईएसएमटीले सकारात्मक रुपमा हेर्ने गरेको छ । 

आईएसएमटी कलेज काठमाडौंमा मात्रै सीमित नभएर पोखरा, चितवन, विराटनगर र बुटवलमा फैलिएको छ । काठमाडौं बाहेकका अन्य प्रमुख सहरहरूमा शिक्षाको उत्तिकै सम्भावना छ । त्यहाँका अभिभावकहरूमा अब सन्तानलाई पढाउनु पर्छ, शिक्षामा लगानी गर्नु पर्छ भन्ने सोच आइसकेको छ ।

त्यही भएर त्यहाँको स्थानीय आवश्यकतालाई सम्बोधन गर्न आईएसएमटी ती ठाउँहरूमा पुगेको हो । त्यहाँका विद्यार्थीहरूलाई उनीहरूकै ठाउँमा बेलायती शिक्षा दिनु आईएसएमटी स्थानीय सहरहरूमा पुगेको हो । अहिले त्यहाँका विद्यार्थी तथा अभिभावकहरूले आईएसएमटीलाई सकारात्मक रुपमा लिइरहेका छन् । 

उद्देश्य अनुसारकै मार्ग

कलेज स्थापना गर्दा हामीले राखेका उद्देश्यहरू अहिले पूरा भइरहेका छन् । जस्तो: पढ्न विदेश जाने प्रवृत्ति रोक्नु वा विदेश पढ्न जाने विद्यार्थीलाई नेपालमा नै पढाउनु हाम्रो उद्देश्य भनुँ वा आवश्यकता थियो । त्यसालाई पूरा गर्न नेपालमा बेलायती कोर्स पढाउने गरी आईएसएमटी सञ्चालनमा आयाे ।त्यसपछि उच्च शिक्षा पाउन विदेश जानु पर्छ भन्ने सोच विस्तारै घट्दै गइरहेको पाउँछौं ।

नेपालमा नै बेलायतको जस्तै अवसर, शैक्षिक गुणस्तर, शिक्षण तथा सिकाइका विधिहरू दिन सक्दा हाम्रा उद्देश्य लगभग लगभग पूरा भएको छ । त्यस्तै शिक्षाको नाममा विदेशिने नेपाली पैसा रोकिने र विदेश गएर पढ्ने चाहना सबैको पूरा नहुने अवस्थामा आईएसएमटी विकल्प हुने भएकाले पनि कलेजकाे उद्देश्य पूरा भएको महसुस हुन्छ ।

आईएसएमटीले बीएससी आईटी, बीबीए, बीएचएम कोर्स चलाउने गर्छ । हालै आएको नयाँ कोर्स काठमाडौंमा मात्र पढाइ हुन्छ । यस वर्षबाट साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक पनि सञ्चालन हुँदै छ । तर बीएससी आईटी लगायत व्यवस्थापनका दुई कोर्स अन्य कलेजमा पनि पढाइ हुन्छन् । त्यसो हुँदा बीबीए, बीएचएमको तुलनामा विद्यार्थीहरूले आईटी पढ्नमा नै बढी रुचि देखाएको पाइन्छ ।

विश्व नै डिजिटलाइज भइरहेको सन्दर्भमा नेपाल जस्तो विकासशील देशमा आईटीको भविष्य अझ बढी हुन सक्ने देखिएको छ । यो भर्खर विकास हुँदै गरेको देश हो । यसमा गर्ने ठाउँ धेरै छन् । विकसित देशहरूमा ‘सिस्टम’लाई मात्र सुधार्दै जाने गरिन्छ । तर हामीले त यहाँ धेरै सिस्टम नै बनाउन बाँकी छन् । यसकारण विकासशील देशमा आईटीको भविष्य अझ बढी देखिएको हो । यसो हुँदा नेपालमा आईटी पढ्न तुलनात्मक रुपमा राम्रै संख्यामा विद्यार्थीहरू भर्ना भइरहेको अवस्था छ ।

आईएसएमटीका धेरैजसो ‘फ्याकल्टी मेम्बर’हरू विदेशमा नै पढेर आउनु भएको छ । उहाँहरूले सेवा सुविधा पनि त्यही अनुसारको आशा गर्नुहुन्छ । जुन स्वाभाविक पनि छ । र, अरुको तुलनामा त्यो बढी पनि हुन्छ । आईएसएमटीले उहाँहरूको आशालाई पूरा गर्न लागिरहेको छ । उहाँहरूले पनि आफ्नो दक्षता अनुसार काम गरिरहनु भएको छ । 

विदेशी विश्वविद्यालयमा पढाइ हुने शैली र पाठ्यक्रमा उहाँहरू भिझ्नु भएको हुन्छ । जसले गर्दा नेपालमा पनि त्यही तरिकाले उहाँहरूले पढाउनुहुन्छ । त्यस्तै यहाँ कसैले चाहँदैमा पढाउन पनि पाउँदैन । पढाउने चाहने व्यक्तिको ‘सीभी’का आधारमा विश्वविद्यालयले अनुमति दिएपछि मात्र पढाउन पाउनुहुन्छ ।

फेरि नियमित रुपमा शिक्षकशिक्षिकाहरूले तालिम लिइरहनु हुन्छ । किनकी, विश्वविद्यालयले बजारको माग अनुसार पाठ्यक्रम परिमार्जन गरिरहेको हुन्छ । त्यसो हुँदा नियमित तालिम पनि अपरिहार्य छ । यिनै कारण भिन्नता छन् । नेपाली शिक्षक-शिक्षिकाले पढायो भन्दैमा पढाइको गुणस्तर पनि एउटै हुन्छ भन्न मिल्दैन । 

विदेशी विश्वविद्यालयको कोर्स पढाउने अरु कलेजहरूसँग तुलना नगरी आईएसएमटीको कुरा गर्दा ‘पाठ्यक्रम’ नै कारण हो । किनकी हामीले पढाउने आईटी कोर्सको पाठ्यक्रम विद्यार्थीको भविष्यलाई सहयोग गर्ने खालको छ ।

बजारमा माग  बढी भएका सीपहरू विकास गर्ने पाठ्यक्रम छ । उदाहरणका लागि: हामीले पढाउने कोर्सलाई विश्वविद्यालयले सन् २०१८ मा परिमार्जन गरेको थियो । अहिले फेरी नयाँ अपडेट आइसकेको छ । 

आईएसएमटीमा पढ्न आउने विद्यार्थीहरूलाई हामी परम्परागत तरिकाले पढाउने गर्दैनौं । यहाँका शिक्षकहरू शिक्षकभन्दा बढी सहजकर्ताको भुमिकामा हुनुहुन्छ । यसले गर्दा उहाँहरूले विद्यार्थीको मनोविज्ञानलाई बुझेर व्यवहारिक शिक्षा दिनुहुन्छ । कलेजमा विद्यार्थी भर्ना गर्दै हामी उनीहरूलाई ‘काउन्सिलिङ’ दिन्छौं । त्यसले विद्यार्थीलाई आफ्नो उद्देश्य अनुसारको विषय पढ्न सहयोग मिल्छ ।

त्यस्तै आईएसएमटीमा दुई वर्ष पढिसकेपछि विद्यार्थीहरूले चाहेको खण्डमा बेलायत, अमेरिका, क्यानडा लगायतका देशमा क्रेडिट ट्रान्सफर गर्न सक्छन् । यो धेरै विद्यार्थीहरूले खोजेको विशेषता हो ।  

त्यस्तै आईएसएमटी एउटा वर्गलाई मात्र खोलेको संस्था होइन । हामीले हरेक वर्गहरूलाई लक्षित गर्दै कलेज सञ्चालनमा ल्याएका हौं । यसकारण हामीकहाँ ब्रिटिश डिग्री अध्ययन गर्नु त्यस्तो महँगो पनि छैन । त्यस्तै जब फेयर पनि अर्को पक्ष भयो । त्योसँगै हामी उद्योगमा काम गरिरहेका विज्ञहरूलाई पनि कलेजमा अनुभव सुनाउन बोलाउँछौ । त्यो पनि भिन्नताकै पक्ष हो । 

आईटी शिक्षाप्रति विद्यार्थीहरूको रुचि

अहिलेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई हेर्दा आईटीको ठूलो ‘स्कोप’ छ । अध्ययनहरूले पनि व्यक्तिले अब प्रविधिसँग सम्बन्धित सीपहरू सिकेन भने भविष्य बनाउन कठिन हुने निष्कर्ष निकालेका छन् । त्यस्तै अहिले प्रत्येक सहर वा गाउँमा प्राविधिक शिक्षा पढ्नु पर्छ भन्ने मानसिकता बढेको पाइन्छ ।

पढ्ने सन्दर्भको कुरा गर्दा काठमाडौंको तुलनामा अन्य सहरका विद्यार्थीहरूमा झुकाव बढी देखिन्छ । किनकी काठमाडौंमा भन्दा त्यहाँ विद्यार्थीहरू कम हुन्छन् । तर काठमाडौंमा भएका सुविधाहरू भने ती ठाउँमा पनि छन् । आईएसएमटीले यो कुरामा सम्झौता गरेको छैन । यहीकारण ती स्थानमा रहेका विद्यार्थीहरू रोमाञ्चित हुँदै पढ्छन् । त्यस्तै काठमाडौंको कलेजभन्दा ती ठाउँमा रहेका कलेजहरू सुविधा सम्पन्न छन् ।

किनकी त्यहाँ खुला स्थान बढी छ र भौतिक पूर्वाधार राम्रो छ । यता काठमाडौंमा बढी जग्गा लिन सकिन्न । यसकारण काठमाडौंमा त्यो सम्भव छैन । पहिलो विकासको आधार भनेको शिक्षा हो । शिक्षा क्षेत्रमा केही गर्नु पर्छ भनेर नै हामी ती क्षेत्रमा फैलिएका हौं । र त्यहीअनुरुपको रुचि विद्यार्थीहरूमा हामीले पाइरहेका छौं ।

समस्या, चुनौती र उपलब्धि

सरकारी नीति नियममा काम चाँडो गर्ने व्यवस्था नहुँदा समस्या भइरहेको छ । फेरी हामीले नेपालको कर्मचारीतन्त्र र राजनीति बुझेका नै छौं । कर्मचारीहरू फेरिरहन्छन् । सरकार फेरिरहन्छ । स्थिरता नभएर समस्या भइरहेको छ । यसबाहेक त्यस्तो समस्याहरू त छैनन् । त‍र चुनौती भनेको हरेक दिन आउनु पर्छ भन्ने मान्यता राख्नुपर्छ ।

चुनौती भएन भने नयाँ खोज तथा विचार आउँदैन । आईएसएमटीको समूहले हरेक चुनौतीहरूलाई सामान्य तरिकाले लिने गर्छ । यसकारण जुनै खालका चुनौती वा समस्यालाई पनि समाधान गर्न हामी सक्षम छौं । प्राय: त्यस्ता चुनौतीहरूले नै हामीलाई केही नयाँ कुरा सिकाइरहेको हुन्छ ।

भविष्यमा थप काम गर्न पनि हौसाइरहेको हुन्छ । तर चुनौती यस्तो नहोस् कि, त्यसले काम गर्न हतोत्साहित गरोस् । अहिलेसम्म त्यस्ता ठूलो चुनौतीहरू आएका  छैनन् । भविष्यमा आउन सक्लान् । तर ती चुनौतीलाई आफ्नो शक्ति बनाउन आईएसएमटी तयार छ । 

यो बीचमा थुप्रै विद्यार्थीहरू उत्तीर्ण भइसकेका छन् । कोही उच्च शिक्षाका लागि विदेश गएका छन्, कोही यहाँ कै स्थानीय कम्पनीहरूमा कार्यरत छन् । कोही फ्रिल्यान्सर भएर काम गरिरहेका छन्, कोही आफैं कम्पनी स्थापना गरेर उद्यमी बनेका छन् ।

आईटी पढेका अधिकाँश विद्यार्थीहरू भने फ्रिल्यान्सिङ गरिरहेको पाउँछौं । उहाँहरूले नेपालमा नै बसेर विदेशी कम्पनीहरूका लागि काम गरिरहेका छन् । किनकी आईटीसम्बन्धी काम गर्न कुनै कार्यालय वा ठूलो पूर्वाधार पनि आवश्यक पर्दैन । एउटा ल्यापटप र इन्टरनेट भएर पुग्छ । यहीकारण हुन पर्छ, विद्यार्थीहरू बढी त्यता तिर जान्छन् ।

अहिले बङ्गलादेशमा धेरै फ्रिल्यान्सरहरू छन् । त्यसले बङ्गलादेशको आर्थिक स्तर उकास्न सहयोग मिलेको छ । पछिल्लो समय यो प्रवृत्ति नेपालमा पनि बढ्दो छ । मैले नै पोखरामा पढाउँदा त्यहाँका विद्यार्थीहरूले क्यानडा र अमेरिकी कम्पनीहरूमा काम गरेको देखेकी छु ।

प्राय: विद्यार्थीहरू कलेज उत्तीर्ण नहुँदैदेखि त्यसरी काम गर्दै पढ्ने गर्छन् । त्यसले उनीहरूलाई शैद्धान्तिकसँगै व्यवहारिक ज्ञान पनि दिने गर्छ । फेरी विद्यार्थीलाई रोजगारी दिन आईएसएमटीले लिपफ्रग, एफवन सफ्ट, भायानेट, सिप्रदी, होटल याक एन्ड यति लगायतका कम्पनीहरूसँग सहकार्य गरिरहेको छ । हामी उहाँहरूसँग मिलेर प्रत्येक कलेजमा वार्षिक दुई चोटी ‘जब फेयर’ गर्छौं ।

कतिपय विद्यार्थीहरू त्यही जब फेयरबाट जागिरमा लाग्छन् । कतिपयलाई कम्पनीले पछि बोलाउने गर्छ । शैक्षिक संस्थाहरूले जनशक्ति उत्पादन गर्ने र उद्योगले अन्यत्रबाटै जनशक्ति माग गर्ने गरेकाले एउटा खाडल देखिन्छ । हामी त्यो नहोस् भनेरै 'जब फेयर' गर्ने गर्छौं । विद्यार्थीलाई हाम्रै प्राङ्गणबाट कम्पनीहरूले नियुक्त गरुन् भनेर जब फेयर गरेका हौं । यसले उत्तीर्ण विद्यार्थीहरूलाई तत्कालै बजारसँग जोडिन सहयोग गर्छ ।

खासमा आईएसएमटीका लागि मार्केटिङको एउटा पक्ष तिनै उत्तीर्ण विद्यार्थीहरू पनि हुन् । उहाँहरूले पठाएका विद्यार्थीहरू आईएसएमटीमा निकै छन् । त्यो नियमित सहयोग पछिसम्म हुने गरेको छ । त्यसकारण उत्तीर्ण विद्यार्थीहरू हाम्रा लागि सम्पत्ति हुन् ।

उत्तीर्ण विद्यार्थीहरूसँग पनि नियमित सम्पर्कमा नै रहिरहेका हुन्छौं । उत्तीर्ण भइसकेका विद्यार्थी विद्यार्थीबीच पनि राम्रो सम्बन्ध भएको पाउँछौं । यसका लागि कलेज स्वयंले पनि विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गर्छ । त्यस्तै हामी ठूलो संस्था भएकाले यहाँ विभिन्न जागिर पनि खुलिरहेको हुन्छ । त्यसमा पनि हामीले हाम्रै विद्यार्थीहरूलाई प्राथमिकतामा राखेका छौं । 

आईएसएमटीमा शिक्षणको वातावरण 

सबैभन्दा सुरुमा त विद्यार्थीहरूको चाहना अनुसार विषयमा भर्ना लिने गरेकाले पढ्न विद्यार्थीहरू निकै उत्साहित हुन्छन् । यसका लागि कलेजले ‘स्टुडेन्ट केयर सेन्टर’ नै खोलेको छ । यो प्रत्येक कलेज शाखामा छन् । अझ म पोखरामा पढाउँदा प्रत्येक विद्यार्थीको परिवारलाई पनि चिन्थेँ ।

यसो हुँदा विद्यार्थीहरूलाई नजिकबाट चिन्ने मौका पाइन्थ्यो । मैले यो किन भनिरहेकी छु भने अब शिक्षक सहजकर्ता हुन् । शिक्षक देख्दा विद्यार्थी भाग्ने अवस्था गइसक्यो । यस्तो वातावरण भएपछि विद्यार्थीहरूले छिटै सिक्न सक्छन् ।

हाम्रो पाठ्यक्रममा ‘ह्यान्डस अन स्किल’ का विषयहरू धेरै छन् । यसकारण प्रयोगात्मक कक्षा बढी हुन्छन् । परियोजनामा आधारित रहेर विद्यार्थीले शिक्षा लिन्छन् । नियमित रुपमा उनीहरूको भेट उद्योगका मान्छेहरूसँग भइरहन्छ । त्यसले पनि उनीहरूलाई पढ्न, विषय सिक्न सहयोग गर्छ ।

हाम्रो शैक्षिक उद्देश्य विद्यार्थीले कुनै सीप सिकुन् भन्ने हो । हातमा सीप लिउन् भन्ने हो । त्यसका लागि हामी सकेजतिको गरिरहेका हुन्छौं । कोभिड महामारीपश्चात कक्षाकोठामा पढाएका कुराहरू समेत माइक्रोसफ्ट टिममा विद्यार्थीलाई शेयर गर्ने गरेका छौं । त्यसले विद्यार्थीहरूलाई घरमा गएर स्वअध्ययन गर्न पनि सहयोग गर्छ । 

काठमाडौंको आँखाले अन्य सहरमा आईटी विज्ञहरू, आईटी कम्पनीहरू नभएको देख्छ । तर त्यहाँ काठमाडौंको आँखाले देख्ने वातारण छैन । कम होलान् तर नभएको भन्ने छैन । यसकारण काठमाडौं बाहिरका ती कलेजहरूमा समेत विद्यार्थीहरूले काठमाडौं सरह नै शिक्षणको वातावरण पाउँछन् ।

आईटी पढ्न खोजिहेका विद्यार्थीलाई सुझाव 

अहिले विदेश जानलाई धेरै विद्यार्थीहरू लागि परेको देखिन्छ । तर के का लागि जाने, त्यो भने अन्यौल हुन्छ । विदेश जान्छु भन्ने मात्र उद्देश्य होइन । त्यहीकारण नेपाल ‘ब्रेनड्रेन’ हुने अवस्थामा छ । तर नेपालबाट दक्षभन्दा पनि दक्ष हुनसक्ने सम्भावना भएका मान्छेहरू विदेश गइरहेका छन् । दक्ष मान्छेहरू त यहाँ नेपालमा नै छन् । सम्भावना भएका मान्छेहरू गइरहेका हुन्, जुन राम्रो भने होइन ।

त्यसलाई केही हदसम्म भएपनि रोक्न आईएसएमटी जस्तो संस्थालाई हरेक ठाउँमा पुर्‍याउन पनि खोजेका छौं । हुन त यस्ता आईटी पढाउने कलेजहरू नेपालमा निकै छन् ।

हामी लुगा किन्ने बेलामा विभिन्न पसलमा गएर वा एउटै पसलमा पनि फरक फरक सामान हेरेर मात्र किन्छौं । शिक्षामा पनि विद्यार्थीहरूले त्यस्तै गर्नुपर्छ । हरेक कलेज बुझेर मात्र गर्नुपर्छ । भर्खर कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई कुन क्षेत्र तिर जाने भनेर अन्यौल हुन सक्छ । त्यस्तो हुँदा सुरुमा विद्यार्थीले आफ्नो रुचि हेर्नु पर्छ । यदि त्यो आफूलाई थाहा भएन भने आईएसएमटीले दिने जस्तो काउन्सिलिङ लिनुपर्छ ।

(आईएसएमटी पोखराकी पूर्वप्रमुख एवं आईएसएमटी काठमाडौंकी सिनियर लेक्चरर शिला पौडेलसँग गरिएकाे कुराकानीमा आधारित ।)

पछिल्लो अध्यावधिक: असोज ११, २०८० १७:४२