काठमाडौं । चाडपर्वको समयमा कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीहरूमाथि अनलाइन एवं फोनबाट उजुरी टिपाउन सकिने भएको छ । बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्ति, फर्मलाई कानुनबमोजिम कडा कारबाहीका लागि सूचना भएमा हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्री नम्बर ११३७ मा सूचना दिन सकिने छ ।
मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले विशेष प्रस्ताव गर्दै चाडबाडको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुहरुको कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यबृद्धि, कालोबजारी र अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन वस्तु विक्री वितरण गर्नेजस्ता अनुचित कार्य भए नगर्न नगराउन सम्पूर्ण उद्योगी, व्यवसायीहरुलाई ध्यानाकर्षण गराएको छ ।
उपभोग्य वस्तुको विक्री वितरणसँग सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर सुपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रहरुलाई थप सक्रिय र क्रियाशील बनाई बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउने सरकारकाे याेजना छ ।
त्यस्तै अस्वभाविक मूल्यबृद्धि र कालोबजारी नियन्त्रण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अस्वभाविक नाफाखोरी गर्ने र अस्वभाविक रुपमा मूल्य वृद्धि गरी कालोबजोरीमा संलग्न हुने जोकोहीलाई प्रचलित कानुनबमोजिम कडा कारवाही गर्ने र सोको प्रतिवेदन सर्वसाधारण सबैको जानकारी लागि दैनिक रुपमा सम्प्रेषित गर्न सरकारले सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ ।