close

आउँदो मंगलबार सामसङको अहिलेसम्मकै पातलो फोन ‘एस २५ एज’ आउँदै, केके होलान् फिचर ?

टेकपाना टेकपाना

बैशाख २५, २०८२ ६:४४

आउँदो मंगलबार सामसङको अहिलेसम्मकै पातलो फोन ‘एस २५ एज’ आउँदै, केके होलान् फिचर ?

काठमाडौँ । सामसङले आउँदो मंगलबार अर्थात् मे १३ मा ‘ग्यालेक्सी अनप्याक्ड’ कार्यक्रम गर्ने भएको छ । नेपाली समयअनुसार कार्यक्रम मंगलबार बिहान ५:४५ बजे हुनेछ । यसै अवसरमा कम्पनीले आफ्नो नयाँ ग्यालेक्सी एस२५ एज सार्वजनिक गर्नेछ । सामसङले यसलाई अहिलेसम्मकै पातलो फोन भनेर दाबी गरेको छ ।

कार्यक्रम भर्चुअल रूपमा सामसङ न्युजरुम, वेबसाइट र युट्युबमार्फत प्रत्यक्ष प्रसारण हुनेछ । यसअघि नै लिक भइसकेको यो मोडेल करिब ५.८५ मिलिमिटर पातलो हुने चर्चा छ ।

६.७ इन्चको क्यूएचडी एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट, स्न्यापड्रागन ८ एलिट चिपसेट, १२ जीबी र्‍याम र ५१२ जीबीसम्मको स्टोरेज यसमा उपलब्ध हुने अपेक्षा छ । यसमा २०० मेगापिक्सेलको वाइड लेन्ससहित डुअल क्यामेरा हुने कम्पनीले पुष्टि गरिसकेको छ ।

३,९०० एमएएच ब्याट्रीयुक्त फोनले आईपी६८ स्तरको वाटर र डस्ट रेसिस्टेन्स दिनेछ । मूल्यको बारेमा आधिकारिक जानकारी आउन बाँकी भए पनि यस मोडेलको मूल्य ग्यालेक्सी एस२५ अल्ट्रा सरह हुने अनुमान छ । लिक भएको क्यानेडियन मूल्यअनुसार यसको मूल्य १,२०० देखि १,३४० अमेरिकी डलरसम्म हुन सक्छ । 

एस २५ एज पातलो भएपनि उत्तिकै बलियो हुने र दैनिक प्रयोगका क्रममा हुने सामान्य किसिमका ठक्कर सहजै सहन सक्ने जनाइएको छ । मल्टिटास्किङ (एकै पटक धेरै एप र फिचर प्रयोग गर्न सकिने), गेमिङ र स्ट्रिमिङमा पनि फोनले उत्तिकै स्तरीय पर्फमेन्स दिने दाबी छ ।

यो मोडेल सामसङको पछिल्लो यूआई वन यूआई ७.० मा सञ्चालित हुनेछ भने यसमा ग्यालेक्सी एआई फिचर पनि हुनेछन् ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ ६:५७