close

पक्राउ परे अनलाइन बेटिङमार्फत २४ करोडको कारोबार गर्ने झापाका पिन्टु साह

टेकपाना टेकपाना

असोज १९, २०८० १७:१४

पक्राउ परे अनलाइन बेटिङमार्फत २४ करोडको कारोबार गर्ने झापाका पिन्टु साह

 

काठमाडौं । अवैध अनलाइन सट्टेबाजमा सक्रिय भई कराेडाैं कारोबार गर्ने एक युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुरोधमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सट्टेबाजीमा संलग्न दमक नगरपालिका वडा नं. १२ घर भएका ३० वर्षीय पिन्टु कुमार साहलाई बिहीवार पक्राउ गरेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार करिब छ महिना पहिले कार्यालयमा विभिन्न स्रोतबाट अवैध सट्टेबाजीको प्लेटफर्ममा सक्रिय भई कारोबार भइरहेको भन्ने सूचना आएको थियो ।

“हामीलाई सूचना आएपछि करिब छ महिनासम्म अनुसन्धान गरेर प्रमाण सङ्कलन गरी पक्राउ गरेका हाैं,” रेग्मीले टेकपानासँग भने ।

रेग्मीका अनुसार साहले इन्टरनेटको दुरुपयोग गरी वनएक्स बेट, मेलबेट, ३८८८, रुपी बेट, स्काई चेन्ज, ब्याल्ली बेट, खेल विन, इन्डो २४ बेट, केएनजीईएम ८८ जस्ता बेटिङ प्लेटफर्म प्रयोग गर्थे । उनले यूआरएल इन्टरनेट, इन्ट्रानेट, भीपीएनको पब्लिक, स्टाटिक, डाइनामिक आईपी एड्रेसबाट सञ्चालन गरी विभिन्न व्यक्तिहरू (सहभागी)लाई अनलाइन अकाउन्ट बनाएर उपलब्ध गराउँथे । 

सहभागीलाई विभिन्न बैंक खाताहरूमा रकम जम्मा गर्न लगाई साहले अनलाइन जुवा, सट्टेबाजी जस्ता अनलाइन गेम खेली गैरकानूनी रूपमा २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको कारोबार गरेको पाइएकाे प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज १९, २०८० १७:१४