close

टेलिकमकाे चाडबाड अफर, फाइबर इन्टरनेटको स्पिड निःशुल्क २५० प्रतिशतले बढाइदिने

टेकपाना टेकपाना

असोज २३, २०८० १३:९

टेलिकमकाे चाडबाड अफर, फाइबर इन्टरनेटको स्पिड निःशुल्क २५० प्रतिशतले बढाइदिने

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले दशैं तिहारको उपलक्ष्यमा एफटीटीएच प्रविधिमा आधारित सेवामा 'प्रोमोसनल अफर' ल्याएको छ ।

बिहीवारदेखि सुरु हुने उक्त अफर अन्तर्गत एनटी फाइबर सेवाको प्याकेजमा कम्पनीले हाल उपलब्ध गराउँदै आएको स्पीडमा २५० प्रतिशतले ब्यान्डविथ बढाउने भएकाे छ । यसअन्तर्गत एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिने टेलिकमले जनाएको छ ।  

यस अफरमा हाल १० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका सेवाग्राहीले सोही मूल्यमै २५ एमबीपीएस पाउनेछन् । त्यस्तै २० वा ३० एमबीपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमबीपीएसको सेवा प्रयोग गर्न सक्नेछन् ।

त्यसैगरी ४० एमबीपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकले सोही मूल्यमा १०० एमबीपीएसको सेवा पाउनेछन् । टेलिकमका अनुसार हाल ८० एमबीपीएस सेवा लिइरहेका सेवाग्राहीलाई पनि पुरानै दरमा १५० एमबीपीएस गतिको सेवा उपलब्ध हुनेछ ।

यसका साथै हाल उपलब्ध हुँदै आएको फेयर युजेज पोलिसी लिमिटलाई समेत बढोत्तरी गरिएको टेलिकमले जनाएको छ । यसका साथै हाल ३० एमबीपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिँदा दैनिक ३०० एमबी डेटा सेवाको सुविधा पनि उपलब्ध हुनेछ ।

यो सेवा उपयोग गर्नका लागि एनटी फाइबर सेवा लिँदा उपलब्ध गराइएको टेलिकमको मोबाइल नम्बरबाट *१४१६# डायल गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २३, २०८० १३:९