close

राजु नेपालको ईभी अनुभव- ‘दुई कप कफीको पैसाले १५ दिन गाडी चलाउँछु’

राजु नेपाल

कात्तिक १३, २०८० १२:५

राजु नेपालको ईभी अनुभव- ‘दुई कप कफीको पैसाले १५ दिन गाडी चलाउँछु’

घरमा टाटाको नेक्सन म्याक्स र टियागो गरी दुई ओटा बिजुली गाडी छन् । यी गाडी किन्नुअघि टाटाकै नेक्सन प्राइम करिब दुई वर्ष कुदाएको थिएँ । बजारमा म्याक्स आएपछि ४० लाख रुपैयाँमा किनेको प्राइमलाई सेकेन्ड ह्यान्डमा राम्रै मूल्यमा बेचेँ । अनि हालै मात्र नेक्सन म्याक्समा अपग्रेड गरेको हुँ । 

सिनेमा हेर्न जाँदा, रेष्टुराँ जाँदा वा अन्य वस्तुमा पैसा खर्च गर्दा ‘भ्यालु फर मनी’ हुनुपर्छ भन्ने मेरो मान्यता छ । त्यो हिसाबमा यो गाडी ‘भ्यालु फर मनी’ छ । कुदाउँदा निकै राम्रो अनुभव पाइन्छ ।

बजारमा सबैभन्दा बढी रेञ्ज दिने भनेर नेक्सन म्याक्सको चर्चा गरिएको छ । मेरो विचारमा रेञ्ज बाहेक अन्य धेरै कुरा राम्रो भएको कारण गाडीलाई म्याक्स भनिएको हो । जस्तो; सिटमा कुलिङ सिस्टम छ, जुन प्राइममा थिएन ।​

ड्राइभिङ मोड फरक-फरक खालका छन् । प्राइममा स्पोर्ट्स र नर्मल थियो भने यसमा सिटी, स्पोर्ट्स र इको गरी तीन मोड छन् । यसमा पार्किङ मोड छ, जुन प्राइममा थिएन । पार्किङ मोडमा राख्नासाथ आफैं ह्यान्ड ब्रेक लाग्छ । छुट्टै ह्यान्ड ब्रेक लगाउनु पर्दैन ।

वायरलेस मोबाइल चार्जिङ छ । यी बाहेक अन्य धेरै फिचर छन्, जुन प्राइममा थिएन । 

मैले एक वर्ष १० महिनामा प्राइमलाई २४ हजार किलोमिटर कुदाएको छु । कार्यालयमा भएको बीआईडी ई-सिक्स र अहिले आएको टियागो पनि कुदाएको छु । त्यसले गर्दा किन यसलाई ‘म्याक्स’ भनियो भनेर फरक थाहा पाएको छु । तर धेरैले म्याक्सले कति रेञ्ज दिन्छ भनेर साझा प्रश्न सोध्ने गर्छन् ।

सामान्यत: बिजुली गाडीको परीक्षण गर्दा आएको रेञ्ज (कम्पनीले भन्ने रेञ्ज) को ७० प्रतिशतलाई आफ्नो रेञ्ज मान्नुपर्छ । त्यो पनि पनि एसी बन्द गरेर, नर्मल मोडमा चलाएर हो । एसी चलाउँदा, अप्ठ्यारो बाटोमा चलाउँदा, एक्सिलेरेटर, चलाइरहँदा रेञ्ज अझै घट्छ । टाटा कम्पनीका इन्जिनियरले भने एसी चलाउँदा ७-८ प्रतिशत रेञ्ज घट्छ भनेका छन् ।

मैले भने टाटाका गाडीमा १० प्रतिशतले रेञ्ज घटेको पाएको छु । मेरोमा २५० किलोमिटर दूरी पार गर्दा २०/३० प्रतिशत ब्याट्री अझैं बाँकी हुन्छ । अनि म चार्ज गर्छु ।

अहिले मलाई दुई कप अमेरिकानो कफीको खर्चले १५ दिन गाडी कुदाउन पुग्छ ।

खासमा धेरैले बिजुली गाडी भविष्य हो भन्छन् । तर भविष्य नभएर वर्तमान हो । केही वर्ष अघिसम्म बिजुली गाडीका रेञ्ज निकै कम थिए । अहिले त्यस्तो छैन । 

नेपालमा ४० देखि ६० लाख रुपैयाँसम्मका बिजुली गाडी बढी बिक्री भइरहेका छन् । यसपालीको नाडा अटो शाेमा करिब १५ लाखदेखि करोडसम्मका बिजुली गाडी देखिए ।

यात्रामा धेरै निस्कनुपर्ने, हतारमा निस्कनुपर्ने व्यक्तिहरूले पेट्रोल/डिजेल गाडी किन्ने गर्छन् । तर हतारमा ईभी लिएर जान सकिँदैन । मन लागेको ठाउँमा बस्दै हिँड्न पाइँदैन । जसरी चार्जिङ स्टेसनहरू आक्रामक रुपमा थपिँदै छन्, त्यसले भविष्यमा बिजुली गाडी मालिकलाई तनाव लिइरहनु पर्ने छैन । यसकारण टाटाले सुधार्नु पर्ने पक्ष चार्जिङ स्टेसन थप्नु नै हो । 

काठमाडौं लगायतका प्रमुख सहरमा टाटाको चार्जिङ स्टेसन पर्याप्त छैनन् । काठमाडौंको बालकुमारीमा ट्याक्सीलाई लक्षित गरेर एउटा चार्जिङ स्टेसन बनाइएको छ । अनि अर्को धोबीघाटमा । तर यसबाट काठमाडौंमा तीन हजार टाटाको बिजुली गाडी गुड्न सम्भव छैन ।

प्राय: टाटाको कुनै पनि चार्जिङ स्टेसनमा जाँदा चार ओटा गाडी अगाडि हुन्छन् । चार ओटा गाडी भनेको ४५ मिनेटका दरले पनि तीन घण्टा पर्खनु हो । एउटा गाडी मालिकलाई त्यत्रो समय कुर्नसक्ने क्षमता सायदै हुन्छ । यसकारण टाटाले कम्तीमा पनि काठमाडौं उपत्यकाका फरक-फरक ठाउँमा २० ओटा नोजल थप्नु पर्छ । 

गाडी सर्भिसिङमा कुनै समस्या छैन । सर्भिसिङको सूचना गाडीमा नै देखिन्छ । कतिपय अवस्थामा शोरुमबाटै कल आउँछ । तर अर्को समस्या भनेको चार्जिङ स्टेसनमा शुल्क तिर्नु हो । अहिले शुल्क तिर्न टाटाको एप प्रयोग गर्नैपर्ने बाध्यात्मक अवस्था छ । टाटाले त्यसलाई सरल बनाउनु पर्छ । शुल्क तिर्न विभिन्न विकल्प दिनुपर्छ ।

विद्युत प्राधिकरणले बरु खल्ती लगायतका मोबाइल वालेटसँग सहकार्य गरिसकेको छ । चार्जिङ स्टेसन राखेँ भनेर एउटा मात्र नोजल राखेर झारा टारेर हुँदैन । कुनै पनि चार्जिङ स्टेसनमा कम्तीमा तीन ओटा नोजल राख्नु पर्छ । अनि टाटाले आफ्नो कार्यालयमा भन्दा पनि होटल, पार्किङ स्थल जस्ता ठाउँमा राख्नु पर्छ । यसाे गर्दा चार्ज गर्दै टहलाउने वातावरण गाडी मालिकले पाउँछन् । 

यी बाहेक नेक्सन म्याक्समा मैले त्यस्तो समस्या भोग्‍नु परेको छैन ।

रेञ्ज बाहेक सोधिने अर्को साझा प्रश्न चार्ज गर्न लाग्ने समय हो । मलाई २.३ एम्पियरको चार्जरले ३० प्रतिशतबाट १०० पुर्‍याउन १३/१४ घण्टा लाग्छ । ७.२ एम्पियरको चार्जरबाट भने करिब सात घण्टा लाग्छ ।

धेरैको घरमा ३२ एम्पियरको मिटर हुँदैन । यदि बिजुली गाडी किनेर घरमा चार्ज गर्ने हो भने १६ एम्पियरको मिटरले काम गर्दैन । चार्जर मात्र ठूलो भएर भएन, मिटर पनि ठूलो पनि हुन पर्छ । बिजुली गाडी किन्ने हो भने ३२ एम्पियरको मिटर बनाइहाल्नु पर्छ । यो काम केही दिन भित्रमै गर्न सकिन्छ । 

मैले अहिलेसम्म गाडीको स्पेयर पार्ट किन्नुपरेको छैन । कम्पनी आफैंले केही स्पेयर पार्ट्स दिएकाे छ ।

पछिल्लो समय बजारमा धेरै बिजुली गाडी देखिन थालेका छन्, यो रमाइलो कुरा हो ।

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८० १२:२९