close

बजेट फोन किन्न चाहनेका लागि यस्ता छन् विकल्प

उष्मा अधिकारी

कात्तिक १८, २०८० ९:५३

बजेट फोन किन्न चाहनेका लागि यस्ता छन् विकल्प

काठमाडौं । स्मार्टफोनका दर्जन बढी ब्राण्ड नेपाली बजारमा स्थापित छन् । तिनका सयौं मोडलका नयाँ फोन हरेक वर्ष सार्वजनिक हुन्छन् । जसको मूल्य केही हजारदेखि तीन लाखभन्दा माथिसम्मका छन् ।

महँगो फोनको चर्चा व्यापक हुन्छ, तर व्यापार भने बजेट फोनहरूकै बढी भइरहेको हुन्छ । त्यसैले १५ देखि ३० हजार मूल्यका फोनहरूमा ब्राण्डहरूको बढी प्रतिस्पर्धा देखिन्छ । र्‍याम, स्टोरेज उस्तै उस्तै भएपनि कुनै फोनको क्यामेरा राम्रो हुन्छ भने कुनै फोनमा डिस्प्ले र स्क्रिन क्वालिटी राम्रो हुन्छ ।

कुनैको लुक्स राम्रो हुन्छ, तर पर्फर्मेन्स भनेजस्तो हुँदैन।  त्यसैले यो लेखमा हामी नेपालमा चर्चित स्मार्टफोन ब्राण्डका २० देखि ३० हजारसम्ममा आउने फोनको विशेषताबारे चर्चा गर्दै छौं:

कुरा सुरु गरौं, सामसङबाट । सामसङका सस्तोदेखि महँगो प्रिमियम फोनसम्म नेपाली बजारमा उपलब्ध छन् । २० हजारदेखि ३० हजारको रेन्जसम्म पनि पाँचवटा मोडल छन्। ग्यालेक्सी ए जिरो फोर एस, एम फोट्टिन, ए ट्वान्टी थ्री, ए फोट्टिन र ए ट्वान्टी फोर ।

झट्‍ट हेर्दा ग्यालेक्सी ए जिरो फोर एस, ए फोट्टिन र ए ट्वान्टी फोर उस्ता उस्तै देखिन्छन् । तर यी मध्ये ए ट्वान्टी सबैभन्दा पछिल्लो र अपडेटेड ‍फोन हो । फोनमा धेरै भिडिओ हेर्नेहरुका लागि ए ट्वान्टी उपयुक्त हुन्छ । किनकी यसमा सुपर ओमेलेड डिस्प्ले छ । जसको उच्चतम ब्राइटनेश एक हजार नेट्स छ ।

हेर्दा उस्तै अनि सस्तो पनि छ भनेर ए जिरो फोर एस वा ए फोट्टिन किन्नुभयो भने डिस्प्ले क्वालिटी यसको जस्तो स्तरीय पाउनुहुन्न । तर सामसङका बजेट फोनलाई चार्ज गर्न भने अन्यको दाँजोमा बढी नै समय लाग्छ । किनकी चार्जिङ क्षमता नै कम दिइएको हुन्छ ।

ए जिरो फोर एस र ए फोट्टिन मा १५ वाटको चार्जिङ सपोर्ट छ भने ए ट्वान्टी फोर मा २५ वाटको दिइएको छ । क्यामेरा क्वालिटीको हिसाबले पनि बजेट अनुसार यसमा राम्रो पाउन सकिन्छ । सामसङको फोटो प्रोसेसिङ राम्रो भएकाले फोटो खिचेर पछि हेर्दा निकै नै स्तरीय देखिन्छ ।

मेगापिक्सेलको पछि कुद्नेहरूका लागि ए ट्वान्टीमा भएको ५० मेगापिक्सेलको मुख्य क्यामेरा कम लाग्न सक्छ । यद्यपि, यसको नतिजा भने स्तरीय पाइन्छ । किनकी यो फोनको क्यामेरामा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) पनि छ । जुन यो रेञ्जका अन्य फोनमा सितिमिति पाइँदैन । ओआईएसले फोटो मात्र होइन भिडिओ पनि स्तरीय खिच्‍न सकिन्छ । 

डिस्प्ले, क्यामेरा, ब्याट्री ब्याकअप, अपरेटिङ सिस्टममा खासै सम्झौता नगर्ने सामसङले चिपसेट भने यही बजेटका स्मार्टफोनको दाँजोमा केही पुरानो उपलब्ध गराइरहेको हुन्छ । ए ट्वान्टी फोरमा मिडिया टेक हिलियो जी ९९ चिपसेट छ, जुन २० हजार पर्ने पोको एम फाइभमा राखिएको चिपसेट हो ।

तर खुसीको कुरा यो फोन ६ र ८ जीबी र्‍याम भेरियन्टमा पाइन्छ । जसबाट केही समय पब्जीजस्तो हेभी गेम खेल्छु भन्दा पनि मजाले चल्छ । मल्टिटास्किङमा पनि खासै समस्या हुँदैन । तर तुलनात्मक रूपमा हेर्दा यो भन्दा अझै शक्तिशाली चिपसेट भएको भए राम्रो हुन्थ्यो ।

त्यति हुँदा हुँदै पनि अर्को महत्वपूर्ण कुरा सामसङले यो फोनको अपरेटिङ सिस्टम चार वर्षसम्म अपग्रेड ‍गरिदिन्छ । भन्नुको मतलब यो फोन किनेपछि चार वर्षसम्म एन्ड्रोइड ओएसका हरेक फिचर मजासँगले चलाउन सकिन्छ । यस्तो सुविधा अन्य फोनहरूमा खासै पाइँदैन ।

समग्रमा भन्दा ठिकठाक पर्फमेन्स, स्टेबल क्यामरा, स्तरीय डिस्प्ले, टिकाउ ब्याट्री भएको २९ हजार रुपैयाँ सुरुवाती मूल्य भएको फोन हो सामसङ ए ट्वान्टी फोर । यसको मुख्य विशेषता भनेको क्यामेरामा ओआईएस र चार वर्षको अपेरेटिङ सिस्टम अपग्रेडको सुविधा हो ।

दुवै भेरियन्टमा १२८ जीबी नै स्टोरेज भएकाले खासै हेभी गेममा रुची छैन भने ६ जीबी र्‍याम भएको फोन किन्दा पनि उचित हुन्छ । चार/पाँच वर्ष ढुक्कले एउटै फोन चलाउँछु भन्ने प्रयोगकर्ताका लागि यो फोन उपयुक्त हुन सक्छ ।

यो बजेट रेञ्जमा पाइने अर्को फोन हो, साओमीको रेड्मी नोट १२ । यो फोन पनि ६ र ८ जीबी दुवै भेरियन्टमा आउँछ । स्टोरेज धेरै चाहिएको छ भने २५६ जीबी भएको फोन पनि किन्न सकिन्छ । जसको मूल्य २६ हजार ५०० रुपैयाँ पर्न आउँछ ।

सामसङ ए ट्वान्टीफोर भन्दा धेरै अघि बजारमा आएपनि नोट १२ को डिस्प्ले क्वालिटी अझै राम्रो छ । स्क्रिनको उच्चतम ब्राइटनेश यो फोनमा १२०० निट्सको छ । स्क्रिन रिफ्रेस रेट ए ट्वान्टी फोरमा ९० थियो भने यसमा १२० हर्जसम्मको पाइन्छ । जसले गर्दा मोबाइल चलाउँदा यो अझै राम्ररी चलेको लाग्छ ।

यो फोनमा स्नापड्रागन ४ जेन १ प्रोसेसर छ जुन ए ट्वान्टीमा भएको जी ९९ भन्दा खासै फरक छैन । तर समग्र र्‍याङ्किङ हेर्दा नोट १२ कै प्रोसेसर क्षमतावान् देखिन्छ । क्यामेराको मेगापिक्सेल लगभग उस्तै नै छ । एउटा अल्ट्रावाइड लेन्स चाहिँ यसमा ८ मेगापिक्सेलको दिइएको छ जुन सामसङको भन्दा बढी हो । तर यो फोनको क्यामेरामा ओआईएस भने छैन।

स्तरीय क्यामेराका लागि हो भने थोरै महँगो भएपनि ए ट्वान्टी फोर नै राम्रो हुन्छ । तर चार्जिङ क्षमताको हिसाबले चाहिँ रेड्मी नोट १२ फोन धेरै नै अब्बल छ । यसमा ब्याट्री क्षमता ५ हजार एमएएचको भएपनि ३३ वाटको फास्ट चार्जिङ छ ।

समग्रमा भन्दा फुल एचडी डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट, १२०० निट्सको ब्राइटनेशले गर्दा फोनमा भिडिओ हेरेर बस्नेका लागि भन्दा धेरै भन्दा धेरै फोन चलाइरहनेका लागि नोट १२ उपयुक्त छ । 

ठ्याक्कै ३० हजारमा रियलमी ब्राण्डको रियलमी १० मोबाइल नेपालमा उपलब्ध छ । यसको डिस्प्ले क्वालिटी सामसङ ए ट्वान्टीसँग मिल्छ । प्रोसेसर पनि एउटै छ । मुख्य क्यामेराको मेगापिक्सल हेर्ने हो भने पनि उस्तै छ । तर ओआईएस भने यो फोनमा पनि दिइएको छैन । सेल्फी पारखी हुनुहुन्छ भने चाहिँ ए ट्वान्टी फोर, रेड्मी नोट १२ भन्दा यसमा बढी अर्थात् १६ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

ब्याट्री क्षमता र चार्जिङ क्यापासिटी भने नोट १२ को जस्तै छ । मूल्य बढी भए पनि सेल्फी क्यामेराबाहेक रेयलमी १० मा थप कुरा केहि पनि पाइदैन । समग्रमा हेर्दा क्यामेरामा सामसङ ग्यालेक्सी ए ट्वान्टी अब्बल देखिन्छ भने डिस्प्ले क्वालिटीमा रेड्मी नोट १२ अब्बल देखिन्छ ।

अन्य कुरा कतिपय विशेषतामा धेरै समानता पाउन सकिन्छ तर मूल्य थोरै महँगो छ । त्यसैले लुक्स र सेल्फी क्यामेराका लागि बढी पैसा हाल्ने कि नहाल्ने ? यो फोन खरिद गर्न अगाडि सोच्नु पर्ने प्रश्न हो ।

लगभग माथि चर्चा गरिएका फोनमाजस्तै विशेषता भएको अर्को फोन इन्फिनिक्स नोट १२ पनि हो । यसको ६ जी र्‍याम र १२८ जीबी स्टोरेज क्षमता भएको भेरियन्टको मूल्य २५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यसका धेरै कुरा रियलमी १० सँग मिले पनि र्‍याम र प्रोसेसर भने अलि कमको पाउन सकिन्छ । तर रेड्मी नोट १२ वा सामसङ ए ट्वान्टी फोरसँग दाँज्ने हो भने सेल्फी क्यामेराबाहेक तुलना गर्न लायक अन्य कुराहरू खासै छैनन् । प्रोसेसर पनि जी८८ छ, जुन जी ९९ भन्दा कमजोर नै हो । 

सन् २०२३ मा सार्वजनिक भएका अनर एक्स एट ए, नाइन्टी लाइट, भिभो वाई ३६० पनि २० देखि ३० हजार रुपैयाँभित्र आउने फोनहरु हुन् । यी सबैमा ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज छ ।

अनरका दुवै मोडललाई ३० हजारभन्दा थोरै बढी मूल्य पर्न आउँछ । अनर एक्स एट ए किन्दा होस् वा नाइन्टी लाइछ, मुख्य क्यामेरा चाहिँ १०० मेगापिक्सेलको पाइन्छ । पाँच मेगापिक्सेलको अल्ट्रावाइड र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा यी दुवै फोनमा दिइएको छ । तर लुक्स वा विशेषताका आधारमा हेर्दा एक्स एट एलाई ३० हजार ४९० रुपैयाँ हाल्नु भन्दा नाइन्टी लाइटलाई ३१ हजार ९९० रुपैयाँ हाल्नु धेरै नै फाइदाजनक देखिन्छ ।

किनकी नाइन्टी लाइट अझै नयाँ र भिन्न लुक्स ‍भएको फोन हो । क्यामेरा र स्टोरेजबाहेक माथि चर्चा गरिएका फोनसँग दाँज्न मिल्ने खास कुरा यसमा भेटिँदैन । नाइन्टी लाइटमा डाइमेन्सिटी ६०२० प्रोसेसर छ, जसको रेटिङ रियलमी १० वा सामसङको ए ट्वान्टी फोरभन्दा भन्दा खासै फरक छैन । त्यस्तै यसमा आईपीएस एलसीडी छ, जुन ओमेलेड वा सुपर ओमेलेड भन्दा  कमसल हो । ब्याट्री क्षमतामा पनि अनर नाइन्टी लाइट पछि नै छ । यसमा ४५०० एमएचए क्षमताको ब्याट्री छ ।

यसअघि चर्चा गरिएका सबै फोनमा ५ हजार एमएचएच क्षमताको ब्याट्री छ । स्टोरेज भने यसमा २५६ जीबी पाउन सकिन्छ । समग्रमा भन्दा फोटो राम्रो खिचोस् भन्ने चाहनुहुन्छ र स्टोरेज पनि बढी नै खोज्नुहुन्छ भने माथिका सबै फोन छाडेर यो फोन लिँदा पछुतो भने हुँदैन ।

आकर्षक लुक्स, दुई गुणा स्टोरेज क्षमता, १०० मेगापिक्सेलको मुख्य क्यामेरा, १६ मेगापिक्सेलको सेल्फी क्यामेरा भए अनुसार मूल्य पनि यसको बढी नै छ । तर अन्य विशेषतामा भने यो फोन अन्यभन्दा कमजोर देखिन्छ । 

भिभो वाई ३६ मा पनि ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज छ । यसमा ५ हजार एमएचएच क्षमताकै ब्याट्री छ । साथमा यो रेञ्जमा सबैभन्दा धेरै फास्ट चार्जिङ यही फोनमा दिइएको छ । यो फोनको मूल्य नेपाली बजारमा २८ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । यसको अब्बल पक्ष फास्ट चार्जिङ र स्टोरेज हुन् ।

मुख्य क्यामेरा ५० मेगापिक्सेल भएको यो फोनमा अल्ट्रावाइड क्यामेराको समेत कमी छ । सेल्फी क्यामेरा भने यसमा १६ मेगापिक्सेलको छ । प्रोसेसर र डिस्प्ले क्वालिटीमा यो फोन अरूभन्दा पछि परे पनि यसको लुक्सले कतिपयलाई तान्न सक्छ । समग्रमा भन्दा फोनलाई धेरै समय चार्जमा राखेर बस्न नरुचाउने र धेरै स्टोरेज खोज्नेहरूलाई यो फोन उपयुक्त हुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०८० १०:६