close

टाटा टियागो मालिकको अनुभव- ‘हिल असिस्ट नहुँदा जाम परेको समयमा केही अप्ठ्यारो हुन्छ’*

अभिषेक नेपाल

कात्तिक १८, २०८० ११:४४

टाटा टियागो मालिकको अनुभव- ‘हिल असिस्ट नहुँदा जाम परेको समयमा केही अप्ठ्यारो हुन्छ’*

म टाटा ब्रान्डको इमान्दार ग्राहक । बिक्री पछिको सेवा, स्पेयर पार्ट्सको सहज उपलब्धता, सेकेन्ड ह्यान्ड बजारमा बिक्री गर्दा राम्रो रकम पाउने अवस्था । यी कुराहरू मैले टाटा मन पराउनुका केही कारण हुन् । केही अगाडिसम्म घरमा टाटाको नेक्सन प्राइम थियो । अहिले त्यसलाई बिक्री गरेर पुन: टाटा टियागो किनेको छु । मैले टियागो किनेको एक महिनामात्र भएको छ । तर एक हजार किलोमिटर बढी कुदाइसकेको छु । 

खासमा मलाई सानो आकारको गाडी चाहिरहेको थियो । मेरो विचारमा काठमाडौंको आवश्यकता ‘ह्याचब्याक’ हो । यति भए यहाँ दैनिक कामका लागि आवतजावत गर्न पर्याप्त हुन्छ । सोही कार‍ण मैले टियागो किन्ने निर्णय गरेकाे हुँ । अर्को कारण यसको ‘साँचो’ पनि हो । टाढैबाट गाडी स्टार्ट गर्ने र बुटस्पेस रिलिज गर्ने जस्ता काम साँचोबाट सजिलैसँग गर्न सकिन्छ । 

अहिले म गाडीबाट दैनिक ३० किलोमिटर कुदिरहेको हुन्छु । नयाँ गाडी भएकाले यो ठाउँमा जान्छु, यो ठाउँमा जादिनँ भन्ने हुँदैन । मलाई चाहिने फिचरहरू गाडीमा पर्याप्त छन् । यी सबैको आधारमा जुन मूल्यमा मैले यो गाडी खरिद गरेँ, त्यो न्यायोचित हो जस्तो लाग्छ ।

कम्पनीले यस गाडीको ग्राउन्ड क्लियरेन्स १७० मिलिमिटर बताएको छ । मैले कुदाउँदा अहिलेसम्म भुइँ छोएको छैन । तर काठमाडौंका केही बाटामा चलाउँदा भने भुइँ छुन्छ कि भन्ने डर कता कता लाग्छ । कुनै गाडीमा बढी सामान राख्दा भुइँ छुन खोजे अनुभव हुन्छ । तर बुट स्पेसमा पूरै सामान राखेर परिवारसँगै म केही यात्रामा निस्केको छु । ती कुनैमा गाडीले भुइँ छोएको वा रेञ्ज कम भएको भन्ने लागेन ।

तर राजमार्गमा बिजुली गाडी कुदाउँदा चार्जिङ स्टेसनमा कुरेर फुल चार्ज गर्न भने नसकिने रहेछ । जहाँ खाली र सजिलो छ, त्यहाँ पसेर अलिकति भए पनि चार्ज गरिहाल्नु पर्ने रहेछ । एक पटक हेटौंडामा विद्युत प्राधिकरणको चार्जिङ स्टेसन छिरेको थिएँ । त्यहाँ एकदमै भिड थियो । कुरेर चार्ज गर्न सकिने अवस्था थिएन । अर्को स्टेसन जानुको विकल्प थिएन । सिमरामा भने उस्तो भिड थिएन । हामीले चार्ज गर्दा गर्दै भिड भइसकेको थियो । यसले जति गाडी बिक्री भएका छन्, त्यसका आधारमा पर्याप्त चार्जिङ स्टेसन छैन भन्ने पुष्टि गर्छ ।

काठमाडौंमा हुँदा टाटाको चार्जिङ स्टेसन वा घरमा नै चार्ज गर्छु । घरमा ७.२ किलोवाटको चार्जर इन्स्टल गरेका छौं । शाेरुममा मान्छे नै आएर उक्त चार्जर इन्स्टल गरिदिएका थिए । घरमा चार्ज गर्दा म त ओभरनाइट चार्जिङ गर्छु । कतिमा चार्ज गर्ने भन्ने मेरो कुनै ठेगान छैन । प्राय: चार/पाँच दिनको फरकमा एक पटक फुल चार्ज गर्ने गरेको छु । तर एउटा यस्तो समय आउने रहेछ, गाडीलाई चार्ज गर्नु भनेको फोन चार्ज गर्नु जस्तो हुने रहेछ । अहिले मलाई त्यस्तै लाग्छ ।

अवश्य पनि गाडीमा केही कमजोरी छन् । जस्तो: हिल असिस्ट नहुँदा जाम परेको समयमा केही अप्ठ्याराे हुन्छ । किनकी अटो भेहिकल होल्डले गर्दा ब्रेक नहाल्दा पनि गाडी सर्दैन । अन्य गाडी चलाउँदा त्यस्तो बानी भएर होला यो गाडी चलाउँदा त्यसको अभाव खड्किन्छ । त्यस्तै यो गाडीको बिल्ट क्वालिटी पनि राम्रो छैन । अलि अप्ठ्यारो बाटोमा ड्याशबोर्ड लगायत अन्य कुराहरू हल्लिएको सजिलै थाहा पाइन्छ । कुदाउन हलुका भए पनि ढोका, बुटस्पेस अलि मजाले लाग्दैन ।

गाडीको इन्टेरियरकाे कुरा गर्दा पूरै सेतो छ । त्यसो हुँदा गाडी छिटै फोहोर हुन सक्छ ।  त्यस्तै हरेक पटक गाडी ‘अन’ गर्दा रिजेनको लेभल प्रत्येक पटक मिलाउनु पर्छ । त्यसलाई अटोमेटेड बनाइदिएको भए सजिलो हुन्थ्यो । साथै एसी भने अटोमेटेड मोडमा चलाउन सकिँदैन । त्यसलाई अटोमेटेड बनाइदिए काइदा हुने थियो । 

मैले अन्य बिजुली गाडी पनि गुडाएको छु । यसकारण गाडी सुरक्षित छ/छैन भन्ने कुरा ड्राइभरले कति सुरक्षित तरिकाले कुदाउँछ भन्ने कुरामा पनि भर पर्छ जस्तो मलाई लाग्छ । यदि राजमार्गमा चलाइरहने भए सायद गाडी सुरक्षित छ/छैन भनेर कुरा गर्न सकिन्थ्यो होला । तर काठमाडौंमा ३०/३५ प्रतिघण्टाको गतिमा कुदाउने हुँदा यस विषयमा म बताउनै सक्दिनँ । मैले प्राइम चलाउँदा एयर ब्याग कहिले खुलेन । म गाडी चलाइरहँदा स्क्रिन खासै चलाउँदिन । किनभने स्टेरिङमा नै गीत परिवर्तन गर्ने, म्युट गर्ने, फोन उठाउने र राख्ने विकल्प छन् । 

गाडीको मूल्य अनुसार फिचर धेरै छन् जस्तो लाग्छ । अटोमेटिक वाइपर, अटोमेटिक  हेडलाइट त नभइ नहुने फिचर नै भइसके । राति पानी परिरहेको बेला गाडी चलाउँदा त्यो बेला एउटा काम गाडीले गरिरहेको जस्तो लाग्छ । त्यस्तै यसको हेडलाइटले पनि निकै क्षेत्रफल समेट्छ । तर पानी परिरहेको बेला गाडी कुदाउँदा भने टिनको छानामुनि बसे जस्तै लाग्‍ने रहेछ । त्यस्तै झ्यालहरू बन्द गरे पनि बाहिरको ठूलो आवाज भित्र पूरै सुनिन्छ । यसको अर्थ गाडीको इन्सुलेसन राम्रो छैन भन्ने हो ।

अहिलेसम्म यो गाडीबाट मैले सफ्टवेयर तथा हार्डवेयर सम्बन्धी कुनै समस्या भोगेको छैन । यदि समस्या नै आएपनि टाटाको आफ्टर सेल्सको अनुभव भएका कारण त्यो समाधान हुन्छ भन्ने मलाई विश्वास छ । जम्मा २७ लाख ९९ हजार रुपैयाँ रकम हालेको गाडीलाई सबैको कुराका आधारमा अङ्क दिँदा १० मा ८ दिन्छु ।

*शीर्षक परिवर्तन गरिएकाे छ । सं.

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८० १८:५३