close

अब ह्वाट्सएपमा पनि विज्ञापन आउने

टेकपाना टेकपाना

कात्तिक २२, २०८० १२:३३

अब ह्वाट्सएपमा पनि विज्ञापन आउने

काठमाडौं । इन्स्ट्यान्ट मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले स्टेटस सेक्सनमा विज्ञापन देखाउने योजना बनाएको छ । ब्राजिलकाे एक मिडियालाई अन्तर्वार्ता दिँदै कम्पनीका प्रमुख विल क्याथकार्टले ह्वाट्सएपमा विज्ञापन देखाउने योजना अघि बढेको बताएका हुन् ।

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको स्टोरिज जस्तै ह्वाट्सपमा स्टेटस सेक्सन हुन्छ । कम्पनीले मुख्य इनबक्समा नभएर सोही स्टेटस वा च्यालन सेक्सनमा विज्ञापन समावेश गर्ने योजना ल्याएकाे क्याथकार्टले बताएका छन् ।

यसो त गत सेप्टेम्बरमा फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा उनले मेटाले ह्वाट्सपमा विज्ञापन राख्ने कुनै योजना नबनाएको बताएका थिए ।

“मुख्य इनबक्समा विज्ञापन देखाउन अहिले पनि सही मोडेल होइन,” क्याथकार्टले अन्तर्वातामा भनेका छन्, “त्यसबाहेक ह्वाट्सएपका अन्य सेक्सन जस्तै स्टेटस वा च्यानलमा विज्ञापन आउनसक्नेछ ।”

कतिपय क्रियटरले आफ्ना अडियन्सलाई शुल्क तिरेर मात्र च्यानलका एक्स्क्लुसिभ (विशेष) कन्टेन्ट देखाउने बनाउन सक्छन् । त्यसका लागि उनीहरूले च्यानल प्रचार गर्नुपर्ने हुन्छ । यस्तोमा ह्वाट्सएपले ती च्यानलबाट शुल्क लिएर च्यानल सेक्सनमा विज्ञापन देखाउन सुरु गर्ने क्याथकार्टको भनाइ छ ।

सन् २०१८ मा ह्वाट्सएपले स्टेटस सेक्सनमा विज्ञापन देखाउन सुरु गर्नेबारे छलफल गरेको थियो । तर, पछि कम्पनीले आन्तरिक विवादका कारण सो विज्ञापन नीति सुरु गरेको थिएन ।

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८० १२:४२