close

कवाडी व्यवसायीका छोरा मनुशरण यसरी बने आईओई इन्ट्रान्स टपर

सञ्जीवन राई सञ्जीवन राई

कात्तिक २३, २०८० १४:४४

कवाडी व्यवसायीका छोरा मनुशरण यसरी बने आईओई इन्ट्रान्स टपर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) काे यस वर्षकाे प्रवेश परीक्षामा मनु शरण कुमार सर्वोत्कृष्ट भएका छन् । कात्तिक १४ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा नाै हजार ७७१ जना परीक्षार्थी सहभागी थिए । यसमध्येबाट कुमार टपर बने । उनी भविष्यमा कम्प्युटर इन्जिनियर बन्न चाहन्छन् । यसका लागि उनले कलेज र विषय छानिसकेका छन् ।

पुर्ख्यौली घर रौतहट भएका कुमारकाे व्यक्तिगत र परिवारकाे हरेक कहानी संघर्षमय छ । उनी काठमाडौंमा जन्मे हुर्के । बुबा प्रेसर कुकर, स्टोभ लगायतकाे मर्मतकाे काम गर्थे । परिवारको गुजारा त्यसैबाट चल्थ्यो । बुबाकाे कामले परिवार काठमाडाैंका विभिन्न ठाउँमा डेरा सरिरहन्थ्याे । आजकल उनीहरू नख्खुमा बस्छन् ।

विद्यालय तहदेखि नै कुमार पढाइमा अब्बल थिए । पढाइ राम्रो भएकाले उनले विद्यालय तहमा थुप्रै छात्रवृत्ति पाए । उनले विद्यालय तहको पढाइ परिबोध बोर्डिङ हाई स्कुलबाट सकेका हुन् । त्यहाँ कक्षा ३ देखि १० सम्म पढेका थिए ।

कक्षा ५/६ तिर पढेका सबै कुरा याद गर्ने उनको बानी थियो । कक्षा ७ मा पुगेपछि भने उनलाई याद गर्न गाह्रो हुन थाल्यो । अनि मात्र याद गर्नेभन्दा पनि सबै कुरा बुझेर मात्र पढ्नुपर्ने रहेछ भन्ने उनलाई लाग्यो । जुन आज पर्यन्त उनले लागू गरिरहेका छन् ।

तर त्यसबेला उनलाई दुई ओटा कुराले धेरै सताएको थियो, जसले उनलाई पढ्न प्रेरणा गर्‍याे । पहिलो, परिवारको आर्थिक अवस्था । घरमा आय कम थियो । बुबाको सीमित कमाइले काठमाडौंमा पालिन हम्मेहम्मे थियो । त्यो अनुभव कुमारले नजिकबाट देख्ने मौका पाए । यसकारण पनि अध्ययनमा राम्रो गर्नुपर्छ भन्ने उनलाई बोध भयो । ठूलो मान्छे भएर घरको आर्थिक अवस्था सुधार्छु भन्ने सपना पालेका थिए उनले ।

दोस्रो, तराईबाट आएकाले उनीहरूले राजधानीमा थुप्रै अवहेलना सामना गरे । किताबमा भेदभाव/छुवाछुत गर्नुहुन्न भनिन्थ्याे, तर व्यवहारमा त्यस्तो नपाउँदा कुमारकाे मन चसक्क हुन्थ्याे । र सोच्थे, भेदभाव नराम्रो कुरा भएको पुस्तकमा छापिए पनि मानिसको दिमागमा छापिएको छैन । तब त, राम्रो पढे भविष्यमा अरूले हेप्दैनन् भनेर आफैंले आफैंलाई सान्त्वना दिन्थे । यी र यस्ता धेरै कुराले उनलाई मेहनत गरेर पढ्ने प्रेरणा मिल्थ्याे ।

सुरुमा उपकरणहरूकाे मर्मत र अन्य स-सना काम गरेका उनका बुबाले पछि एउटा कवाड सामानकाे कारखाना खोलेका थिए । कारखानामा फलाम र अन्य कच्चा सामग्री सङ्कलन गरेर फ्याक्ट्रीहरूलाई बेच्ने काम हुन्थ्यो । सुरु सुरुमा व्यापार राम्रो थियाे, तर कोभिड महामारीले व्यापार प्रभावित बन्याे । विद्यालयतमा शुल्क तिर्न गाह्रो हुन्छ कि भन्ने थियो । तर कक्षा ९/१० मा उनले पढ्न छात्रवृत्ति पाए ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि कुमार राम्रै नतिजा ल्याएर उत्तीर्ण भए । त्यसपछि कुमारीपाटीमा अवस्थित मुनलाइट सेकेन्डरी स्कुल (मोलिस) मा फिजिक्स समूह लिएर कक्षा ११/१२ पढ्न थाले । एकफेर कक्षा ११ उत्तीर्ण नहुँदै बायोलोजी लिएको भए भन्ने उनलाई लागेको थियो । तर त्यो सोच त्यसबेलासम्म ढिलो भइसकेको थियो । अनि जे भए पनि अगाडि बढ्नुपर्छ भन्ने सोचेर आफूले पढेकै विषयमा रुझ्न थाले ।

उनी किताबबाट नोट बनाउनेभन्दा पनि किताबका प्रत्येक लाइन बुझ्ने प्रयास गर्थे । विभिन्न विषयहरूलाई एक-अर्कासँग जोडेर पढ्थे । त्यसलाई निरन्तरता दिँदा कक्षा ११/१२ मा पनि सोचेजस्तै नतिजा आएको उनी सुनाउँछन् ।

कक्षा ११ मा उनले ३.९६ र कक्षा १२ मा ३.९२ जीपीए ल्याएका थिए । 

प्रवेश परीक्षाको तयारी

कक्षा ११ मा भर्ना हुने बेला सोही कलेजका विजय मेहता सरले उनलाई आईओईबारे सुनाएका थिए । तर उनी कक्षा १२ को अन्तिम परीक्षा हुनुअघिसम्म आईओईतिर फर्केकै थिएनन् । उनलाई जसरी हुन्छ कक्षा १२ मा नतिजा राम्रो ल्याउनु मात्र थियो ।

तर प्रवेश परीक्षाको तयारी गराउने संस्था पीईएले माघ महिनामा ‘आईटी क्विज’ आयोजना गर्‍याे । उनले पनि भाग लिए । र, अन्तिम चरणसम्म पुगे ।

पुरस्कार स्वरूप आयोजकले अन्तिम चरण पार गरेकाहरूलाई तयारी कक्षामा छात्रवृत्ति दियो । त्यसपछि आफ्नो कलेज जाने, साँझ प्रवेश परीक्षाको तयारी कक्षा लिने, पीईएको डिजिटल सामग्री प्रयोग गर्ने काम उनको दैनिकीसँग जोडियो ।

जसै कक्षा १२ को अन्तिम परीक्षा सकियो । उनी आईओई प्रवेश परीक्षाको पूर्ण तयारीमा लागे । एउटा इन्स्टिच्युटमा मात्र जाने, तर राम्ररी पढ्छु भन्नेमा उनी थिए । दुई/तीन ओटा इन्स्टिच्युटमा गएर धेरै ज्ञान हासिल गर्न नसकिने उनको तर्क छ । सोही अनुसार आफूलाई छात्रवृत्ति दिएको पीईएमा नै उनी जोडिए ।

त्यहाँ दैनिक क्यापसुल (अभ्यास गर्नका लागि बनाइएको शैक्षिक सामग्री), साप्ताहिक 'मक टेस्ट'मा सहभागी भए । त्यस्तै आईओईले लिने कम्प्युटर विधि जस्तै गरेर उनले 'मक टेस्ट' पनि दिए ।

त्यसले परीक्षा दिन निकै सजिलो भएको र टेस्ट (मक टेस्ट) सम्झेर प्रवेश परीक्षा दिएको उनी सुनाउँछन् ।

तर कम्मर कसेर तयारी गरिरहँदा आईओईमा भएको शुल्क विवादले भने उनकाे मानसपटलमा केही प्रभाव पार्‍याे । आईओईबाहेक अन्य विश्वविद्यालयको प्रवेश परीक्षा दिनेबारे उनले सोचेका थिएनन् ।

तर भदौमा हुनुपर्ने परीक्षा शुल्क विवादका कारण पछि सरेका उनले पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा दिए । त्यहाँ पनि उनको नाम निक्लिएको थियो ।

तर आईओई अन्तर्गतका कलेजमा मात्र पढ्ने अठोट लिएकाले भर्ना भने गरिनहालेको उनी बताउँछन् ।

“पूर्वाञ्चलको प्रवेश परीक्षा दिएँ भने आईओईलाई पनि सहयोग हुन्छ भन्ने लागेको थियो । तर उत्कृष्ट नतिजा आए पनि त्यहीँ (पूर्वाञ्चल) पढ्छु भन्ने सोचेको थिइनँ । आईओईमै राम्रो अङ्क ल्याएर इन्जिनियरिङ पढ्छु भन्ने मात्र सोच थियो,” उनी भन्छन् ।

त्यस्तै शुल्क विवादका कारण परीक्षा रोकिँदा तयारी गर्न बाँकी रहेका विषयबारे अझ अध्ययन गर्न थप समय मिलेको उनी बताउँछन् ।

“सुरुमा त्यत्रो तयारी गरेर अन्तिम समयमा परीक्षा नहुँदा अलि नराम्रो लागेको थियो । तर फेरि दुई महिनासम्म परीक्षाको तयारी गर्न पाउँदा खुसी पनि थिएँ,” उनी भन्छन्, “परीक्षा जहिल्यै होस् आफ्नो तयारी भने गरिरहनुपर्छ भन्ने सोचमा थिएँ । आईओई प्रवेश परीक्षा जिन्दगी परिवर्तन गर्ने क्षण होइन । तर यसमा राम्रो गर्‍याे भने भविष्य उज्ज्वल हुन्छ भन्नेमा थिएँ  ।”

प्रवेश परीक्षापछि

परीक्षा दिइसकेपछि पीईएका प्रशिक्षकहरूले कुमार उत्कृष्ट १० भित्र पर्नसक्ने बताएका थिए । किनकी उनी स्वयंले दुई/तिन ओटा प्रश्नबाहेक सबै राम्रो भएको सुनाएका थिए ।

यता उनी भने स्नातक तहको तयारीमा जुटिसकेको थिए । उनले आफूले पढ्ने कलेज र विषय तय गरिसकेका थिए । अब उनी एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा कम्प्युटर इन्जिनियरिङ पढ्ने बताउँछन् । यस कलेजले धेरै सहयोग गरेको, वातावरण पनि राम्रो भएकाले चयन गरेको उनको भनाइ छ ।

कम्प्युटर इन्जिनियरिङ पढ्ने भएपछि उनले पाइथन प्रोग्रामिङ सिक्न थालिसकेका थिए ।

प्रवेश परीक्षामा पहिलो हुँला भनेर उनले कल्पना पनि गरेका थिएनन् । कात्तिक २१ गते परीक्षाको नतिजा आउने खबर आएपछि प्रशिक्षकहरूकाे बोलावटमा उनी पीईए पुगे ।

उनको नतिजा राम्रो हुन सक्ने भएकाले प्रशिक्षकहरूले उनलाई कार्यालयमै बोलाएका थिए । दिउँसोको साढे ३ बजेतिर पीईए पुगे । त्यहाँ अन्य सहपाठीहरू पनि थिए । नतिजा आउँछ कि भनेर उनीहरू सबैले वेबसाइट रिफ्रेस गरिरहेका थिए ।

नतिजा के हुन्छ भनेर कुरा गर्दै उनीहरूले किक्रेट गेम हेर्दै थिए । ​यस्तोमा पीईए प्रशिक्षकहरूले उनलाई टपर भएको सुनाए । त्यो सुन्नासाथ अनौठो र नयाँ अनुभव पाएकाे उनी सुनाउँछन् ।

उनी आफूले भने टपर हुनुलाई बिना बाधा राम्ररी पढिरहेको र मेहनतको प्रमाणको रुपमा लिएको बताउँछन् । “टपर भएको सुन्दा आफू राम्रो विद्यार्थी भएको र राम्रो गर्दै जाँदा अझ राम्रो विद्यार्थी हुनसक्ने सोच आएको छ,” उनी भन्छन्, “१० हजार विद्यार्थीमा पहिलो हुने एक जना मात्र हुन्छ । तर राम्रो विद्यार्थी एक जना मात्र नभएर धेरै हुन्छन् । उनीहरू टपर नहुँदैमा कमजाेर हुँदैनन् ।” 

त्यस्तै परीक्षामा कोही टपर नै भएन भने कसैले पनि मेहनत गर्न छाड्ने उनको विश्लेषण छ । साथै कक्षा १० टपर कक्षा ११/१२ मा असफल भएको खबर सुनेकाले आफू यसमा सजग हुने उनको भनाइ छ । यसका लागि निरन्तर झरिरहने थोपाले ढुङ्गामा प्वाल बनाउन सक्ने क्षमता राखेजस्तै निरन्तर मेहनत गरिरहेको उनी सुनाउँछन् ।​ 

उनै सर्वोत्कृष्ट भएका कुमारले आईओई प्रवेश परीक्षा तयारीबाट बटुलेकाे अनुभव बाँडेका छन्:

-कक्षा ११/१२ को शैक्षिक जग राम्रो भए आईओई प्रवेश परीक्षा राम्रो गर्न सकिन्छ ।

-१२/१४ घण्टाभन्दा पनि दैनिक ४/५ घण्टा बिना अवरोध बुझेर पढे आईओई प्रवेश परीक्षामा राम्रो गर्न सकिन्छ ।

-दैनिक रूपमा प्रश्न सेटहरू समाधान गर्नुपर्छ । समाधान गरेर सबै आउँछ भनेर घमन्ड गर्नुहुँदैन । 

-'मक टेस्ट'को नतिजामा भएका गल्ती समाधान गर्दै जानुपर्छ । किनकी परीक्षाको तयारी गर्दा र परीक्षा दिँदाको माहोल अर्कै हुन्छ । तयारी गर्दा आएको सजिलो प्रश्न परीक्षामा सबैभन्दा गाह्रो हुन सक्छ । 

-अन्त्यमा परीक्षाको तनाव व्यवस्थापन गर्न सक्नुपर्छ ।

 

नोटः यसअघिको समाचार शीर्षकमा सामान्य त्रुटि देखिएकाले परिमार्जन गरिएको छ । -स.

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८० १०:३६