काठमाडौं । अनलाइन शपिङको दुनियाँमा नोभेम्बेर ११ अथवा ११.११ को दिन एउटा उत्सवको रुपमा मानिन्छ ।
नोभेम्बर ११ का दिनलाई ११.११ सेल्स डे भनेर पनि बुझ्ने गरिन्छ, जुन दिनमा २४ घण्टासम्म विश्वका ठूला-ठूला अनलाइन शपिङ प्लेटफर्ममा भारी छुटमा विभिन्न सामान खरिद गर्न सकिन्छ ।
विदेशी बजारमा त अझ विशेष सामान भारी छुटमा खरिद गर्नका लागि उपभोक्ता यो दिन कुरेर बसेका हुन्छन् । पछिल्ला केही वर्षमा नेपाली उपभोक्तामाझ पनि अनलाइन शपिङको अभ्यास बढेको छ ।
नेपालमा पनि अनलाइन शपिङ प्लेटफर्म दराजले वर्षेनि ११.११ सेल्स डे घाेषणा गरी २४ घण्टासम्मका लागि भारी छुटमा सामान बिक्री गर्दै आएकाे छ । याे वर्षकाे सेलमा ग्राहकले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, मनेरञ्जनजस्ता विभिन्न विधाका लाखौं उत्पादनमा सात करोडसम्मको छुट पाउने दराजले जनाएको छ ।
११.११: सिङ्गल्स डे (Singles’ Day)
११.११ को सबैभन्दा रोचक पक्ष भनेको यही अङ्क नै हो । वास्तवमा ११.११ सेल्स डेभन्दा अगाडि चीनमा सिङ्गल्स डे (अविवाहित अथवा कुनै प्रेम सम्बन्धमा नभएका व्यक्तिको दिन) को रुपमा सुरुवात भएको थियो ।
चिनियाँ भाषामा ११.११ ले वेयर स्टिक, अर्थात खाली लट्ठीलाई संकेत गर्छ, जुन चीनमा अविवाहित पुरुषलाई गिज्याउन प्रयोग गरिन्छ । त्यसैगरी चारवटा १ अङ्कको अर्थ चारजना अविवाहित व्यक्तिको रुपमा पनि चिनिन्छ ।
सन् १९९३ मा नानजिङ विश्वविद्यालयका विद्यार्थीले अविवाहितहरूको दिन भनेर नोभेम्बर ११ लाई सिङ्गल्स डे भनेर मनाउन सुरु गरेका हुन् । सो वर्षदेखि चीनमा अविवाहितहरूले यो दिनमा आफ्ना लागि नयाँ सामान खरिद गर्ने र आफैंलाई उपहार दिने गर्छन् ।
आजको दिनमा आउँदासम्म चीनबाट सुरु भएको यो सिङ्गल्स डे विश्वभर मनाउने गरिन्छ ।
११.११: सेल्स डे नोभेम्बर ११ का दिन चीनमा सिंगल्स डे मनाउन सुरु भएपछि बजारमा यही दिनका लागि भनेर विशेष सामान खरिद बिक्री हुन थाल्याे ।
यही कुराको फाइदा उठाउँदै अनलाइन शपिङ प्लेटफर्म अलिबाबाले पहिलो पटक सन् २००९ मा ११.११ लाई सामानहरू खरिद गर्ने पर्वकै रुपमा सुरुवात गर्यो ।
वर्षमा एकचोटी नोभेम्बर ११ को मध्यरातदेखि २४ घण्टासम्म अनलाइनमा भारी छुट दिएर सामान बिक्री गर्न थालियो ।
बिक्रेताका पनि धेरै सामान बिक्री हुने र उपभोक्ताले पनि हरेक सामान छुटमा पाउन थालेपछि यो दिनप्रति मानिसहरूको आकर्षण बढ्दै गयो ।
यो अभ्यास यति धेरै चर्चित भयो कि, आज विश्वभरमा ११.११ सेल्स डे मनाइन्छ ।