close

कुन-कुन देशमा छ टिकटक प्रतिबन्ध ?

टेकपाना टेकपाना

कात्तिक २७, २०८० १७:३३

कुन-कुन देशमा छ टिकटक प्रतिबन्ध ?

काठमाडौं । पछिल्लो समय गोपनीयता, साइबर सुरक्षा वा अन्य विषयलाई लिएर भिडिओ शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने देशको संख्या बढ्दै गइरहेको छ । चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक विभिन्न कारणले सधैं देशहरूको निशानामा पर्दै गएकाे छ । ती देशमा कतै पूर्ण त कतै आंशिक रुपमा टिकटकमाथि राेक लगाइएको छ ।

नेपालमा पनि टिकटक बन्द गर्नेगरी सरकारले आजैदेखि प्रक्रिया अगाडि बढाएको छ । सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने र यससम्बन्धी व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाउने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।

सरकारकाे याे अप्रत्याशित कदमसँगै सार्वजनिक रूपमा मिश्रित टिप्पणीहरू आइरहेका छन् ।

यसै सन्दर्भमा विश्वभर कुन-कुन देशले टिकटकमाथि प्रतिबन्ध लगाएका छन् भन्ने बारे चर्चा गरेका छाैं:

अफगानिस्तान 

अप्रिल २०२२ मा अफगानिस्तानमा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो । ब्लुमबर्गका अनुसार यस प्लेटफर्ममा आउने सामग्रीले युवाहरूलाई गलत बाटोतर्फ लाने र त्यस्ता सामग्री इस्लामिक कानूनसँग मेल नखाने भएकाले तालिवानले टिकटकमाथि रोक लगाएको हाे ।

अस्ट्रेलिया

अप्रिल २०२३ मा अष्ट्रेलियाको संघीय सरकारले सरकारी डिभाइसमा टिकटक प्रयाेग गर्न प्रतिबन्ध लगायो । रोयटर्सका अनुसार सुरक्षा विषयलाई लिएर अष्ट्रेलियाले टिकटकमाथि यस्ताे कदम लिएकाे हाे ।

बेल्जियम

मार्च २०२३ देखि बेल्जियमले पनि टिकटकमाथि अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ । रोयटर्सका अनुसार त्यहाँकाे संघीय सरकारको स्वामित्वमा रहेका डिभाइसहरूमा टिकटक प्रयाेग गर्न पाइँदैन । प्रतिबन्धकाे कारण राज्यको सुरक्षा तथा साइबर सुरक्षाको विषयलाई मानिएकाे छ ।

क्यानडा

फेब्रुअरी २०२३ देखि क्यानडाको सरकारले जारी गरेका डिभाइसमा टिकटक प्रयाेग गर्न रोक लगाइएको छ । बीबीसीका अनुसार गोपनीयता र सुरक्षाका कारण क्यानडलाले टिकटकमाथि प्रतिबन्ध लगाएको हो ।

डेनमार्क

मार्च २०२३ देखि डेनमार्कको रक्षा मन्त्रालयले आफू मातहतका आफ्ना कर्मचारीहरूलाई टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । एपी न्यूजका अनुसार डेनमार्कको रक्षा मन्त्रालयले औपचारिक कामका लागि प्रयोग हुने फोनमा टिकटक प्रयोग गर्न रोकेको हो । 

युरोपेली संघ

मार्च २०२३ देखि युरोपेली संघले आफ्नो प्रमुख तीन निकाय युरोपेली संसद, युरोपेली आयोग र युरोपेली  काउन्सिलका कर्मचारीलाई टिकटक प्रयोग गर्नबाट प्रतिबन्ध लगाएको छ । सीएनएनका अनुसार कर्मचारीहरूको व्यक्तिगत डिभाइसबाट समेत टिकटक एप हटाउन लगाउनुका साथै प्रयोग गर्न रोक लगाइएको छ ।

फ्रान्स

मार्च २०२३ देखि फ्रान्सले सरकारी कर्मचारीहरूलाई टिकटक  प्रयोगमा प्रतिबन्ध लगाएको छ । टेकक्रन्चका अनुसार डेटा सुरक्षालाई कारण देखाउँदै फ्रान्सेली सरकारले टिकटकमाथि रोक लगाएको हो ।

भारत

२०२० मा गोपनीयता र सुरक्षालाई कारण देखाउँदै भारतीय सरकारले टिकटकसहित विच्याट लगायतका दर्जनौं चिनियाँ एपमा राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो । ​विवादित सीमामा भारतीय र चिनियाँ सेनाबीच झडपमा हुँदा २० जना भारतीय सैनिकको मृत्यु र दर्जनौं घाइते भएपछि भारतले त्यस्तो प्रतिबन्ध लगाएको थियो । स्थायी रुपमा भने जनवरी २०२१ देखि भारतमा टिकटकमाथि प्रतिबन्ध लागेकाे थियो ।

लात्भिया

मार्च २०२३ देखि युरोपेली देश लात्भियाको विदेश मन्त्रालयले सुरक्षा कारण देखाउँदै टिकटक प्रतिबन्ध गरेको थियो । त्यहाँ विदेश मन्त्रालय अन्तर्गतका डिभाइसहरूलाई टिकटक एप प्रयोग गर्न प्रतिबन्ध लगाइएकाे छ ।

नेदरल्याण्ड्स

नोभेम्बर २०२२ देखि डच सरकारले आफ्ना कर्मचारीलाई टिकटक प्रयोग गर्नबाट रोक लगाएको छ । पोलिटिकोका अनुसार कर्मचारीका फोनमा टिकटक चलाउन पाइँदैन ।

न्युजिल्याण्ड

मार्च २०२३ देखि न्युजिल्याण्डले आफ्ना सांसदहरू तथा कर्मचारीहरूलाई टिकटक प्रयोग गर्नबाट रोक लगाएको थियो । राष्ट्रिय साइबर सुरक्षालाई कारण देखाउँदै उनीहरूको फोनबाट टिकटक हटाउने र प्रतिबन्ध लगाउने निर्णय गरिएकाे थियाे ।

नर्वे

सरकारी कर्मचारीहरूलाई टिकटक प्रयोग गर्न रोक्ने र प्रतिबन्ध लगाउने गरी नर्वेको सरकारले मार्च २०२३ देखि आफ्नो निर्णय कार्यान्वयन गरिसकेको छ । यसका साथै राजधानी ओस्लो र दोस्रो ठूलो सहर बर्गनका नगरपालिकाहरूले पनि आफ्ना कर्मचारीहरूलाई टिकटक हटाउन निर्देशन दिएका छन् ।

पाकिस्तान

एपले अनैतिक सामग्रीहरूलाई फैलाउन सहयोग गरेकाे भन्दै पाकिस्तान सरकारले अक्टोबर २०२० देखि हालसम्म कम्तीमा चार पटक टिकटकमाथि अस्थायी रूपमा प्रतिबन्ध लगाइसकेको छ । 

ताइवान

टिकटकले राष्ट्रिय सुरक्षा जोखिमलाई खतरामा पार्न सक्ने बताउँदै डिसेम्बर २०२२ देखि ताइवानले पनि यसमाथि प्रतिबन्ध लगाएको छ । सरकारी उपकरणहरूमा चीनमा तयार भएका सफ्टवेयर प्रयोग गर्न नदिने बताउँदै ताइवानले टिकटकसहित अन्य एपमाथि राेक लगाएको छ ।

बेलायत

बेलायतले मार्च २०२३ देखि राज्यका मन्त्रीहरू र निजामती कर्मचारीहरूले प्रयोग गर्ने मोबाइल फोनमा टिकटक प्रयाेग गर्न राेक लगाएको छ । बेलायतको नेसनल साइबर सेक्युरिटी सेन्टरले गरेको अध्ययनपछि बेलायती सरकारले यस्तो निर्णय लिएको थियो ।

संयुक्त राज्य अमेरिका

डिसेम्बर २०२२ मा राष्ट्रपति जोय बाइडेनले डिसेम्बरले ‘नो टिकटक अन गभर्मेन्ट डिभाइस एक्ट’ मा हस्ताक्षर गरेका थिए । त्यसपछि डेटा सुरक्षाको कारण देखाउँदै संघीय सरकारको स्वामित्वमा रहेका डिभाइसहरूमा टिकटक प्रयोग गर्न निषेध गरिएको छ । त्यस्तै ५० मध्ये ३४ राज्यहरूमा पनि प्रतिबन्ध लगाइएकाे छ । 

यी बाहेक माल्टा, आयरल्यान्ड, इस्टोनिया, डेनमार्क, अष्ट्रिया, जोर्डन, कीर्गिस्तान, इरान, इन्डोनेसिया, अर्मेनिया, अजरबैजान, सेनेगल, सोमालियामा पनि आंशिक रुपमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाएका अधिकांश देशले राष्ट्रिय सुरक्षा, गोपनीयता, सूचना चोरी लगायतलाई कारण मानेका छन् । नेपालमा भने सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले प्रतिबन्ध लगाउने निष्कर्षमा सरकार पुगेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८० १७:५३