close

आफ्नो प्ले स्टोर र सर्च सामसङ फोनको होम स्क्रिनमा राख्न वर्षेनी अर्बौं डलर तिर्छ गुगल

टेकपाना टेकपाना

कात्तिक २८, २०८० १४:७

आफ्नो प्ले स्टोर र सर्च सामसङ फोनको होम स्क्रिनमा राख्न वर्षेनी अर्बौं डलर तिर्छ गुगल

काठमाडौं । गुगल र इपिकबीच चलिरहेको मुद्दाले एउटा अर्को रोचक सूचना बाहिर ल्याएको छ । ब्लुमबर्गमार्फत इपिक गेम्सले प्रस्तुत गरेको टेस्टिमोनीअनुसार गुगलले आफ्नो सर्च, असिस्टेन्ट र प्ले स्टोरलाई सामसङ फोनहरूमा डिफल्ट सर्भिसको रूपमा कायम राख्न चार वर्षको अवधिमा सामसङलाई आठ अर्ब अमेरिकी डलर तिरेको छ ।

सोमवार इपिकका अधिवक्ताले सोधेको प्रश्नमा गुगलको साझेदारी विभागका उपाध्यक्ष जेम्स कोलोटरसले भनेका छन् कि गुगलले एन्ड्रोइड फोन निर्माताहरूसँग उनीहरूको डिभाइसमा गुगल प्ले स्टोर पहिले नै राखेर पठाउन सम्झौता गरिएको हुन्छ । कोलोटरस टेस्टिमोनीमा समग्र गुगल प्ले स्टोरको आम्दानीको आधा वा सोभन्दा बढी आम्दानी सामसङका फोन तथा अन्य डिभाइसले ओगट्ने कुरा समेत खुलासा गरेको छ ।

सन् २०१९ मा गुगलले ग्यालेक्सी स्टोरसँगै गुगल प्ले स्टोर पनि सामसङ डिभाइसमा रहिरहन सकोस् भन्ने उद्देश्यका साथ "प्रोजेक्ट बेन्यान" नामक एउटा कार्यक्रम सञ्चालनमा ल्याएको थियो । यतिसम्म कि कम्पनीले ग्यालेक्सी स्टोर प्ले स्टोरभित्रै राख्न सामसङलाई चार वर्षमा थप २० करोड अमेरिकी डलर प्रस्ताव समेत अगाडि सारेको थियो । यद्यपि उक्त योजना भने पछि खारेज गरियो र गुगलले सामसङसँग आठ अर्ब अमेरिकी डलर मूल्यका तीन व्यावसायिक सम्झौतामा हस्ताक्षर गर्‍यो । 

एउटा आन्तरिक कागजातले गुगलले सामसङ डिभाइसको होम स्क्रिनमा प्ले स्टोरलाई एक मात्र एप स्टोरको रूपमा देखाउने अनुरोधका लागि 'ब्याकट्र्याकिङ' मार्फत चार वर्षमा कसरी एक अर्ब अमेरिकी डलर बचत गर्‍यो भन्ने कुरा देखाएको छ ।

यद्यपि कोलोटरसका अनुसार गुगल र सामसङबीच ग्यालेक्सी स्टोरलाई उसका डिभाइसहरूको होम स्क्रिनमा नदेखिने बनाउनका लागि कहिल्यै सम्झौता भएको थिएन ।

इपिक गुगलले गुगल प्ले स्टोरलाई प्रि-इन्स्टल गरी एप डाउनलोड गर्ने डिफल्ट गन्तव्य बनाउन डिभाइस निर्मातालाई पैसा दिएर थर्ड पार्टी एप स्टोरलाई एन्ड्रोइड डिभाइसमा निरुत्साहित गर्ने गरेको विषय देखाउन चाहन्छ । 

गुगल विगत लामो समयदेखि यस किसिमका व्यावसायिक सम्झौतामा अडेको छ र अमेरिकाको न्याय विभागले कम्पनी उपरको अर्को एन्टिट्रस्ट मुद्दामा समेत छानबिन गरिरहेको छ । 


 

पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८० १४:७