close

पब्जी विश्वकपः नेपाली टिम डीआरएस आज ‘गर या मर’ को स्थितिमा

टेकपाना टेकपाना

मंसिर ३, २०८० १५:२

पब्जी विश्वकपः नेपाली टिम डीआरएस आज ‘गर या मर’ को स्थितिमा

 

काठमाडौं । पब्जी विश्वकप अर्थात् ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३’ मा नेपाली टिम ‘डीआरएस गेमिङ’ लाई आफ्नो शाख जोगाउने चुनौती छ ।

अघिल्लो वर्ष ‘पीएमजीसी २०२२’ मा उपविजेता बनेको नेपाली टिम डीआरएस गेमिङले यस वर्ष अहिलेसम्म राम्रो गेम पस्कन सकेको छैन । ग्रुप एल्लोमा रहेको डीआरएस गेमिङले आफ्नो ग्रुपको १८ खेल सकिँदा सक्दा अहिलेसम्म एक गेम जित्न सकेको छैन । सामान्य अर्थमा भन्नुपर्दा ‘पीएमजीसी २०२३’ मा डीआरएसलाई चिकेन डिनरको खडेरी लागेको छ । 

आज डीआरएस गेमिङ आफ्नो ग्रुपको अन्तिम दिनको ६ खेल खेल्दैछ । अङ्क तालिकाको  १२औँ स्थानमा रहेको डीआरएस गेमिङ राम्रो खेल्दै शीर्ष ११ मा परेर अर्को स्टेज अर्थात् ‘सर्भाइबल स्टेज’मा पुग्ने चुनौती हुनेछ । डीआरएस गेमिङले १८ खेलबाट ८२ पोइन्ट मात्र बटुलेको छ ।

डीआरएसभन्दा माथि ११औं स्थानमा रहेको ‘सेमनाइन’को ९६ पोइन्ट रहेको छ । त्यस्तै पछाडि रहेको टिम ‘डीएमआर’सँग पोइन्ट अन्तर मात्र एकको रहेको छ । त्यसैले आजको दिन आफूभन्दा माथि रहेको टिमको १४ पोइन्टको अन्तरलाई चिर्दे अगाडि बढ्नु बाहेक डीआरएस गेमिङसँग अन्य कुनै विकल्प छैन । 

एल्लो ग्रुपमा नै रहेका रहेको दक्षिण एसियाली टिम आईएचसीको पनि अवस्था ठीक छैन । ‘आईएचसी’ मात्र ६३ पोइन्ट ल्याएर अङ्क तालिकाको १५औं स्थानमा रहेको छ । अर्को दक्षिण एसियाबाट पीएमजीसी २०२३ पुगेको टिम मङ्गोलियन पब्जी टिम ‘फोमिराकल भाइब्स’ भने आफ्नो ग्रुपको विजेता बन्ने दाउमा छ । 

एल्लो ग्रुपको तेस्रो दिनको खेल सकिँदासम्म १५० पोइन्ट ल्याएर अङ्क तालिकाको शीर्ष स्थानमा ‘मेजर प्राइड’ रहेको छ । जसमा दुई चिकेन डिनर र ९६ एलिमिनेसन पोइन्ट सामेल छ । त्यस्तै दोस्रो स्थानमा ‘बीटीआर आरभी’ र तेस्रो स्थानमा  ‘फोमिराकल भाइब्स’ रहेको छ ।

ग्रुपको खेल सकिँदा अङ्क तालिकाको शीर्ष तीनभित्र रहने टिमले सिधै फाइनलमा स्थान बनाउने छन् । चौंथोदेखि ११औँ स्थानमा रहने टिमले फाइनलमा स्थान बनाउन ‘सर्भाइबल स्टेज’मा हुँदै ‘लास्ट चान्स’ स्टेजमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

एल्लो ग्रुपको अन्तिम दिनको खेल दिउँसाे ४:४५ देखि सुरु हुनेछ । खेलको लाइभ‘पब्जी मोबाइल ई-स्पोर्ट्स’को फेसबुक पेज तथा युट्युब च्यानलबाट हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर ३, २०८० १५:२