काठमाडौं । सर्वोच्च अदालतले टिकटकमाथिको प्रतिबन्ध रोक्ने विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलवार न्यायाधीश विनोद शर्माको एकल इजलासले टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णयमाथि रोक लगाउने माग सहितका रिटको पक्षमा अन्तरिम आदेश दिन नमानेको हो ।
कात्तिक २७ काे मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि रोक लगाउने निर्णय लिएको थियो । सरकारको उक्त निर्णयले वाक् तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक अधिकार हनन् गरेको भन्दै सर्वोच्चमा छुट्टाछुट्टै १४ ओटा रिट दायर भएका थिए ।
दायर रिटउपर भएकाे बहसपछि न्यायाधीश शर्माकाे इजलासले सरकारको नाममा उक्त निर्णय गर्नुको कारणबारे लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश समेत दिएको छ । साथै सर्वोच्चले यस मुद्दामाथिको पूर्ण सुनुवाइका लागि मंसिर १९ गते पेसी तोकेको छ ।
सर्वाेच्चमा दायर भएका रिटमा टिकटक प्रतिबन्धकाे निर्णयले अभिव्यक्ति स्वतन्त्रताको हकसँगै सूचना, समाचार, मनोरञ्जन लगायतका हक तथा संविधानका विभिन्न धाराकाे गम्भीर उल्लङ्घन गरेको दाबी छ ।