close

के हो डिजिटल पदचिन्ह, अनि तपाईँका लागि किन महत्त्वपूर्ण छ ?

टेकपाना टेकपाना

मंसिर १०, २०८० १५:९

के हो डिजिटल पदचिन्ह, अनि तपाईँका लागि किन महत्त्वपूर्ण छ ?

काठमाडौं । मान्नुहोस् इन्टरनेट लाखौं पुस्तक र अन्य जानकारीले भरिएको लाइब्रेरी हो । जब तपाईं पुस्तक निकाल्न वा अन्य जानकारी थाहा पाउन लाइब्रेरीमा प्रवेश गर्नुहुन्छ, त्यहाँ आफ्नोबारे थुप्रै जानकारी छोड्नुहुन्छ । उदाहरणका लागि सबैभन्दा पहिले लाइब्रेरीमा जाँदा तपाईं आफ्नो नाम, फोन नम्बर, ईमेल र अन्य विवरण भरेर आफू लाइब्रेरीमा प्रवेश गरेको जानकारी दिनुहुन्छ । त्यसपछि तपाईं आफूलाई मनपर्ने पुस्तक खोज्न थाल्नुहुन्छ र र्‍याकबाट आवश्यक पुस्तक निकाल्नुहुन्छ । त्यसपछि ती पुस्तकलाई पालैपालो पढ्नुहुन्छ ।

पुस्तक पढ्दा पढ्दै महत्त्वपूर्ण कुरा डायरीमा नोट गर्नुभएको हुनसक्छ । त्यसपछि तपाईं लाइब्रेरीबाट बाहिर निस्किनु हुन्छ । यतिबेलासम्म तपाईंले आफ्नो अधिकांश डेटा लाइब्रेरीभित्र छोडिसक्नु भएको हुन्छ ।

तपाईंले दिएको नाम, ईमेल र फोन नम्बरसँगै तपाईं कस्ता पुस्तक पढ्न रुचाउनु हुन्छ, कुन पुस्तकको कस्तो पेज कसरी पढ्नुहुन्छ, कस्ता कुरालाई महत्त्वपूर्ण ठानेर डायरीमा टिप्नुहुन्छ, कस्तो जानकारी पाउँदा तपाईंको अनुहारको हाउभाउ कस्तो हुन्छ, पुस्तक पढ्नुअघि तपाईंको मुहारमा कस्तो भाव थियो अनि पुस्तक पढिसकेपछि तपाईंको मुहारमा कस्तो भाव आयो यी सबै कुरा थाहा पाइ नपाई लाइब्रेरीमै छोड्नुहुन्छ ।

लाइब्रेरीले यिनै डेटा प्रयोग गरेर तपाईंलाई आवश्यक पर्ने पुस्तक विज्ञापनका रुपमा प्रयोग गर्न सक्छ । वा, तपाईंलाई आवश्यक पर्ने पुस्तकको मूल्य बढाइदिन सक्छ । यसका लागि लाइब्रेरी भने निकै अत्याधुनिक हुनुपर्छ । अहिलेको इन्टरनेट यस्तै अत्याधुनिक लाइब्रेरी बनिसकेको छ । तपाईंलाई कस्तो पुस्तक मन पर्छ, तपाईंको बानी कस्तो छ, तपाईंलाई के कुराको आवश्यक छ भन्ने सबै कुराको डेटा लाइब्रेरीमा भण्डारण भएको हुन्छ । हो यही डेटालाई इन्टरनेटको भाषामा डिजिटल फुटप्रिन्ट्स भनिन्छ ।

जब हामी अनलाइनमा केही कुरा जस्तै फोटो वा अन्य जानकारी खोज्छौं तब त्यहाँ ‘डिजिटल फुटप्रिन्ट्स” छुटाएका हुन्छौं । यो डिजिटल फुटप्रिन्ट भनेको एउटा यस्तो बाटो हो जसले तपाईंले इन्टरनेटमा के के गर्नुभयो सबै छर्लङ्ग पारिदिन्छ । हामीले खोज्ने जानकारीको सङ्ख्या बढेसँगै अहिले यिनै फुटप्रिन्टहरू व्यापक रूपमा छरिएका छन् । र, हामीमध्ये धेरैलाई उक्त डिजिटल फुटप्रिन्टमा कति सूचना भण्डारण भएको हुन्छ भन्ने ख्याल समेत हुँदैन ।

विभिन्न समूह जस्तै प्रहरी, विभिन्न सामग्री बिक्री गर्ने कम्पनी र इन्टरनेटमा अन्य प्रयोगकर्तालाई दुःख दिने प्रवृत्तिका मानिसहरूका लागि यस्तो डिजिटल फुटप्रिन्ट निकै उपयोगी हुन्छ । उनीहरूले त्यही डिजिटल फुटप्रिन्टलाई हाम्रो बारेमा जानकारी पाउन, हामीले कहाँ कहाँ के के अनलाइन शपिङ गर्‍यौं, र हामीले के के व्यक्तिगत काम गर्‍यौं सबै कुराहरू थाहा पाउन प्रयोग गर्छन् । तर, नडराउनुहोस् ।

तपाईंले चाहनु भयो भने यस्ता व्यक्तिगत जानकारीहरू गोप्य राख्न सक्नुहुन्छ । तपाईंले इन्टरनेटमा आफ्नो डिजिटल फुटप्रिन्ट भरसक सानोभन्दा सानो पार्ने प्रयास गर्नुपर्छ । यस्तो गर्दा तपाईंले इन्टरनेटमा गरेका गतिविधिहरू गोप्य हुन्छन् । त्यसोभए के हो त डिजिटल फुटप्रिन्ट्स भनेको ? हामीले इन्टरनेटमा कसरी आफ्नो गोपनीयता सुरक्षित राख्न सक्छौं ? आज हामी यसै विषयमा चर्चा गर्दैछौं ।

डिजिटल फुटप्रिन्ट भनेको के हो ?

इन्टरनेट प्रयोग गर्दा तयार हुने डेटाको ट्रेल अथवा बाटोलाई नै सामान्य अर्थमा डिजिटल फुटप्रिन्ट भनिन्छ । हरेक सामाजिक सञ्जालका पोस्ट, पठाइएका मेसेज, र भिजिट गरिएका वेबसाइटमा हाम्रो डिजिटल रेकर्ड छुटेको हुन्छ । विभिन्न माध्यममा छुटेका यिनै रेकर्डले डिजिटल फुटप्रिन्टमा योगदान दिइरहेका हुन्छन् । मेक युज अफका अनुसार अनलाइनमा नियमित कामहरू गरेर मात्र एक व्यक्तिले प्रत्येक सेकेन्डमा लगभग १.७ मेगाबाइट डेटा बनाएको हुन्छ । 

सामान्यत: डिजिटल फुटप्रिन्ट दुई रूपमा आउँछ, एउटा सक्रिय फुटप्रिन्ट्स र अर्को निष्क्रिय फुटप्रिन्ट्स । सक्रिय फुटप्रिन्ट्स (एक्टिभ फुटप्रिन्ट्स) भनेको मान्छेले अनलाइन फर्म भरेको बेला भण्डारण हुने डेटा, सामाजिक सञ्जालमा पोस्ट गर्दा त्यहाँ रहेको जानकारी हो । यता निष्क्रिय वा प्यासिभ फुटप्रिन्टस् भनेको व्यक्तिले थाहै नपाईं उसको डेटाहरू जस्तै भिजिट गरिएका वेबसाइटको जानकारी, वेबसाइट कसरी प्रयोग गरिरहेको छ त्यो लगायतका डेटाको जानकारी हो ।

फरक-फरक ठाउँमा डिजिटल फुटप्रिन्टस रहेकाले त्यसले विविध सूचना भण्डारण गरेको हुन्छ । प्रयोगकर्ताले लोकेसनदेखि, उसले शपिङ गर्ने बानी, उसले हेर्ने भिडिओको जानकारी, कुन समयमा कस्तो भिडिओ कति समयसम्म हेरेको छ त्यो सबै जानकारी डिजिटल फुटप्रिन्ट्समा आउँछ । 

डिजिटल फुटप्रिन्ट्स कसरी प्रयोग भइरहेका छन् ? 

डिजिटल फुटप्रिन्ट्स आजका दिनमा निकै बहुमूल्य सम्पत्ति हो भन्दा फरक पर्दैन । विभिन्न ब्रान्ड र ईकमर्श स्टोरले आफ्ना ग्राहकको इन-डेफ्थ प्रोफाइल तयार पार्नका लागि पनि डिजिटल फुटप्रिन्ट्स सङ्कलन गरेर राख्छन् । त्यसपछि मार्केटिङ क्याम्पियनका लागि टार्गेट अडियन्ससम्म आफ्नो प्रडक्ट अथवा सेवाको प्रचार गर्न उनीहरू सोही फुटप्रिन्टसको प्रयोग गर्छन् ।  यसले गर्दा कम्पनीको विज्ञापनले राम्रै प्रभाव पार्छ । 

कानून कार्यान्वयनकारी निकाय (ल इन्फोर्समेन्ट एजेन्सी) र अन्य कानूनी निकायका लागि डिजिटल फुटप्रिन्स पनि निकै महत्त्वपूर्ण मानिन्छ । मानिसहरूले कसरी इन्टरनेट प्रयोग गरेका छन् भन्ने अभिलेखले उनीहरू निर्दोष हुन् वा अपराध गरेका छन् भन्ने प्रमाणित गर्न मद्दत गर्छ । 

रोजगारदाताले पनि डिजिटल फुटप्रिन्ट प्रयोग गरिरहेका हुन्छन् । करिअर आर्क नामक कम्पनीले गरेको अध्ययनले ९२ प्रतिशत रोजगारदाता वा कम्पनीले सामाजिक सञ्जालका आधारमा कर्मचारी भर्ती गर्ने गरेको देखाएको छ । मानिसको अनलाइन गतिविधिले उनीहरू सो कम्पनीका लागि उपयुक्त छन् वा छैनन् भन्ने भन्ने देखाउँछ । त्यसैले कर्मचारी भर्ती गर्नका लागि पनि डिजिटल फुटप्रिन्ट महत्त्वपूर्ण टुल हो । 

यी कम्पनी, ब्रान्ड तथा विभिन्न कानूनी निकायले राम्रै कामका लागि डिजिटल फुटप्रिन्ट प्रयोग गरे पनि साइबर अपराधीले भने यी डेटाको दुरुपयोग गरिरहेका हुन्छन् । साइबर अपराधीले इन्टरनेटमा तपाईं नै भएर तपाईंको पहिचानको दुरुपयोग गर्न सक्छ ।

विशेषगरी अर्कालाई नोक्सानी पुर्‍याउन वा आर्थिक लाभ लिनका लागि साइबर अपराधीले डिजिटल फुटप्रिन्ट्सको प्रयोग गरिरहेका हुन्छन् । केहीले भने कुनै पनि कुरा आधिकारिक जस्तै देखाएर फिशिङ आक्रमण गर्नका लागि त्यस्तो डेटा प्रयोग गर्न सक्छन् ।

डिजिटल फुटप्रिन्ट्स: गोपनीयता कसरी सुधार गर्ने सकिन्छ ?

हामीले हाम्रो बारेमा अर्कालाई जति बुझाउन सक्छौं, डिजिटल फुटप्रिन्टले त्यो भन्दा कैयौं गुणा प्रभावकारी रूपमा हाम्रो बारेमा बताइदिन्छ । त्यसैले साइबर सुरक्षा र साधारण गोपनीयताका कारण यस्ता डेटा सकेसम्म कम गर्नुपर्छ । 

त्यसोभए आफ्नो डिजिटल फुटप्रिन्ट्स गोपनीयता कायम गर्न के गर्ने त ? सबैभन्दा पहिलो कुरा तपाईंको कति जानकारी बाहिरिएको छ भन्ने पत्ता लगाउनुहोस् । त्यसका लागि तपाईं आफ्नो नाम गुगलमा सर्च गर्नुभयो भने पनि तपाईंका कति जानकारी बाहिर आएका छन् भन्ने प्रष्ट हुन्छन् । तपाईंले गुगलमा कसैले आफ्नो नाम सर्च गर्‍यो भने आफूलाई अलर्ट आउने पनि बनाउन सक्नुहुन्छ । 

अर्को कुरा सामाजिक सञ्जालका अकाउन्टमा प्राइभेसी सेटिङ एड्जस्ट गर्नुहोस् । विशेषगरी ती माध्यममा तपाईंले राखेका पोस्ट, जानकारी वा अन्य अपडेट कसले कसले हेर्ने भन्ने अप्सन सेट गर्नुहोस् । यहाँ ख्याल गर्नुपर्ने कुरा के छ भने सामाजिक सञ्जालका अकाउन्टमा तपाईंले धेरै व्यक्तिगत जानकारी शेयर गर्नु हुँदैन ।

उदाहरणका लागि मान्नुहाेस् तपाईंले सवारी चालक अनुमति पत्र प्राप्त गर्नुभयो । र, खुसी भएर उक्त पत्रको फोटो फेसबुकमा शेयर गर्नुभयो । तपाईंले प्राइभेसी सेटिङ वन्ली फ्रेन्ड बनाउनु भएको छ । तर, ह्याकर तपाईंसँग अर्कै मान्छेका रूपमा जोडिएको हुन सक्छ । वा उसले तपाईंसँग साथी भएको व्यक्तिको अकाउन्ट ह्याक गरेर तपाईंका गतिविधि निकालिरहेको हुन सक्छ । त्यस्तोमा तपाईंले राखेको सवारी चालक अनुमति पत्रको सबै जानकारी उसले लिन्छ र त्यसलाई आफूले चाहे जसरी प्रयोग गर्न सक्छ ।  

त्यसैले वेब प्रयोग गर्दा डिजिटल फुटप्रिन्ट्स चोरी हुनबाट जोगिन कडाभन्दा कडा पासवर्ड प्रयोग गर्नुहोस् । आफूले विरलै प्रयोग गर्ने वा आफूलाई काम नलाग्ने फेसबुक वा अन्य सामाजिक सञ्जालका पोस्टहरू डिलिट गर्नुहोस् । 

फुटप्रिन्ट्स न्यूनीकरण गर्नुहोस्

डिजिटल फुटप्रिन्ट्स व्यावसायिक र कानूनी रूपमा धेरै उपयोगी हुन्छन् । तर, त्यसका जोखिम पनि उत्तिकै छन् । तपाईंको डिजिटल फुटप्रिन्ट्सबाट बिरानो मान्छेले तपाईंको बारेमा कति कुराहरू थाहा पाउन सक्छ भन्ने महत्त्वपूर्ण हुन्छ । जति धेरै थाहा पाउन सक्यो त्यति नै तपाईंमाथि बढी बढी हुन्छ ।

तपाईंले इन्टरनेट प्रयोग गर्दा सतर्क भएर, उपयोगी र भरपर्दो वेबपेज खोलेर, व्यक्तिगत जीवनसँग सरोकार राख्ने कमभन्दा कम जानकारी वा पोस्ट राखेर डिजिटल फुटप्रिन्ट्सलाई कम गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १०, २०८० १५:९