close

गुगलले ल्यायो शक्तिशाली एआई मोडेल ‘जेमनाइ’, च्याटजीपीटीलाई टक्कर दिने अनुमान

टेकपाना टेकपाना

मंसिर २२, २०८० १४:५५

गुगलले ल्यायो शक्तिशाली एआई मोडेल ‘जेमनाइ’, च्याटजीपीटीलाई टक्कर दिने अनुमान

काठमाडौं । गुगलले आफ्नो अहिलेसम्मकै शक्तिशाली एआई मोडेलका रूपमा ‘जेमनाइ एआई’ (Gemini AI) ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाइले बुधवार एक ब्लगपोस्टमार्फत गुगलको अहिलेसम्मकै शक्तिशाली एआई मोडेल ल्याएको घोषणा गरेका हुन् ।

गुगलले पछिल्लो लार्ज ल्याङ्ग्वेज मोडेल गत जुनमा भएको आईओ डेभलपर कन्फेरेन्समा घोषणा गरेको थियो । अहिले भने कम्पनीले यो टुल के हो, कस्ताे काम गर्न सक्छ भन्ने जानकारी दिएको छ । विशेषगरी गुगलले एआईमार्फत कसरी आम्दानी गर्न सक्छ भन्ने प्रश्नको जवाफ कम्पनीले प्रिमियम मोडेलको जेमनाइ एआई ल्याएर दिएको छ । अर्थात् जेमनाइ एआई मोडेल प्रयोग गर्नका लागि प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने हुन्छ । 

लार्ज ल्याङ्ग्वेज मोडेल जेमनाइ विभिन्न तीन ओटा साइजमा सार्वजनिक गरेको छ । जसमा जेमनाइ अल्ट्रा, सबैभन्दा शक्तिशाली मोडेलमा पर्छ । त्यस्तै अर्को साइज रहेको छ जेमनाइ प्रो, जसले प्रयोगकर्ताले भने अनुसारका थुप्रै काम गर्न सक्छ । र, अन्तिममा जेमनाइ नानो रहेको छ । यसले मोबाइल डिभाइसमा केही सीमित काम गरिदिन्छ । 

अहिलेलाई कम्पनीले जेमनाइको लाइसेन्स गुगल क्लाउड मार्फत गुगलकै एपमा प्रयोग गर्न सकिने गरी उपलब्ध गराउने योजना बनाएको छ । १३ डिसेम्बरदेखि डेभलपर र इन्टरप्राइज कस्टुमरले गुगल एआई स्टुडियो वा गुगल क्लाउड भर्टेक्समा जेमनाइ एपीआई मार्फत जेमनाइ प्रो प्रयोग गर्न सक्नेछन् । जेमनाइलाई कम्पनीले गुगलका अन्य प्रडक्ट जस्तै बार्ड च्याटबट र सर्च जेनेरेटिभ एक्सपिरियन्समा समेत प्रयोग गर्ने उल्लेख गरेको छ । 

च्याटबटमार्फत कस्टुमर सर्भिस स्तरीय बनाउन चाहने कम्पनी तथा इन्टरप्राइजलाई यो सेवा उपयुक्त हुने बताइएको छ । यसलाई प्रयोगकर्ताले मार्केटिङ क्याम्पियन, ब्लग लेख्न त अन्य रचनात्मक कामका लागि प्रयोग गर्न सक्नेछन् । त्यस्तै मिटिङ समराइज गर्नुपर्‍यो वा डेभलपरका लागि कोड तयार पार्नुपर्‍यो भने पनि जेमनाइको प्रयोग गर्न सकिनेछ । 

जेमनाइको सबैभन्दा उत्कृष्ट मोडेल जेमनाइ अल्ट्राले विज्ञको काम गर्न सक्ने कम्पनीको दाबी छ । यसले गणित, भौतिकशास्त्र, इतिहास, कानून, औषधि लगायतका ५७ ओटा विषय समेट्ने भएकाले प्रयोगकर्ताले खोजेकै सटीक जानकारी पाउने कम्पनीले उल्लेख गरेको छ । यसले विशेषगरी तार्किक प्रश्न र जटिल गणितीय सवालको पनि उत्तर दिनेछ । ओपनएआईकाे पछिल्लो एआई मोडेल जीपीटी फोरलाई समेत यसले कडा चुनौती दिने अनुमान गरिएको छ ।

गुगलले जेमनाइले दिएको जवाफको भिडिओ पनि सार्वजनिक गरेको छ । सो भिडिओमा प्रयोगकर्ताले जटिलभन्दा जटिल र तार्किक प्रश्न सोधेका छन् भने जेमनाइले सहजै उत्तरहरू दिएको देखाइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०८० १५:१५