close

कुनालले खोलेको ‘कुन्यो’, यसरी बन्यो नेपालको चर्चित गेमिङ जोन

टेकपाना टेकपाना

पुस १३, २०८० १९:५९

कुनालले खोलेको ‘कुन्यो’, यसरी बन्यो नेपालको चर्चित गेमिङ जोन

काठमाडौं । यदि तपाईं गेमिङमा रुचि राख्नुहुन्छ भने डोटा टू, सीएस गो जस्ता पीसी गेमबारे अवश्य थाहा पाउनु भएको हाेला । तिनै गेम खेल्दै गेमिङमा करियर बनाउन सफल पात्र हुन्, कुनाल तिमल्सिना । 

गेमिङ क्षेत्रमा विद्यालय तहदेखि नै उनी छिरेका थिए । खाजाको पैसा जोगाएर, घरमा पैसा मागेर गेम खेल्न उनी नियमित साइबर तथा गेम जोन धाउने गर्थे । उनी आफू भने कक्षा २ पढ्दादेखि गेम खेल्न थालेको बताउँछन् । पछि कक्षा र उमेर बढ्दै जाँदा गेम खेल्ने बानी पनि बढ्दै गयाे । गेमिङका माध्यमबाट विद्यालय तह हुँदै उनले थुप्रै साथीहरू बनाएका थिए । उनी जुन गेम जोनमा जान्थे, त्यहीँ ती साथीहरू पनि आइपुग्थे । त्यसो हुँदा उक्त गेम जोनमा खेल्ने मान्छे प्रशस्तै हुन्थ्यो । आफ्नो कारण गेम जोनको व्यापार बढेपछि कमिसन स्वरूप उनी भने नि:शुल्क खेल्ने गर्थे । 

त्यस्तै विद्यालय तहदेखि नै विभिन्न गेमिङ प्रतियोगिताहरूमा उनी सहभागी हुने गर्थे । त्यस्ता प्रतियोगिताले आफ्नो गेमिङ स्किल (खेल खेल्ने सीप) बढाउन भूमिका खेलेको उनको अनुभव छ । अलि पछि भने त्यस्ता प्रतियोगिताहरू उनी आफैंले आयोजना गर्न थाले । कक्षा १० पुगेपछि भने उनले आफ्नै पीसी पनि पाए । 

त्यसपछि अनलाइनबाट गेमहरू खेल्न थाले । त्यसले गर्दा आफू अझ राम्रो खेल्न सक्ने भएको उनी बताउँछन् । अनलाइनबाट गेमहरू नखेल्नुलाई उनी आफ्नो गेमिङ करियरका लागि कमजोरी मान्छन् । “२ कक्षादेखि ९ सम्म मैले के सिकेँ होला र ! उही मान्छेहरूसँग खेलिरहन्थे,” उनी भन्छन्, “फरक-फरक मान्छेहरूसँग खेल्न पाएको भए विभिन्न प्रकारका खेलाडीसँग खेल्न पाइन्थ्यो । त्यसले म अझ राम्रो हुने थिएँ होला ।” 

तर जसै विद्यालय तह सकियो, त्यसपछि मात्र गेमिङमा आफ्नो करियर सुरु भएको उनी मान्छन् । विद्यालय तह उत्तीर्णपछि नेपालमा नै केही गर्ने कि विदेश जाने भन्ने कुरामा उनी दोधार थिए । पढ्न भनेर उनले अमेरिकामा छात्रवृत्ति पाएका थिए । तर नेपालमै बसे ।

हरेक गेमलाई फरक अनुभव मान्ने उनले त्यो निर्णयपछि खेल मात्र खेलिरहेनन् । हुन त गेम खेलेर उनले केही कमाइरहेका थिए । तर त्यति पर्याप्त थिएन । अनि विदेशबाट गेमिङ एक्सेसरिजहरू नेपाल ल्याएर बिक्री गर्न थाले । त्यो उनको नयाँ सुरुवात थियो । सुरुमा उनले माउस किबोर्डहरू त्यसरी बेच्ने गर्थे । एक पटक उनले 'कुन्यो' नाम राखेर गेमिङ कुर्सी ल्याए, जुन धेरै मात्रामा बिक्री भयो । त्यसपछि सोही नामबाट उनले अन्य सामानहरू ल्याएर बिक्री गर्न थाले । 

अहिले यही नाम नेपाली गेमिङ क्षेत्रमा स्थापित भइरहेको छ । तिमल्सिनाले गेमिङ एक्सेसरिज बेच्नेदेखि गेम खेल्न दिन ब्रान्डको रूपमा कुन्योलाई चिनाउन खोजिरहेका छन् । ‘यायो’ नाम गरेका खेलाडी पीसी गेम डोटाका लागि निकै प्रख्यात थिए । तिमल्सिनाले पनि आफ्नो नाम त्यस्तै राख्न चाहे । अनि कुनालको अघिल्लो नामबाट ‘कुन्’ र यायोको ‘यो’ लाई जोडेर कुन्यो बनाएका थिए । 

कोभिड महामारीअगाडि विभिन्न ठाउँमा फरक-फरक नाम राखेर तिमल्सिनाले गेमिङ जोन चलाएका थिए । तर लकडाउनले गर्दा ती सबै गेमिङ जोन बन्द हुन पुगे । ‍महामारी सामान्य भएपछि अहिले पुन: पुतलीसडकको स्टार मलमा कुन्यो गेमिङ जोन सञ्चालनमा ल्याएका छन् । 


गेम खेल्ने मान्छेका लागि यो ठाउँ स्वर्ग हो । यहाँ आएर इच्छुक गेमरले सस्तो मूल्यमा राम्रो कम्प्युटरमार्फत गेम खेल्न सक्छन्, उनी भन्छन् । उनका अनुसार यहाँ गेम खेल्न पीसी गेमिङको प्रतिघण्टा १०० रुपैयाँ, रेसिङ ह्विलको प्रतिघण्टा २०० रुपैयाँ, पीएस फाइभको प्रतिघण्टा २०० रुपैयाँ शुल्क लाग्छ । जुन मूल्य छुट्टीकाे दिन बढ्न सक्छ । तर सदस्यता लिँदा भने मूल्य आधा पर्न जान्छ । यस ठाउँमा सबै प्रकारका गेम खेल्न सकिने उनको भनाइ छ । “यहाँ खेलिने धेरैजसो गेम सशुल्क हुन्छन् । फोर्टनाइट, डोटा टु, काउन्टर स्ट्राइक आदि बढी खेलिने गेममा पर्छन्,” उनी भन्छन्, “ग्राहकको अकाउन्टमा छ कुनै गेम छ भने डाउनलोड गरेर खेल्न समेत सक्छन् ।”

गेम खेल्दा कुनै अवरोध नहोस् भनेर जोनमा उच्च गतिको इन्टरनेट, इन्भर्टर र जेनरेटरको व्यवस्था गरिएको तिमल्सिना बताउँछन् । अहिले यस गेम जोनमा ४० भन्दा बढी कम्प्युटर छन् । जुन ग्राहकको माग बमोजिम घटबढ हुन्छ । कुन्योका अन्य सामग्रीहरू समेत यहीँ ठाउँबाट बिक्री गर्ने भएकाले यस जोनलाई उनी ‘एक्सपेरियन्स सेन्टर’ समेत मान्ने गर्छन् । “हामी आफ्नै ब्रान्डको सामग्रीहरू समेत यहाँबाट बिक्री गर्छौं । ग्राहकले यहाँ परीक्षण गरेर सन्तुष्ट भएपछि मात्र किन्न सक्छन्,” उनी भन्छन् । अहिले उनले यही ब्रान्डको कुर्सी, की बोर्ड, मनिटर, केसिङ लगायतका एक्सेसरिजहरू बिक्री गरिरहेका छन् । 

यद्यपि बिक्रेता र खेलाडीमात्र उनको पहिचान भने होइन । पब्जी, डोटा टुका स्पोर्ट टिमहरूको व्यवस्थापनमा समेत उनी सक्रिय छन् । अहिले उनले फोर मेरिकल भाइम्सबाट मंगोलियन पब्जी टिमको व्यवस्थापन गरिरहेका छन् । यसअघि उनी नेपाली पब्जी टिम हाई भोल्टेजमा थिए ।

पछिल्लो अध्यावधिक: पुस १३, २०८० १९:५९