close

टिकटकमा अब वाटरमार्क बिनै भिडिओ सेभ गर्न सकिने

टेकपाना टेकपाना

माघ ११, २०८० १५:५७

टिकटकमा अब वाटरमार्क बिनै भिडिओ सेभ गर्न सकिने

काठमाडौं । भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले वाटरमार्क बिनै भिडिओ सेभ गर्न मिल्ने फिचर ल्याउने भएको छ । सामाजिक सञ्जाल विश्लेषक म्याट नभर्राले हालै एक्समा एक पोस्ट राख्दै टिकटकले यस्तो फिचर ल्याउन लागेको खुलासा गरेका छन् ।

हालसम्म टिकटकबाट कुनै पनि भिडिओ डाउनलोड गर्दा क्रियटरको युजरनेम सहितको वाटरमार्क देखिन्छ । वाटरमार्क बिनाको भिडिओ डाउनलोड गर्न सकिने फिचर आएपछि प्रयोगकर्ताले जुनसुकै प्लेटफर्ममा सो भिडिओ अपलोड गर्न सक्नेछन् । योसँगै वाटरमार्क बिनाको भिडिओ डाउनलोड गर्न थर्ड पार्टी टुलको भर पर्नुपर्ने छैन ।

विश्लेषक नभर्राका अनुसार टिकटकले क्याप्सन एडिट गर्न सकिने फिचर पनि ल्याउन लागेको छ । यसअघि क्याप्सनमा केही बिग्रिए भिडिओ नै डिलिट गरेर पुनः अपलोड गर्नुपर्ने बाध्यता थियो । अब भने  प्रयोगकर्ताले सहजै क्याप्सन एडिट गर्न सक्नेछन् ।

त्यस्तै टिकटकले अटो स्क्रोल फिचर पनि ल्याउन लागेको छ । पछिल्ला केही महिनादेखि टिकटकले परीक्षण गरिरहेको यस्ताे स्क्राेलिङ फिचर छिट्टै आउने बताइएको छ ।

कम्पनीका अनुसार यो फिचर आइसकेपछि प्रयोगकर्ताले नयाँ भिडिओ हेर्न औंलाले स्क्रोल गरिरहन पर्दैन । लाइक, कमेन्ट, रिपोस्ट वा शेयर गर्ने लगायतका कामका लागि मात्र स्क्रिनमा टच गरे पुग्छ । यदि ‘फर योर पेज’मा भिडिओको सट्टा फोटो आयो भने उक्त फिचरले एक/एक गरी फोटो स्वाइप गर्ने कम्पनीले उल्लेख गरेको छ ।

तपाईंले टिकटकमा अटो स्क्रोल अन गर्नुभएको छ र भिडिओ हेर्दै गर्दा फोन हातमा लिएर त्यसलाई उल्टो पार्नुभयो भने ‘म्यानुअल स्क्रोल’ अन हुन्छ ।

अहिले यो फिचर परीक्षणकै क्रममा भएकाले केही सीमित प्रयोगकर्तामाझ मात्र उपलब्ध छ । पछिल्लो समय टिकटकमा प्रयोगकर्ताले यो फिचर सर्वाधिक माग गरिएको फिचरमा पर्छ । यदि यो फिचर तपाईंको अकाउन्टमा उपलब्ध भइसकेको छ भने टिकटकको सेटिङमा गएर भ्वाइस कन्ट्रोल एक्टिभेट गर्नुपर्ने हुन्छ । अनि तपाईंले कुन कमान्ड दिंदा भिडिओ स्क्रोल हुने बनाउने भन्ने छान्न सक्नुहुन्छ । त्यसरी तपाईंले अटो स्क्रोल फिचर अन गरिसकेपछि भिडिओ स्वतः स्क्रोल हुन थाल्छ ।

यसअघि सन् २०१४ मा युट्युबले अटो प्ले फिचर परीक्षण सुरु गरेको थियो । शर्ट्सका रूपमा छोटो भिडिओ अपलोड गर्न सकिने फिचर ल्याएको युट्युबले पनि यस्तै फिचर ल्याउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: माघ ११, २०८० १५:५७