close

सामाजिक सञ्जालका नक्कली मायालुलाई आफ्नो बैंक/वालेट खाता प्रयोग गर्न दिंदा फस्नुहोलाः साइबर ब्युरो

टेकपाना टेकपाना

माघ २२, २०८० १९:५९

सामाजिक सञ्जालका नक्कली मायालुलाई आफ्नो बैंक/वालेट खाता प्रयोग गर्न दिंदा फस्नुहोलाः साइबर ब्युरो

 

काठमाडौं । विदेशी नागरिकको फोटो प्रयोग गरी खोलिने सामाजिक सञ्जालका नक्कली अकाउन्टबाट हुने ठगी कार्य बढेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले सचेत रहन अनुरोध गरेको छ । सोमबार एक सूचना जारी गर्दै ब्युरोले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, भाइबर लगायतका सामाजिक सञ्जालमा ठगी गर्ने गतिविधि बढेकोले सावधानी अपनाउन ब्युरोले अनुरोध गरेको हो ।

ब्युरोका अनुसार त्यस्ता नक्कली अकाउन्टमा कुनै विदेशी नागरिकको फोटो प्रयोग गरिएको हुन्छ । जसबाट आपराधिक मनसाय राख्ने व्यक्तिले विभिन्न सामाजिक सञ्जाल अकाउन्टमार्फत अन्य व्यक्तिसँग साथी बनी कुराकानी गर्छन् । 

साथै त्यस्ता व्यक्तिहरूले विभिन्न बहाना, लोभ देखाई विश्वासमा पारी प्रेमजालमा समेत पार्छन् । यता आफूमाथि ठगी भइरहेको थाहा नपाउने व्यक्तिहरू भने नक्कली प्रेमी-प्रेमिकाको लागि आफ्नो नाममा अनलाइन वालेट तथा बैङ्क खाता खोल्ने तथा अनलाइन बैंकिङको आईडी पासवर्ड उपलब्ध गराउँन् । 

त्यस्तै बैंकको एटीएम कार्ड/चेक बुक अन्य देशमा कुरियर गरी पठाउने, आफ्नो नागरिकताको स्क्यान कपी दिने, ओटीपी कोड उपलब्ध गराउने लगायतका कार्यहरू समेत गर्छन् । यस्तो कार्य गर्दा कानून विपरीत हुन जाने र कानूनी फन्दामा पर्न सकिने चेतावनी समेत ब्यूरोले सूचनामा दिएको छ । 

आफ्नो व्यक्तिगत बैंक अकाउन्ट, नागरिकता लगायतका विवरणबाट कुनै आपराधिक कार्य भए/गरेको पाइएमा त्यसको जवाफदेही तपाईं स्वयँ हुनु पर्ने कुरा समेत ब्युरोले स्पष्ट पारेको छ । "त्यस्ता कार्यहरू नगरी कानूनी झन्झटमा पर्नबाट जोगिनु हुन नेपाल प्रहरी साइबर ब्युरो आम नागरिकमा अनुरोध गर्दछ," सूचनामा भनिएको छ । 

पछिल्लो अध्यावधिक: माघ २२, २०८० २०:९