close

विदेशमा यसरी प्रयोग गर्नुहोस् नेपाल टेलिकमको सिम

टेकपाना टेकपाना

फागुन ३, २०८० १४:७

विदेशमा यसरी प्रयोग गर्नुहोस् नेपाल टेलिकमको सिम

काठमाडाैं । तपाईँ विदेश जाँदै हुनुहुन्छ ? विदेशमा पनि तपाईँले अहिले प्रयोग गरिरहेको प्रिपेड वा पोस्टपेड सिम चलाउन सक्नुहुन्छ । सबै देशमा यो सेवा उपलब्ध नभए पनि नेपालीहरू जाने अधिकांश देशमा नेपाल टेलिकमको सिम चलाउन सकिन्छ । यसरी विदेशमा नेपालको सिम चलाउन सकिने सेवालाई रोमिङ सेवा (Roaming Service) भनिन्छ । आज हामी विदेशमा नेपाल टेलिकमको सिम कसरी चलाउने भन्नेबारे जानकारी दिँदैछौंः 

नेपाल टेलिकमकै सिम अन्य देशको टेलिकम अपरेटरको नेटवर्कमा चलाउन सकिने सेवा रोमिङ सेवा हो । टेलिकमले यस्तो सेवा चलाउँदा लाग्ने महसुल दर पहिलेभन्दा कम गराएको छ । एसएमएस हेर्न भने शुल्क लाग्दैन । त्यसैले केही समयका लागि विदेश जाने वा विदेशमा बसेर पनि नेपालकै सिममार्फत बैंक खाता चलाउने हरूका लागि हाल नेपाल टेलिकमको सिम उपयोगी हुन्छ । 

यसका लागि अन्य देशको कुनै मोबाइल अपरेटरको सिम चलाउनुपर्ने झन्झट हुँदैन । तर रोमिङ सेवा लिन विदेश जानुभन्दा पहिले नेपालमै रहेको समयमा यस सम्बन्धी केही जानकारी लिएर आवश्यक कार्य गर्दा यो सेवा प्रयोग गर्न सहज हुन्छ । 

-सबैभन्दा पहिले आफू जुन देशमा जान लागेको हो, त्यो देशमा रोमिङ सेवा उपलब्ध भए/नभएको यकिन गर्नुपर्छ । यो लिंकमा प्रिपेड रोमिङ उपलब्ध भएका देशहरू र महसुल दर हेर्न सकिन्छ । यदि तपाईँ यहाँ उपलब्ध सूची अनुसारका देशहरूमा जाँदै हुनुहुन्छ भने सहज रुपमा प्रिपेड मोबाइलमा रोमिङ सेवा उपयोग गर्न सक्नुहुन्छ । 

यसैगरी यदि तपाईँसँग पोस्टपेड मोबाइल छ भने पोस्टपेड मोबाइलमा स्ट्यान्डर्ड रोमिङ सेवा उपलब्ध भएका देशहरूको सूची यो लिंकमा हेर्न सक्नुहुन्छ भने डिस्काउन्टेन्ट रोमिङ सेवा उपलब्ध भएका देशहरूको सूची यो लिंकमा हेर्न सक्नुहुन्छ । 

डिस्काउन्टेड रोमिङ सेवाको महसुल दर स्ट्यान्डर्ड भन्दा कम हुन्छ । त्यसैले तपाईँले यही सेवा उपयोग गर्नु लाभदायक हुन्छ । रोमिङ सेवा र यसको वारेमा विस्तृत जानकारी यहाँ हेर्न सकिन्छ ।

हाल नेपाल टेलिकमको सिम लिएर भारत गएको समयमा भारतकै कुनै नम्बरमा कल गर्दा प्रति मिनेट रु. ७ शुल्क लाग्छ । त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट रु. ७ लाग्छ भने एसएमएस गर्दा प्रति एसएमएस रु. ७ नै लाग्छ ।

त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट रु. ५० मात्र लाग्छ । त्यसैगरी आएको कल उठाउँदा प्रति मिनेट रु. २५ र एसएमएस गर्दा प्रति एसएमएस रु. १० लाग्छ । त्यस्तै डेटा चलाउँदा प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्छ। यस अनुसार प्रति एमबी करिब रु. ५ लाग्छ । 

-तपाईँ नेपालमै भएको समयमा रोमिङ सेवा सक्रिय (Active) गराउँदा राम्रो हुन्छ । आफ्नो मोबाइलबाट *१४१५*७# डायल गरेर दिएको निर्देशन अनुसार रोमिङ सेवा एक्टिभ गर्न सकिन्छ। आफैले सो सेवा एक्टिभ गर्न अप्ठ्यारो लागेमा नजिकैको नेपाल टेलिकमको कार्यालयमा गई सेवा एक्टिभ गर्न सकिन्छ । 

-यदि तपाईँ नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश जानुभयो भने त्यहीबाट पनि यो सेवा एक्टिभ गर्न सकिन्छ। आफूसँग भएको सिममा रोमिङ सेवा एक्टिभ गर्नका लागि फारम भरेर ईमेलमार्फत आवेदन दिनुपर्छ। यसका लागि सवैभन्दा पहिले नेपाल टेलिकमको वेबसाइटमा रहेको डाउनलोड अप्सन अन्तर्गत रहेका विभिन्न फारम मध्ये रोमिङ एक्टिभसँग सम्बन्धित फारम भर्नुपर्छ ।

रोमिङका लागि नेपाल टेलिकमको वेबसाइटमा रहेको डाउनलोड लिंक अन्तर्गत 'International Roaming' मा क्लिक गरी प्रिपेड वा पोस्टपेडमा क्लिक गरी फारम डाउनलोड गर्न सकिन्छ । 

रितपूर्वक फारम भरिसके पछि आफ्‌नो नागरिकता बा पासपोर्टको फोटोकपि र भरिएको फारमलाई [email protected] मा ईमेल गर्नुपर्छ। यसरी गरिएको ईमेल प्राप्त भए पश्चात नेपाल टेलिकमले सम्बन्धित प्रिपेड मोबाइलमा रोमिङ सेवा उपलब्ध गराइदिन्छ। यति भए प्रिपेड सिममा रोमिङ सेवा एक्टिभ हुन्छ । 

तर पोस्टपेड सिममा भने यसरी एक्टिभ गराउनका लागि सिममा ब्यालेन्स रकम कमसेकम ५ हजार रुपया हुनु आवश्यक छ। याद पोस्टपेडको एकाउन्ट नम्बरमा ५ हजार भन्दा कम मात्र ब्यालेन्स रकम रहेछ भने नजिकको दूरसञ्चार कायर्यालयमा गएर वा आफै कुनै माध्यमवाट ५ हजार रकम पुग्ने गरी नगद रकम जम्मा गर्नुपर्छ । 

-प्रिपेड सिममा जतिसुकै रकम भए पनि आवश्यकता अनुसार रोमिङ सेवा चलाउन सकिन्छ । यसका लागि रकमको कुनै सिमा छैन। तर पोस्टपेड सिममा भएको ब्यालेन्स रकम घटेर ३ हजार भन्दा कम भयो भने रोमिङ सेवा चलाउन सकिदैन । त्यसैले विदेश जाँदा आवश्यकता अनुसार धेरै रकम जम्मा गरेर जानु राम्रो हुन्छ । 

-यस प्रकार रोमिङ सेवा एक्टिभ गराइसके पछि आफूले प्रयोग गर्ने मोबाइलमार्फत सम्बन्धित देशको मोबाइल सेवाप्रदायक (अपरेटर) को नेटवर्कसँग जोडिन (Latch) पर्छ । सामान्यतः स्वचालित रुपमा नेटवर्कसँग जोडिन (Auto Latch) सक्छ । यदि Auto Latch भएन भने नेटवर्क सर्च गरेर Manual Latch गर्नुपर्छ । 

-यदि तपाईँसँग एन्ड्रोइड मोबाइल सेट छ भने त्यसको सेटिङमा भएको मोबाइल नेटवर्क, अनि सर्च नेटवर्क गरेर सर्च अपरेटर गर्दा सम्बन्धित देशको मोबाइल अपरेटरको नेटवर्क देखिन सक्छ । त्यही नेटवर्क सेलेक्ट गरेमा आफ्नो मोबाइलमार्फत अब रोमिङ सेवा प्रयोग गर्न सकिन्छ ।

यदि तपाईँसँग आईफोन छ भने त्यसमा भएको 'सेटिङ' हुँदै सेलुलर, नेटवर्क सेलेक्सन पछि सेलेक्ट गर्दा सम्बन्धित मोबाइल नेटवर्क देखिन्छ र रोमिङ सेवा प्रयोग गर्न सकिन्छ ।

एन्ड्राेइड फाेनका लागि: Settings> Mobile Network ->Search Network -> Search Operator

​आईओएसका लागि: Settings-> Cellular -> Network Selection -> Select

​यदि तपाईँ भारत जाँदै हुनुहुन्छ भने भारतमा रोमिङ डेटा प्याक समेत छ । अन्य देशमा भने रोमिङ प्याक उपलब्ध छैन। भारतमा रोमिङ डेटा प्याक भएकाले कम मूल्यमा डेटा समेत चलाउन सकिन्छ । 

विदेशमा जाने बा बस्ने नेपालीहरूलाई लक्षित गरी उपलब्ध गराएका विभिन्न सुविधामध्ये रोमिङ सेवा निकै नै उपयोगी भएकाे कम्पनीकाे भनाइ छ । आगामी दिनमा यस प्रकारका सेवालाई अझै आकर्षक बनाउन आफू प्रयासरत रहने कम्पनीले जनाएको छ ।

-नेपाल टेलिकमको न्युजलेटरबाट साभार

पछिल्लो अध्यावधिक: फागुन ४, २०८० १५:५४