काठमाडौँ । एग्रोटेक कम्पनी कनेक्ट किसानले एआई च्याटबट ‘कृषि बट’ सार्वजनिक गरेको छ । बुधबार राजधानीमा आइडिया स्टुडियोले आयोजना गरेको कार्यक्रम ‘आइडियाटोर’ मा सहभागी हुँदै कम्पनीले ‘कृषि बट’ नामको एआई असिस्टेन्ट टुल सार्वजनिक गरेको हो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कनेक्ट किसानको एआईलाई ‘कफी सुकाउने तरिका बारेमा बताउन सक्नुहुन्छ ?’ भनेर सोधेका थिए । यसको जवाफ ह्वाट्सएप च्याटमार्फत ‘कृषि बट’ ले दिएको थियो ।
कृषि बट प्रयोग गर्नका लागि मोबाइलमा ह्वाट्सएप डाउनलोड हुनुपर्छ । कनेक्ट किसानले उपलब्ध गराएको क्यूआर कोड मोबाइलले स्क्यान गरेपछि प्रयोगकर्ता सोझै ह्वाट्सएप च्याटबटमा पुग्न सक्छन् । ह्वाट्सएपमा पुगेपछि प्रयोगकर्ताले अडियो कुराकानीमार्फत कृषि सम्बन्धी जिज्ञासा राख्न सक्छन् । त्यसपछि बोलेर नै एआईले किसानलाई जवाफ दिनेछ ।
कम्पनीकी सीईओ सञ्जिता लामिछानेले भनिन्, “अहिले हामी परीक्षणकालीन अवस्थामा छौँ । हालका लागि यसले नेपालमा कफी खेतीका विभिन्न पक्षहरूको बारेमा मात्र जानकारी दिन सक्छ ।” यस्तै अन्य विभिन्न बाली कसरी खेती गर्ने लगायतका विषयमा पनि नेपालको भूगोल र परिवेशको आधारमा अध्ययन गरेर कृषि बटले अन्तर्क्रिया गर्नसक्ने बनाउने उनले उल्लेख गरिन् ।
“हामीले गुगलमा भएका जानकारीको आधारमा एआई च्याटबटलाई तालिम दिएका छैनौँ । नेपालको लागि काम लाग्ने गरी आफैँले रिसर्च गरेर राखेका हौँ ।”
कृषि बटसँग अङ्ग्रेजी र नेपाली दुबै भाषामा कुराकानी गर्न सकिन्छ । यस्तै टेक्स्ट लेखेर र बोलेर पनि कुराकानी गर्ने सुविधा छ । च्याटबटलाई म्यासेज पठाएको केही सेकेन्डमा जवाफ दिने गर्छ ।
कनेक्ट किसानले आफ्नो एपमार्फत किसानलाई विभिन्न बाली, रोग, किरा र समाधानको उपायबारेमा जानकारी दिँदै आएको छ । तर, किसानलाई एप प्रयोग गरेर बालीका बारेमा जानकारी लिन समस्या भएको महसुस गरेको लामिछानेले बताइन् ।
उनले थपिन्, “त्यही भएर बोलेर च्याट गर्न सक्ने सुविधा भएको एआई च्याटबट ल्याएका हौँ । तर, बोलेर जानकारी लिँदा भन्दा पनि भिडिओ नै हेरेर किसानले जानकारी लिन सक्नुभयो भने बुझ्न थप सजिलो हुन्छ । त्यसैले किसान जिज्ञासा एक-दुई मिनेटको भिडिओबाट एआईले जानकारी दिनसक्ने गरी पनि काम गरिरहेका छौँ ।”