close

प्रोग्रेशिभ फाइनान्सले सुरु गर्‍यो ‘नेपालपे कार्ड’, केके छन् सुविधा ?

टेकपाना टेकपाना

जेठ २२, २०८२ ८:५

प्रोग्रेशिभ फाइनान्सले सुरु गर्‍यो ‘नेपालपे कार्ड’, केके छन् सुविधा ?

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बिच एनपीएस-एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) कार्यान्वयन गर्ने विषयमा समझदारी भएको छ । सम्झौतापत्रमा प्रोग्रेशिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

एनसीएचएलले हालै एनपीएस-एनसीएसको पूर्वाधार तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्डको इस्युइङ र अक्वायरिङ सेवा सुरु गर्न आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो । त्यसै अनुरूप प्रोग्रेशिभ फाइनान्स लिमिटेड पनि नेपालपे कार्डमा आबद्ध भएको हो ।

योसँगै प्रोग्रेसिभ फाइनान्सले आफ्ना ग्राहकलाई नेपालपे कार्ड जारी गर्नसक्ने छ । 

एनपीएस-एनसीएसलाई विभिन्न कार्ड स्विचहरूसँग अन्तरआवद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टका लागि एक केन्द्रीय कार्ड स्विचको रूपमा विकास गरिएको हो । यस प्रणालीको पूर्ण कार्यान्वयनपछि डोमेस्टिक कार्ड कारोबार लागत घट्ने, डेटा लोकलाइजेसन सुनिश्चित गर्ने तथा डिजिटल इकोसिस्टममा नवीनतम प्रविधिहरूको विकास र प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश भुक्तानी सेवा सञ्चालक र भुक्तानी सेवा प्रदायकका साथै एक सयभन्दा बढी गैरबैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीमार्फत सेवा दिँदै आएको छ ।

के हो डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) ?

एटीएममा पैसा झिक्न जाँदा सम्पूर्ण विवरण प्रविष्ट गरिसकेपछि पैसा निस्किन केही समय लाग्छ । त्यो समय के को लागेको होला ? हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूले अन्तर्राष्ट्रिय कार्ड उपलब्ध गराइरहेका छन् । यसले गर्दा तपाईं एटीएममा गएर पैसा झिक्दा केही समय लाग्छ- अन्तर्राष्ट्रिय डेटा राउटिङका कारण । अर्थात् तपाईंले पैसा प्राप्त गर्नुभन्दा अगाडिको जुन ५-६ सेकेन्ड समय छ, त्यो समयमा तपाईंले प्रविष्ट गरेको डेटा तपाईंको बैंक हुँदै तपाईंले बोकेको कार्डको डेटा सर्भर भएको देशसम्म पुगेर फर्कन्छ । जसले गर्दा पैसा निस्किन समय लाग्छ । यो प्रक्रिया अन्तर्राष्ट्रिय कार्ड स्किमभित्र पर्दछ ।

अब यही प्रक्रियालाई डोमेस्टिक कार्ड स्किमको रूपमा बुझ्दा, हामीले एटीएममा गएर आफ्नो विवरण प्रविष्ट गरिसकेपछि जुन डेटा विदेश घुमेर आउँथ्यो, अब त्यो नेपालभित्रै एनसीएचएलको सर्भरमा घुम्नेछ । अर्थात्, नेपालको डेटा नेपालमै रहनेछ । अर्को कुरा, यो स्किम अन्तर्गत तपाईंले कुनै एउटा बैंकको एटीएम अन्य बैंकको एटीएमहरूमा पनि प्रयोग गर्न सक्नुहुनेछ । जसरी अहिले आफ्नो बैंकको कार्ड अन्य बैंकको एटीएममा पनि प्रयोग गरिरहनु भएको छ । सोही अनुरूप यो कार्ड पनि सम्पूर्ण नेपाली बैंकहरूको नेटवर्कमा काम गर्नेछ । त्यसैले पनि यसलाई डोमेस्टिक कार्ड स्किम भनिन्छ ।

यस प्रणालीको महत्त्वपूर्ण पक्ष भनेको, यसअन्तर्गत हुने कारोबारको डेटा स्थानीय स्तरमै नियन्त्रण हुनु हो । यही अवधारणा अनुरूप नेपालपे कार्ड तयार गरिएको हो । राउटिङ, क्लियरिङ र सेटलमेन्ट नेपालभित्र नै हुनेछ । यसलाई विश्वस्तरमा हेर्ने हो भने हाल छिमेकी देश भारतसँगै विश्वका विभिन्न देशले अन्तर्राष्ट्रिय कारोबारको सुविधासहित डोमेस्टिक कार्ड स्किम सञ्चालन गरिरहेका छन् ।

नेपालपे कार्डले केके काम गर्छ ?

अहिले हामीले जसरी हाम्रो बैंकहरूबाट डेबिट वा क्रेडिट कार्ड पाउँछौं, त्यसैगरी नेपालपे कार्ड पनि डेबिट, क्रेडिट, प्रिपेड र भर्चुअल कार्डका रूपमा उपलब्ध हुनेछ । यसमा अनलाइन भुक्तानीदेखि लिएर अन्तरआबद्ध भएका बैंकको एटीएमबाट पैसा झिक्न पनि मिल्नेछ । हाल यो सुरुवाती चरणमा नै भएकाले, देशभित्र मात्र यो कार्ड प्रयोग गर्न सकिनेछ । तर, यसलाई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रयोगमा ल्याउनका लागि काम भइरहेको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत प्रधान बताउँछन् । यस्तै, छिट्टै नै नेपालपे डलर कार्डका लागि पनि काम भइरहेको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ १६:१७