close

नेपालमा अझै टिकटक चलिरहे खबर गर्नूः दूरसञ्चार प्राधिकरण

टेकपाना टेकपाना

फागुन १२, २०८० ९:४५

नेपालमा अझै टिकटक चलिरहे खबर गर्नूः दूरसञ्चार प्राधिकरण

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कुनै इन्टरनेट सेवाप्रदायक वा मोबाइल सेवाप्रदायक कम्पनीको नेटवर्कबाट अझै टिकटक चलिरहे खबर गर्न अनुरोध गरेको छ ।

शनिबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले सबै इन्टरनेट सेवाप्रदायकहरूलाई निर्देशन दिइसकेको भएपनि अझै केही सेवा प्रदायकहरूको नेटवर्कमा टिकटकको पहुँच पुगिरहेको पाइएकाले त्यस्ता सेवाप्रदायक कम्पनीहरूबारे जानकारी दिन अनुराेध गरेको हो ।

सरकारको निर्णय कार्यान्वयन नगर्ने केही इन्टरनेट तथा मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई स्पष्टिकरण सोधी कारबाही प्रक्रिया अगाडि बढाइएको समेत प्राधिकरणले जनाएको छ ।

सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले दिएको निर्देशन पालना नगर्ने सेवाप्रदायकमाथि दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।

‘‘साथै टिकटकमा पहुँच पुगिरहेको/टिकटक चलिरहेको भए प्राधिकरणको ईमेल ठेगाना [email protected] मा ईमेल गरी त्यस्तो कम्पनीको बारेमा जानकारी गराउनुहुन इन्टरनेट सेवाग्राहीहरुलाई अनुरोध गरिएको छ,’’ प्राधिकरणले सूचनामा भनेको छ ।

पछिल्लो अध्यावधिक: फागुन १२, २०८० ९:५९