close

फोनबाटै सूर्यग्रहणको फोटो खिच्न चाहनुहुन्छ, अपनाउनुहोस् नासाका यी ५ टिप्स

टेकपाना टेकपाना

चैत १३, २०८० १३:१

फोनबाटै सूर्यग्रहणको फोटो खिच्न चाहनुहुन्छ, अपनाउनुहोस् नासाका यी ५ टिप्स

काठमाडौं  । २६ चैतमा पूर्ण सूर्यग्रहण लाग्दैछ । नासाका अनुसार यो ग्रहण अमेरिका, मेक्सिको, क्यानडा लगायतका देशबाट सजिलै देखिनेछ । नेपालबाट भने यो सूर्यग्रहण देख्न सकिने छैन । यद्यपि अर्को दुई वर्षपछि अर्थात् २ अगस्ट २०२७ मा मध्यम पूर्वीय गोलार्द्धमा देखिने पूर्ण सूर्य ग्रहण भने नेपालबाटै देखिनेछ । 

अबको केही दिनमा देखिने पूर्ण सूर्यग्रहणलाई लक्षित गर्दै नासाले फोनबाट ग्रहणको फोटो खिच्ने तरिकाबारे जानकारी दिएको छ । आज हामी तपाईंलाई नासाले सूर्यग्रहणको फोटो खिच्न सुझाएका तरिकाबारे जानकारी दिंदैछौं । 

१) सबैभन्दा पहिले सुरक्षा 

सूर्यग्रहण नाङ्गो आँखाले हेर्न नहुने थुप्रै वैज्ञानिक कारण रहेका छन् । चर्को घाम लागेको बेला सोझै सूर्यमा हेर्नु हाम्रो आँखा र क्यामेरा लेन्स दुवैका लागि हानिकारक हुन्छ । सूर्यबाट आएको चर्को प्रकाशलाई नाङ्गो आँखाले हेर्दा हाम्रो आँखामा भएको लेन्सले उक्त प्रकाशको किरणलाई कन्भर्ज (एउटै ठाउँमा केन्द्रित गर्ने) गर्छ । जसले गर्दा हाम्रो रेटिना बिग्रनसक्छ ।

सूर्य ग्रहण तीन प्रकारका हुन्छन् आंशिक, पूर्ण र वलयाकार  सूर्यग्रहण । त्यसमा पनि आंशिक सूर्यग्रहणको फोटो खिच्दा क्यामेराको सुरक्षाका लागि तपाईंले विशेष किसिमको सोलर फिल्टर प्रयोग गर्नुपर्ने हुन्छ ।

तर, पूर्ण सूर्यग्रहण लागेको समयमा चन्द्रमाले सूर्यको पूरै भाग छेकेको हुन्छ । त्यसैले तपाईंले लेन्समा सोल फिल्टर लगाउनु भएको छ भने त्यसलाई निकालेर फोटो खिच्न सक्नुहुन्छ । 

२) जुनसुकै क्यामेरा भए पनि हुन्छ

पूर्ण सूर्यग्रहणको फोटो खिच्नका लागि तपाईंसँग व्यवसायिक क्यामेरा वा डीएसएलआर नै हुनुपर्छ भन्ने छैन । तपाईंले फोनबाटै पनि स्तरीय फोटो खिच्न सक्नुहुन्छ । तपाईंलाई स्तरीय फोटोको ज्ञान छ भने तपाईंले आकर्षक फोटो खिच्न सक्नुहुन्छ । यदि तपाईंको फोन वा क्यामेरामा टेलिफोटो जुम लेन्स छ भने पूर्ण सूर्य ग्रहणको फोटो खिच्न सोही लेन्स प्रयोग गर्नुहोस् । यदि टेलिफोटो लेन्स छैन भने ल्यान्डस्केप शटमा केन्द्रित हुनुहोस् । 

विशेषगरी ट्राइपोड छ भने तपाईंले स्टेबल फोटो खिच्न सक्नुहुन्छ । त्यस्तोमा फोटो ब्लर आउने सम्भावना कम हुन्छ । 

३) ग्रहणको फोटो खिच्दा यताउति दायाँबायाँ हेर्नुहोस्

हुन त ग्रहणको फोटो खिच्दा सूर्य नै सबैभन्दा मुख्य विषय हुन्छ । तर, फोटो आकर्षक खिच्नका लागि हामीले त्यहाँको वातावरणबारे पनि बुझ्न पर्ने हुन्छ । चन्द्रमा सूर्यको अगाडि पुग्दा त्यसले अनौठो लाइट र छायाँ सिर्जना गर्छ ।

त्यस्तोमा तपाईंले चौरमा परेको ग्रहणको छायाँ पनि खिच्न सक्नुहुन्छ । ग्रहणको फोटो खिच्दा वाइड एङ्गल लेन्स प्रयोग गर्नुभयो भने फोटो निकै आकर्षक आउने नासाले उल्लेख गरेको छ । नासाका फोटोग्राफर बिल इङ्ग्लासले ग्रहण हेर्न आएका मानिसको अनुहारको हाउभाउको पनि फोटो खिच्न सुझाव दिएका छन् । 

४) प्रयास

तपाईंले ग्रहण लागेकै दिन मात्र त्यसको फोटो खिच्छु भन्नुभयो भने फोटो स्तरीय नहुन सक्छ । त्यसका लागि नासाले बारम्बार प्रयास गर्न सुझाव दिएको छ । फोन तथा क्यामेरामा हुने एक्सपोजर, अपार्चर, आईएसओ आदिबारे प्रष्ट बुझ्नुपर्ने हुन्छ । जसले गर्दा तपाईं ग्रहणको बेला लाइट मिलाएर फोटो खिच्न सक्नुहुन्छ । यसरी म्यानुअल्ली फोकस मिलाएर खिचिएका फोटो बढी आकर्षक हुन्छ । 

तपाईंले अस्ताउन लागेको सूर्यको फोटो खिचेर पनि तयारी गर्न सक्नुहुन्छ । नासाले आंशिक सूर्यग्रहणको फोटो खिच्दा F/8 देखि F/16 बीचको अपार्चर र 1/1000 देखि ¼ सेकेन्डको शटर स्पिडमा फोटो खिच्न सुझाव दिएको छ । त्यस्तै पूर्ण सूर्यग्रहणको फोटो खिच्दा 1/1000 देखि 1 सेकेन्डको शटरस्पिडमा खिच्न सक्नुहुन्छ । 

५) फोटो शेयर 

नासाले यसरी विश्वभरबाट खिचिएका ग्रहणका फोटो सामाजिक सञ्जालमा शेयर गरेर ट्याग गर्न अनुरोध गरेको छ । पूर्ण सूर्यग्रहणको फोटो खिच्दै गर्दा ग्रहणको फोटो मात्रा हेर्नेभन्दा पनि वास्तविक सूर्य ग्रहणको अनुभव लिन नासाको सुझाव छ । तर, ग्रहण हेर्दा नाङ्गो आँखाले नभइ विशेष किसिमको सोलर भ्युइङ ग्लास प्रयोग गर्न सक्नुहुन्छ । 

ग्रहण  भनेको के हो ?

पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान हुँदैन । यही असमानताले नै ग्रहण लाग्छ । गतिको असमानताले गर्दा समयको संयोगले कुनै समय यी पिण्डहरू (पृथ्वी, चन्द्रमा र सूर्य) एउटै सीधा रेखामा पर्छन् । फलस्वरुप कहिले पृथ्वीको छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ । यसरी छायाँ पर्नु नै ग्रहणको अवस्था हो ।

पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्यग्रहण लाग्ने गर्छ । पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ । यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ । छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो ।

पृथ्वी पूरै छेकिँदा त्यसको छायाँ चन्द्रमा परेको अवस्थालाई खग्रास चन्द्रग्रहण भनिन्छ । चन्द्रग्रहण वा सूर्यग्रहण लागेको समयमा धार्मिक सिद्धान्तमा विभिन्न काम नगर्न सुझाव दिइएको हुन्छ ।

-एजेन्सीको सहयोगमा

पछिल्लो अध्यावधिक: चैत १३, २०८० १३:१०