close

‘पुराना तथा बेवारिस पेट्रोलियम सवारीलाई ईभीमा रूपान्तरण गरौं’

टेकपाना टेकपाना

चैत २०, २०८० १६:४०

‘पुराना तथा बेवारिस पेट्रोलियम सवारीलाई ईभीमा रूपान्तरण गरौं’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य निशा डाँगीले पुराना तथा बेवारिस पेट्रोलियम सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्नुपर्नेमा जाेड दिएकी छन् । मङ्गलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद डाँगीले आवश्यक कानून ल्याएर पुराना पेट्रोलियम सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्नुपर्ने बताएकी हुन् ।

सरकारी कार्यालयहरूमा बेवारिस अवस्थामा रहेका सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न सकिने उनकाे धारणा छ । कवाडीमा पुगेर कौडीका भाउमा बेच्नुभन्दा सामानको मोल चिनेर त्यस्ता पुराना पेट्रोलियम सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्नु राम्रो हुने उनले बताइन् । त्यस्ता गाडीहरूलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दा देशभित्रै उत्पादन भएकाे विद्युत खपत हुने उनको भनाइ छ ।

“२०७८ चैत ११ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा क्षमता मूलक फेरबदल गर्न तीन वर्षसम्मका लागि छुट दिने व्यवस्था गर्ने सूचना राजपत्रमा प्रकाशित गरेको थियो,” उनले भनिन्, “पेट्रोल र डिजेल सवारीलाई विद्युतीय वा वैकल्पिक इन्धनबाट चल्ने सवारी साधनमा रूपान्तरण गर्न दिनेगरी बनेको त्यो व्यवस्थाको कार्यान्वयन कहिले हुने हो, अहिलेसम्म अत्तोपत्तो छैन ।”

कानूनको अस्पष्टता देखाएर नयाँ स्टार्टअपलाई रोक्न नहुने भन्दै उनले थोरै लगानीमा धेरै लाभ लिन सकिने ईभी कन्भर्जनको सम्भाव्यताबारे अध्ययन गरेर आवश्यक कानून छिट्टै ल्याउन जोड दिइन् ।

पछिल्लो अध्यावधिक: चैत २०, २०८० १६:४३