close

आउँदो ८ अगस्टमा आफैं चल्ने रोबोट्याक्सी ल्याउँदै एलन मस्क

टेकपाना टेकपाना

चैत २४, २०८० १३:२३

आउँदो ८ अगस्टमा आफैं चल्ने रोबोट्याक्सी ल्याउँदै एलन मस्क

काठमाडौं । एलन मस्कले ८ अगस्टमा टेस्ला रोबोट्याक्सी सार्वजनिक गर्ने भएका छन् । सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै मस्कले रोबोट्याक्सी सार्वजनिक हुने मिति खुलाएका हुन् ।

यसअघि समाचार संस्था रोयटर्सले टेस्लाले सस्तो इलेक्ट्रिक कार (२५ हजार डलर सम्म)को सट्टा सेल्फ-ड्राइभिङ कार बनाउने कदम चालेको सम्बन्धी रिपोर्ट गरेको थियो । तर मस्कले उक्त समाचारको खण्डन गरेर रोयटर्सले गलत लेखेको बताएका थिए । यद्यपि त्यसको केही समयपछि मस्क स्वयंले सेल्फ-ड्राइभिङ फिचर भएको रोबोट्याक्सी ल्याउने मिति सार्वजनिक गरेका हुन् । 

टेस्लाको उक्त रोबोट्याक्सीलाई निकै प्रतिक्षित साधनका रूपमा हेरिएको छ । किनकी यो टेस्लाको अर्को पुस्ताको भेहिकल प्लेटफर्ममा निर्माण हुने छ । साथै यो पूर्ण रूपमा स्वचालित हुने बताइएको छ । 

मस्कका अनुसार यो रोबोट्याक्सी सेल्फ ड्राइभिङमा अर्को पुस्ताको कार हुनेछ । २०१९ मा भएको एक लगानी सम्मेलनमा बोल्दै मस्कले यस कारबाट मालिकले पैसा कमाउन सक्ने समेत बताएका थिए । स्वचालित हुने भएकाले ट्याक्सीलाई मालिकले यात्रुको ओसारपसार गर्न प्रयोग गर्न सक्ने उनले दाबी गरेका थिए । 

त्यसरी सञ्चालन हुने ट्याक्सी 'टेस्ला नेटवर्क'मा आधारित हुने र त्यसमा जोडिने ट्याक्सीबाट कम्पनीले पैसा लिने उनले बताएका थिए । त्यसबेला उनले २०२० सम्म अमेरिकी बजारमा रोबोट्याक्सीहरू सञ्चालनमा आउने घोषणा नै गरेका थिए । तर मस्कको योजना अनुसार ट्याक्सी आउन समय निकै समय लागेको छ । 

यसको मुख्य कारण सेल्फ ड्राइभिङ प्रविधि पूर्ण सुरक्षित छैन भनेर नियमनकारी निकाय विश्वस्त नहुनु हो । अझै पनि बेलाबेला टेस्लाले बजारमा बिक्री भइसकेका गाडीहरूमा समस्या भएकाले फिर्ता बोलाउने गर्छ ।

यद्यपि अहिले उक्त रोबोट्याक्सीबारे कुनै जानकारी भने दिइएको छैन । तर अगस्टमा हुने टेस्लाको कुनै कार्यक्रममा यसको सार्वजनिक हुन सक्ने विश्वास भने गरिएको छ । टेस्लाको पछिल्लो उत्पादनका रुपमा साइबर ट्रक रहेको छ । जुन गत अगस्टमै डेलिभरी गर्ने गरी सार्वजनिक गरिएको थियो । 

पछिल्लो अध्यावधिक: चैत २४, २०८० १३:२३