close

एसईई पछि फुर्सदमा हुनुहुन्छ ? सिक्नुहोस् यी उपयोगी सीप

टेकपाना टेकपाना

चैत २५, २०८० १४:१०

एसईई पछि फुर्सदमा हुनुहुन्छ ? सिक्नुहोस् यी उपयोगी सीप

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तर्फको परीक्षा सकिएको छ । परीक्षाको नतिजा आउन केही महिना लाग्छ । यो खाली समयमा विद्यार्थीले कक्षा ११ को प्रवेश परीक्षा तयारी गर्नेदेखि विभिन्न सीप सिक्न सक्छन् । यसै सन्दर्भमा फुर्सदमा बसिरहेका विद्यार्थीले सूचना प्रविधि (आईटी) सम्बन्धी ‍केके सीप आर्जन गर्न सक्छन् भनेर जानकारी दिँदै छौं:

-प्रोग्रामिङ ल्याङ्ग्वेज

सफ्टवेयर, वेबसाइट तथा एपबारे रुचि छ भने प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न सकिन्छ । आजभोलि यस सम्बन्धी इन्टरनेटमा विभिन्न कोर्ष पाइन्छन् । यदि विद्यालय तहमा नै विद्यार्थीले कम्प्युटर विषय पढेका छन् भने त केही ज्ञान अवश्य लिएका हुन्छन् । यस समयमा विद्यार्थीले एचटीएमएल, सीएसएस, जाभा, सी, सी++, पाइथन, स्ट्याक जस्ता प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न सक्छन् ।

यसरी प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्दा विद्यार्थीले सामान्य वेबसाइट बनाउन तथा मोबाइल एप बनाउन सक्छन् । भविष्यमा उनीहरू यही क्षेत्रमा लागे अझ धेरै फाइदा समेत पुग्छ ।

-मल्टिमिडिया

यो छोटो समयमा विद्यार्थीले मल्टिमिडियाका सीप सिक्न सक्छन् । यसमा ग्राफिक्स डिजाइनिङ, भिडिओ एडिटिङ, फोटोग्राफी, फोटो एडिटिङ, लोगो डिजाइनिङ, एनिमेसन आदि सीप पर्छन् ।

यी सीप कुनै पनि इन्स्टिच्युटमा गएर, अनलाइन कोर्स लिएर, युट्युबमा भिडिओ हेरेर सिक्न सक्छन् । कतिपय इन्स्टिच्युटले त्यस्ता प्रकारको सीप सिकाएर इन्टर्नको अवसर पनि दिने गर्छन् । त्यसैले विद्यार्थीले पढ्दै कमाउन पनि सक्छन् । 

-एआई, रोबोटिक्स र आईओटी

अहिले एआईको खुबै चर्चा छ । हुन त एसईई दिएका विद्यार्थीले तत्काल एआई मोडल तयार पार्न नसक्लान् । तर पनि यसबारे आधारभूत ज्ञान सिक्न सक्छन् । अहिले एआई टुलहरू प्रयोग गरेर फेसलेस युट्युब च्यानल चलाइरहेकाहरू थुप्रै छन् । यो काम पनि विद्यार्थीले गर्न सक्छन् । 

त्यस्तै रोबोटिक्स र इन्टरनेट अफ थिङ्स (आईओटी)को प्रयोग बढ्दै गइरहेको छ । यसको विकासमा ठूला प्रविधि कम्पनी समेत लागेका छन् ।

यदि विभिन्न सामानहरू बनाउन मन लाग्छ भने यो छोटो समयमा विद्यार्थीले रोबोटिक्स र आईओटीका आधारभूत र सैद्धान्तिक विषय सिक्न सक्छन् । यससम्बन्धी इन्टरनेटमा थुप्रै कोर्ष तथा ट्युटोरियल उपलब्ध छन् । 

-डिजिटल मार्केटिङ

अहिले कुनै पनि कम्पनी वा ब्रान्डका लागि डिजिटल मार्केटिङको भूमिका अनिवार्य जस्तै भइसकेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताको संख्या बढिरहँदा डिजिटल मार्केटिङको पनि आवश्यकता र महत्त्व बढ्दो छ । ​

एसईई सकेर बसेका विद्यार्थीले अनलाइन वा भौतिक रूपमा नै इन्स्टिच्युटमा गएर डिजिटल मार्केटिङ सिक्न सक्छन् । यसमा सर्च इन्जिन अप्टिमाइजेस (एसईओ), सर्च इन्जिन मार्केटिङ (एसईएम) आदि सीप सिक्न सकिन्छ । 

-हार्डवेयर

सफ्टवेयर मात्र भएर कुनै काम सम्पन्न हुँदैन । त्यहाँ हार्डवेयरको भूमिका पनि उत्तिकै हुन्छ । विभिन्न ट्रेनिङ सेन्टरले कम्प्युटर रिपेयरिङको सीप सिकाइरहेका हुन्छन् । त्यहाँ गएर विद्यार्थीले विभिन्न प्रकारका हार्डवेयर मर्मतबारे तालिम लिन सक्छन् ।

एसईईपछि आईटी शिक्षा

एसईईपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाहेक अरूमा आईटीसम्बन्धी छुट्टै कोर्स छैन । आईटी कोर्स अध्ययन गर्न १२ कक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । 

कक्षा ११/१२ वा ‘ए लेभल’ मा ऐच्छिक विषयमा कम्प्युटर रहेको छ । आईटीमा रुचि भएका विद्यार्थीले एसईई पछि यो विषय चयन गर्न सक्छन् । यदि आईटीको कोर्स नै पढ्ने हो भने सीटीईभीटीले सञ्चालन गर्ने प्रि-डिप्लाेमा (१८ महिने) र डिप्लोमा (३ वर्षे) तहमा भर्ना हुनुपर्ने हुन्छ । 

हाल प्रि-डिप्लोमामा कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन तथा सेक्रेटरियल म्यानेजमेन्टकाे कोर्स सञ्चालनमा छन् । यसैगरी डिप्लाेमा तहमा कम्प्युटर इन्जिनियरिङ र इन्फर्मेसन टेक्नाेलाेजी (आईटी)काे पढाइ हुन्छ ।

अहिलेको अवस्थामा सीटीईभीटीले यी कोर्स देशभरका विभिन्न १०६ शैक्षिक संस्थामा सञ्चालन गरिरहेकाे छ ।

पछिल्लो अध्यावधिक: चैत २५, २०८० १४:२७