close

एसईईमा जफत मोबाइल नष्ट गरिएको घटनाप्रति विद्यार्थी सङ्गठनको आपत्ति, भोलि आन्दोलन गर्ने घोषणा

टेकपाना टेकपाना

जेठ २४, २०८३ २१:१५

एसईईमा जफत मोबाइल नष्ट गरिएको घटनाप्रति विद्यार्थी सङ्गठनको आपत्ति, भोलि आन्दोलन गर्ने घोषणा

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा परीक्षार्थीबाट जफत गरिएका करिब पाँच सय थान मोबाइल फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएको घटनाप्रति विद्यार्थी सङ्गठनहरूले आपत्ति जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी निकट विद्यार्थी सङ्गठनले क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै भाेलि साेमबार संयुक्त रूपमा आन्दोलन गर्ने भएका हुन् ।

गत चैतमा सम्पन्न एसईई परीक्षाका क्रममा परीक्षाको मर्यादा विपरीत प्रयोग गरिएको भन्दै सात थान आईफोन, ४८९ थान एन्ड्रोइड फोन र पाँच थान स्मार्टवाच जफत गरिएका थिए । ती डिभाइसहरूलाई मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीको घोषणा र जिल्ला परीक्षा समन्वय समितिकाे निर्णयका आधारमा सिराहा प्रहरीले बिहीबार नष्ट गरेकाे थियाे ।

उक्त्त कदमकाे विराेधमा विद्यार्थी सङ्गठनहरूले नागरिक समाज, बुद्धिजीवी, पत्रकार र युवाहरूको ऐक्यबद्धतामा दबाबमूलक कार्यक्रम अघि सारेकाे जानकारी गराएका छन् । विद्यार्थी सङ्गठनहरूले सोमबार जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेका छन् । जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय र शिक्षा मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने र पीडित विद्यार्थीहरूलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन निरन्तर दबाब दिने उनीहरूकाे भनाइ छ ।

विद्यार्थी जनमत सङ्घका केन्द्रीय अध्यक्ष पोषणकुमार यादवले आपत्ति जनाउँदै परीक्षा समन्वय समितिको कदम गैरकानुनी भएको बताए । उनले भने, “कुनै पनि अपराधमा संलग्नलाई नियन्त्रणमा लिँदा प्रहरीले सवारी साधन जफत गर्छ । तर ती गाडीलाई जलाउने अधिकार प्रहरीलाई हुँदैन । त्यस्ता विषयमा अदालतले निर्णय गर्ने हो । यहाँ त प्रहरीले मनपरी ढङ्गले विद्यार्थीको सम्पत्ति नष्ट गरेर ठुलो गल्ती गरेको छ ।”

यादवले यो निर्णयले मधेस प्रदेश र सिराहा जिल्लाकै बदनामी गराएको तर्क गर्दै तत्कालीन मन्त्री, प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकमाथि छानबिन हुनुपर्ने र पीडित विद्यार्थीलाई क्षतिपूर्ति दिनुपर्ने माग गरे । 

यसैगरी, सिरहा क्याम्पसका पूर्व स्ववियु सभापति एवं विद्यार्थी नेता दीपेन्द्र यादवले परीक्षा मर्यादित बनाउने कदमको समर्थन गरे पनि करोडौँको भौतिक सम्पत्ति नष्ट गर्ने कार्य उपयुक्त नभएको उल्लेख गरे । उनले भने, “आजको प्राविधिक युगमा मोबाइल केवल कुराकानी गर्ने माध्यम होइन । यसमा विद्यार्थीका शैक्षिक दस्तावेज र धेरै व्यक्तिगत डेटा पनि हुन्छन् । यस्तो अवस्थामा उपकरण नै नष्ट गरिदिँदा विद्यार्थीको भविष्यमा गम्भीर मनोवैज्ञानिक असर पर्छ ।”

यादवले परीक्षा केन्द्रको मुख्य ढोकामा सुरक्षा जाँच हुँदाहुँदै मोबाइल कसरी भित्र प्रवेश गर्‍यो भन्ने विषयमा पनि अनुसन्धान हुनुपर्ने बताए । साथै, छिमेकी जिल्ला महोत्तरीमा जफत गरिएका मोबाइल दुई-दुई हजार रुपैयाँ जरिवाना तिराएर फिर्ता गरिएको स्मरण गर्दै एउटै प्रदेशका फरक जिल्लामा दोहोरो मापदण्ड अपनाइएकोमा आपत्ति प्रकट गरेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८३ २१:२७